Saturday, May 18, 2024

२०८१ जेष्ठ ५, शनिबार

विजनेस दर्शन || Online Portal

कीर्तिपुर नगरपालिका —१० हस्पिटल रोड

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । कीर्तिपुर नगरपालिका —१० हस्पिटल रोड

Call: फोन नं. 9828136583

[email protected]
amardeep agarbatti

सहकारीमा समस्या विद्यमान रहनु राजनीतिक चलखेल पनि होः अध्यक्ष दिनेश दर्शनधारी

विजनेस दर्शन विशेष


सहकारीमा समस्या विद्यमान रहनु राजनीतिक चलखेल पनि होः अध्यक्ष दिनेश दर्शनधारी

काठमाडौं । पछिल्लो समय सहकारीमा बढ्दो आर्थिक तरलता र राज्यको मुकदर्शक व्यवहारका कारण सिङ्गो देशको सहकारी धरापमा परेका छन् । देशको अर्थनीति फितलो हुँदा समग्र सहकारी धरापमा परेका हुन् । यस्तो अवस्थामा पनि सहकारी सञ्चालन गर्नु भनेको राज्यलाई चुनौती मात्र होईन कि यो एउटा लज्जास्पद विषय पनि बनेको छ ।

केही दिन अघि आर्थिक अभाव झेलेका सहकारीहरुले आफ्नो सम्पत्ति बेचेरै भएपनि सहकारी बचतकर्ताको बचत फिर्ता गर्नुपर्ने अध्ययन प्रतिवेदन सहकारी अनुगमन समितिले प्रधानमन्त्रीलाई बुझाएको छ । यस्तो अवस्थामा सहकारी सञ्चालन गर्न कति चुनौती छ भन्ने विषयमा हामीले कीर्तिपुरमा रहेको दर्शन बचत तथा ऋण सहकारीका अध्यक्ष दिनेश दर्शनधारीसँग वर्तमान सरकारीको अवस्था र चुनौतीका विषयमा कुराकानी गरेका छौं । प्रस्तुत छ, उनीसँग गरिएको केही सम्पादित अंश–

सर्वप्रथम तपाईंलाई दर्शन सहकारी र निर्मल बुद्धभूमि सहकारी मर्ज गर्न सफल हुनु भएकोमा धेरै धेरै बधाई दिन चाहन्छु, यो मर्ज पछि निर्मल बुद्धभूमि सहकारीको पूँजी, दायित्व सबै कारोबार दर्शन सहकारीमा आएको हो ?
—सबैको साथ र सहयोगले नै हामी कीर्तिपुर कार्यक्षेत्र रहेका २ वटा सहकारीहरु एकीकरण गर्न पाएकोमा हर्षित छौं । हामी दुईवटै सहकारीले पोहोर सालको साधारण सभाबाट एकीकरणको घोषणा गरेका थियौ । सबै कुरा मिलाउन त्यति सजिलो थिएन तर पनि आठ महिना लगाएर भए पनि एकीकरणलाई मुर्त रुप दिन सफल भएकोमा दुबै सहकारीको सदस्यहरुलाई हाम्रो तपÞर्mबाट पनि बधाई छ ।

हुन त अहिले आर्थिक मन्दीले देश नै जर्जर भएको बेला यो मर्जरको के औचित्य भन्ने पनि होला ! तर, अब हामी दुईटै सहकारीका दोहोरो सदस्य भएका सदस्यले कुन सहकारी चुनेर बस्ने भन्ने तनाव हटेको छ । सरकारले कुनै दिन सबै सहकारीहरुका कुनै एक सदस्य समान प्रकृतिको एउटै मात्र सहकारीमा बस्न पाउंछ भनेर आह्वान ग¥यो भने यी दुई मध्ये कुन सहकारी छान्ने भन्ने दुविधा हटेको छ । हामी दुइटै सहकारी समान हैसियतमा एकीकरण भएका हौं ।

दर्शन र निर्मल बुद्ध भूमिका सदस्यहरु सबैको जे–जस्तो हैसियत थियो त्यो निरन्तर कायम रहने छ । हजुरले भन्नु भए जस्तो पूँजी र दायित्व सरेर आएको होइन । जोडेर एउटै बनाएको हो । जस्तै, दर्शन साकोसको पहिला शेयर पुँजी १८ करोड थियो अब निर्मल बुद्धभूमिको ५ करोड जोडेर २३ करोड शेयर भयो । हामी दुबै संस्थाले सहमतिमा नाम दर्शनलाई नै कायम राख्ने भएकोले अब दर्शन साकोसको नाममा २३ करोडको शेयर रहन गयो । यसैगरि, सबै बचत, ऋण, सम्पत्ति र दायित्व पनि यसरी नै जोडेर हिसाब हुन्छ ।

