काठमाडौं । असार २१ गते काठमाडौंको रातोपुलस्थित घरमा आत्महत्या गरेका कलाकार सारूक ताम्राकारको फोनमा सुसाइड नोट भेटिएको छ ।
प्रहरी प्रधान कार्यालय, नक्सालको डिजिटल फरेन्सिक ल्याबमा जाँचका लागि पठाइएको मोबाइलको ‘नोट्स’मा उनले मृत्यु हुनुअघि लेखेको विवरण फेला परेको हो ।
प्रहरीले अनुसन्धानको लागि उनको फोन प्रहरी प्रधान कार्यालय नक्सालको डिजिटल फरेन्सिक ल्याबमा पठाएको थियो। त्यहाँबाट पठाएको उक्त रिपोर्टबाट सुसाइड नोट भएको खुलेको हो । सुसाइड नोटमा उनले आफ्नै गल्तीका कारण आत्महत्या गरेको र कसैलाई पनि दोषी नबनाउन उल्लेख गरेको प्रहरीले बताएको छ ।
नोट्समा लेखेको छ, ‘इट्स अल माई फल्ट, कसैलाई ब्लेम नगर्नु, यो सबै यहीँ इन्ड हुनु थियो, सो सकियो । लेट मि रेष्ट इन पिस, धन्यवाद ।’
सारुक कलाकार सानु ताम्राकारका छोरा हुन् । सारुकले ‘इन्टु मिन्टु लण्डनमा’, ’मेरी मामु’, ’रानी’ लगायतका फिल्ममा अभिनय गरेका छन् । असार २१ गते मृत भेटिनुअघि फिल्म ‘ह्यासट्याग माया’ को छायांकन गरिरहेका थिए । फिल्ममा उनीसँगै नम्रता श्रेष्ठको मुख्य भूमिका थियो ।