Sunday, November 24, 2024

२०८१ मंसिर ९, आईतवार

विजनेस दर्शन || Online Portal

काठमाडौं ।

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । काठमाडौं ।

Call: फोन नं. 9828136583

[email protected]

नेपाल विद्युत प्राधिकरणले जनतालाई हरेक वर्ष चार अर्ब रुपैयाँ विद्युत् निःशुल्क गर्ने


नेपाल विद्युत प्राधिकरणले  जनतालाई हरेक वर्ष चार अर्ब रुपैयाँ विद्युत् निःशुल्क गर्ने

काठमाडौं, श्रावण २६ । नेपाल विद्युत् प्राधिकरणले सर्वसाधारण जनतालाई हरेक वर्ष चार अर्ब रुपैयाँ बराबरको विद्युत् निःशुल्क उपलब्ध गर्ने भएको छ । २० युनिटभन्दा कम खपत हुने ग्राहकलाई निःशुल्क बिजुली उपलब्ध गराउने सरकारको निर्णय कार्यान्वयन गर्दा गएको दुई वर्षमा बर्सेनि चार अर्ब रुपैयाँको विद्युत् निःशुल्क वितरण गरिएको प्राधिकरणले बताएको छ । प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले बिहीबार पत्रकार सम्मेलन आयोजना गरी प्राधिकरणको वित्तीय तथा अन्य उपलब्धि तथा चुनौती सार्वजनिक गर्नुभएको थियो । सार्वजनिक विवरण अनुसार आर्थिक वर्ष २०७९,८० मा प्राधिकरणले १२ अर्ब ३३ करोड नाफा आर्जन गरेको बताए ।

प्राधिकरणले आव २०७८,७९ मा १३ अर्ब ३७ करोड रुपैयाँ मुनाफा आर्जन गरेको थियो भने त्यसभन्दा अघिल्लो आवमा छ अर्ब नाफा थियो । प्राधिकरणले विद्युत् बिक्री र अन्यबाट गर्ने आम्दानी दुई वर्षअघि करिब ८१ अर्ब रुपैयाँ रहेकामा अहिले बढेर करिब १ खर्ब १८ अर्ब रुपैयाँ पुगेको छ । घिसिङ २०७८ साउन २५ गते मन्त्रीपरिषद्को निर्णयबाट नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकमा चार वर्षका लागि पुनः नियुक्त हुनुभएकोे थियो । दुई वर्षको अवधिमा घिसिङले प्राधिकरणको वित्तीय अवस्थामा सुधार, संस्थाभित्रको सुशासन, हरेक नागरिकको घरमा विद्युत् पु(याउन विद्युतीकरण लगायतका काम भएको उल्लेख गरे।

त्यस्तै विद्युत् आपूर्तिलाई विश्वसनीय र भरपर्दो बनाउन प्रसारण र वितरणतर्फका पूर्वाधार संरचनाको विस्तार एवं सुदृढीकरण, उत्पादनतर्फका ठुला जलविद्युत् आयोजना अगाडि बढाउने, आन्तरिक रूपमा खपत वृद्धि तथा अतिरिक्त भएको विद्युत् निर्यातलगायतलाई उच्च प्राथमिकतामा राखी कार्य अगाडि बढाइएको उनले बताए । विगत दुई वर्षमा प्राधिकरणले आफ्नै स्रोतबाट करिब ४८ अर्ब रुपैयाँ प्रसारण एवं वितरण प्रणाली विस्तार र सुधारमा लगानी गरिएको जानकारी उनले ।

साथै सरकारको कोषमा साँवा, ब्याज र रोयल्टी गरी करिब ३० अर्ब जम्मा गरेको छ । घिसिङका अनुसार प्राधिकरणको सञ्चित मुनाफा ३६ अर्ब ३२ करोड रुपैयाँ पुगेको छ । पत्रकार सम्मेलनमा उनले वितरण प्रणालीका पूर्वाधार संरचना सुधार र सुदृढीकरणका लागि काठमाडौँ उपत्यकासहित देशका प्रमुख ११ सहरको सन् २०५० सम्ममा हुने विद्युत्को माग प्रक्षेपण गरी चरणबद्ध रूपमा ४००, २२० , १३२ केभीका प्रसारण लाइन तथा सबस्टेसनको निर्माण अगाडि बढाइएको जानकारी दिए ।

हाल पाँच हजार ७४२ सर्किट किलोमिटर प्रसारण लाइन र आठ हजार ८६७ एमभिए क्षमताका सबस्टेसन सञ्‍चालनमा रहेको जानकारी दिँदै घिसिङले आफ्नो दुईवर्षे कार्यकालमा वर्षमा ४०० र २२०,१३२ गरी करिब नौ सय सर्किट किलोमिटर प्रसारण लाइन निर्माण सम्पन्‍न भएको र नौ हजार तीन सय सर्किट किलोमिटर निर्माणाधीन अवस्थामा रहेको बताए । करिब दुई हजार पाँच सय एमभिए क्षमताका १७ वटा सबस्टेसन निर्माण सम्पन्न भएको र १० हजार पाँच सय एमभिए क्षमताका ५४ सबस्टेसन निर्माणाधीन रहेको प्रगति विवरणमा उल्लेख छ । आव २०७७,७८ मा १७.३८ प्रतिशत रहेको विद्युत् चुहावट ३.९२ प्रतिशत बिन्दुले घटेर हाल १.४६ प्रतिशत पुगेको बताइएको छ ।

विद्युत् व्यापारतर्फ भने भारतले समयमै निर्यातको सहमति नदिँदा ४५२ मेगावाटमै सीमित हुन पुगेको देखिएको छ । प्राधिकरणले करिब एक वर्षपहिले नै करिब छ सय मेगावाट विद्युत् निर्यातका लागि विभिन्न आयोजनाको नाम प्रस्ताव गरे पनि हालसम्म अनुमति पाउन सकेको छैन । बङ्गलादेशमा विद्युत् निर्यातका लागि भारतको एनभिभिएन, बङ्गलादेशको बङ्गलादेश पावर डेभलपमेन्ट बोर्ड र प्राधिकरणबिच त्रिपक्षीय सम्झौता अन्तिम चरणमा रहेको भनाइ घिसिङको छ ।