अबबाट निर्मल बुद्धभूमिका सदस्यहरुको शेयर अनि बचत र ऋण के हुन्छ भन्ने पनि धेरैको जिज्ञासा छ । यसमा म के भन्न चाहन्छु भने जसको दुईटै सहकारीमा शेयर, बचत वा ऋण छ त्यो पनि जोडिएर एउटै बनाउँछौ । जसको निर्मल बुद्धभूमिमा मात्र शेयर वा बचत छ, अब त्यो दर्शनको नाममा परिवर्तन हुन्छ । आजको मितिबाट निर्मल बुद्धभूमिमा आउने सबै शेयर र बचतकर्ताले दर्शन साकोसको नामबाट कार्डहरु पाउनु हुनेछ । दुबै संस्थाको मुख्य कार्यालय कीर्तिपुर–९ मा नै भएकोले अब केहि दिन भित्र निर्मल बुद्धभूमिको सबै कारोबार पनि नगाउँस्थित दर्शन भवनबाट नै सुरु हुन्छ । नगाउँ दोबाटोमा रहेको कार्यालयलाई बन्द गर्नेछौं भने निर्मल बुद्धभूमिका सबै कर्मचारी जुन–जुन पदमा कार्यरत छन्, अहिले पनि त्यही पदमा मुख्य कार्यालयमा नै स्थानन्तरण गर्छौँ ।

अहिले देशभरी सहकारीहरुमा समस्या देखिन थालेको छ । तपाईंको सहकारीको स्थिति कस्तो छ ?
—अहिलेको देश भरिको समस्या भनेको नै तरलता हो । देशभर समस्या हुँदा दर्शन साकोस मात्र कसरी अछुतो रहन सक्छ र ? प्राय ९९ प्रतिशत सहकारीको तरलता अहिले ५ प्रतिशत भन्दा तल भएको कुरा अब त लुकाएर लुक्न सक्दैन । अहिले त बजार भरि त्रासै त्रास छ । कुनै पनि सहकारीले पूर्ण रुपमा बचत र ऋणको कारोबार गर्न सकेको छैन । एकतर्फ सदस्यहरुको मनोबल गिरेको अवस्थाले सहकारीमा बचत फिर्ताको भिंड लागेको छ ।

अनि बचत फिर्ता पाउन नसक्दाको पिडा सदस्यहरुमा छंदै छ । अर्को तर्फ सहकारीमा संचालक एकतर्फ कर्मचारी अर्कोतपÞर्m अनि सदस्यहरु अर्को तर्फ गरि तीन चिरा भएको छ । १० प्रतिशत देखि १५ प्रतिशत तरलता बोकेर कारोबार गर्ने सहकारीहरुले यस किसिमको मन्दी कहिले नदेखेकाले राम्रै सहकारीहरुका संचालकहरु पनि अब कुन बेला हामी पनि जेल जानुपर्ने हो भनेर मानसिक पिडा लिएर बसेका छन् । सहकारी र बैंकबाट ऋण लिएकाहरुले ऋण तिर्न नसकेर दिनदिनै लिलामीको ओइरो लागेको छ ।

बैंक र सहकारीलाई लिलामीको सम्पति नबिकेर अर्को तनाब छ । व्यापार–व्यवसाय ठप्प प्रायः छन् । शटरहरु ५० प्रतिशत खाली भई सके । भएका पसलमा पनि सामान नबिकेर भाडा समेत तिर्न नसक्ने अवस्थामा पुगेका छन् । युवा जति यहाँ भविष्य नदेखेर सबै विदेश गईसके । सरकार कानमा तेल हालेर बसेको छ । यस्तो विकराल अवस्थामा हामीले मात्र होइन सबै सहकारीले नै आफ्नो स्वास्थ्य ठीक छ, भन्न सक्दैन आजको दिनमा । सबै सहकारीमा सदस्यहरु आत्तिएर पैसा झिक्न मात्र गएको अवस्थामा हामी सहकारीले मात्र होइन कुनै पनि बैंक वा राष्ट्र बैंकले पनि दिन सकिरहेको छैन ।

सबैले एकैचोटि निक्षेप झिक्दा समस्या आएको भन्नुभयो । ती निक्षेप रकम कहाँ लगानी गर्नुभयो ? त्यो लगानी कहिलेसम्म उठ्छ ?
—हाम्रो सहकारी शुद्ध बचत तथा ऋणको कारोबार गर्ने संस्था भएकोले लगानी कहाँ भयो भन्ने प्रश्नको जवाफ हाम्रो सदस्यहरुलाई नै ऋण लगानी भएको छ भन्नु पर्ने स्पष्ट हुन्छ । तर, तपाईले ईंगित गर्न खोज्नु भएको हाम्रो लगानी बजारमा हल्ला भए जस्तो रिस्क भएको क्षेत्र जस्तै जग्गा र शेयरमा लगानी छ कि भनेर सोध्न खोज्नु भएको होला । यहाँलाई मेरो बारे त धेरै कुरा थाहा नै   छ । म शेयर बजार विरोधी हुँ ।

मैले तपाईको पत्रिका मार्फत् नै ‘शेयर बजारमा लगानी गर्नु भनेको जुवा खेल्नु सरह हो’ भनेर एउटा लेख पनि लेखेको थिए । अहिले शेयर बजारले धेरै मान्छेलाई सडकमा ल्याएको नै केहि निश्चित घरानियालाई झन् धनि बनाएको अवस्थामा, यसैले सहकारीको त के कुरा हाम्रो व्यक्तिगत एक रुपैया पनि लगानी शेयरमा छैन । मैले थाहा पाएसम्म ऋण लगानी पनि शेयर खेल्नेलाई गरेको छैन । अहिले जग्गा पनि खरिद बिक्रिको हिसाबले शुन्यमा झरेको छ । धेरै जग्गा व्यवसायी टाट पल्टेको र लिलामीको जग्गा समेत बिक्न छोडेको भन्ने सुन्नमा आएको छ । अहिले सरकारले कित्ता काट पुरानो अवस्थामा खोल्दा समेत मालपोत कार्यालय शुन्य प्रायः छन् । मान्छेसँग खरिद गर्ने स्रोतशक्ति नै छैन ।

कुनै बेला जग्गामा बूम भएको बेला हरेक मान्छे मात्र होइन हरेक बैंक अनि सहकारी समेत आफ्नो सबै पैसा जग्गामा लगानी गर्थे । तर, हाम्रो सहकारी अपवादको रुपमा रह्यो । केहि जग्गा व्यवसायी हाम्रो पनि सदस्य भएकोले वहाँहरुलाई केहि रकम नचाहेर पनि लगानी ग¥यौ । तर त्यो लगानी पूर्ण रुपमा धितो लिएर गरेकाछौं । केहिले ब्याज समेत नतिरेकोले पत्रिकामा नाम समेत निकाली सकेका छौं ।

अब पनि पैसा तिर्न आएन भने लिलामी गर्छौ भनेर जानकारी समेत गराई सकेका छौं । अब हाम्रो सहकारीको अन्य लगानीको बारे पनि भन्छु । हाम्रो कार्यक्षेत्र भित्र बस्ने सदस्यहरुको व्यापार–व्यवसाय वृद्धिको लागि पनि ऋण लगानी गरेका छौं । ठूला सो रुम देखि साना किराना पसलसम्मलाई धितो र बिना धितो दुबै खालको ऋण लगानी गरेका छौं । अहिले मन्दी भएर उहाँहरुलाई पनि समयमा साँवा–ब्याज बुझाउन गाह्रो भईरहेको देखिन्छ ।

कोभिड पछि सबैलाई एउटा कुराको महसुस भएको छ, कृषिलाई प्राथमिकता दिनु पर्छ भनेर । अहिले सरकारले समेत कृषि ऋण लिनेलाई ब्याज अनुदान समेतको व्यवस्था गरेको छ । सरकारले चकलाबन्दी खेति र सामुहिक कृषिलाई विशेष महत्व दिएको छ । हाम्रो सहकारीले पनि यस्तो कृषि गर्नेलाई कृषि योग्य जग्गा खरिददेखि लिएर कृषि व्यवसाय गर्न समेत धितो लिएर ऋण लगानी गरेको छ ।

अहिलेको मन्दीमा कृषिमा पनि मन्दी आएको र लम्पी स्किन जस्तो रोगले किसानको कृषि व्यवसायमा समेत असर परेको हुँदा सहकारीको ऋणको ब्याजमा समेत असर परेको छ । जुनसुकै ऋण भएता पनि सदस्यले समयमा नतिरी संस्था समेत अप्ठ्यारो परेको अवस्थामा ऋणी सदस्यको धितो लिलाम गरेर भए पनि आफ्नो बचतकर्ता सदस्यको बचत फिर्ता गर्नु पर्ने हामीले पनि बुझेका छौं । तर, अहिले आर्थिक मन्दीको अवस्था भएर हाम्रा ऋणी सदस्यलाई केहि समय केहि नभनी बसिरहेका छौं । जुन दिनबाट बजार सहज हुन्छ बैंकहरुमा देखावटी होइन, साँचो ऋण प्रवाह हुन थाल्छ, जग्गाको खरिदबिक्रि पहिला जस्तै सहज हुन्छ त्यो दिनबाट हामीले मात्र होइन सबै सहकारीले सहज रुपमा कारोबार गर्न थाल्नेछन् । पहिला जस्तैगरी जति पैसा पनि जम्मा गर्न र झिक्न सक्नेछन् ।


अहिले एउटा समाचार बाहिर आएको छ, सहकारीको समस्या समाधान गर्न बनेको कार्यदलले समस्याग्रष्ट सहकारीलाई सरकारले धितो जमानी लिएर सस्तो ब्याजदरमा ऋण उपलब्ध गराउने । के यो समाचार सत्य हो ?
—समाचार सत्य हो । कार्यदलले यो बुँदालाई प्राथमिकतामा राखेर आफ्नो प्रतिवेदन बुझाएको पनि हो । तर, सरकारले के गर्छ त्यो भने हेर्न बाँकी छ । अहिले सबैभन्दा ठूलो बदमासी नै बैंकहरुले गरेका छन् । बैंक कसका हातमा छन् भनेर मैले भनि रहनु पर्दैन होला । बजारमा भएका हल्ला अनि दुर्गा प्रसाई, डाक्टर सुरेन्द्र केसी जस्ता व्यक्तिहरुले बोलेका कुरा विभिन्न सामाजिक सञ्जालमा हेर्दा थाहा भई नै हाल्छ । अहिले सहकारीहरुलाई झन् अप्ठ्यारोमा पार्न बैंकहरुले अर्को सुत्र प्रयोग गर्दैछन् । त्यो झन खतरनाक छ !

यदि तपाईले भने जस्तो सरकार आफैले समयमै कन्ट्रोलमा लिएन भने बैंकमा जति पनि पैसा छ, त्यो पैसा सीमित घरनियाँले मात्र चलाउनेछ । यसपछि सहकारी मात्र होइन अन्य व्यापारी पनि हेरेको हेरै हुनुपर्ने अवस्था आउन सक्छ । आजको दिनमा तपाई हामीले यदि बैंकमा ऋण लिन जाने हो भने तपाईको एक करोडको सम्पतिलाई मुस्किलले २० लाख पनि उपलब्ध गर्दैन । त्यसमा पनि कोरोना पछिको आर्थिक मन्दीमा कम्पनी जसरी पनि नाफाको गएको हुनुपर्छ, कर तिरेको हुनुपर्छ ।

यो भनेको तिमी नेपालमा नबस यहाँको सम्पति बेचेर विदेश जाउ भन्न खोजेको हो । तर, त्यही ठाउँमा ठूला घराना हुने हो भने खोला नाला वा डाडा–काँडा जहाँका जग्गाले पनि ठूलो ऋण पाउंछ । त्यसैले सरकारले कि त अब सरकारी बैंकबाट होइन भने सहकारी बैंक मार्फत् उचित ऋण दिएमा मात्र बजार सहज हुन्छ अनि मात्र सहकारीहरु स्वचालित रुपमा चल्न थाल्ने छन् ।

बचतकर्ताको बचतको सुरक्षा चाहिँ हुन्छ कि हुन्न ? कसरी सुरक्षित गर्नुहुन्छ ?
—बचत कर्ताको बचतको सुरक्षा हुन्छ कि हुन्न भन्ने प्रश्नमा हामीले ऋण लगानी सुरक्षित ठाउँमा गरेका छौं कि छैनौ भनेर हेर्नुपर्ने हुन्छ । हुन त अघि नै प्रष्टसँग भनिसकें हामीले लगानी गरेका ऋणहरु यदि उठेन भने त्यसको जिम्मेवारी कसले लिने भन्ने पनि प्रश्न उठ्न सक्छ । मैले सहकारीको अध्यक्षको हैसियतले के भन्छु भने यदि ऋणबाट पैसा असुली भएन भने हामी संचालकहरुको सम्पत्ति बेचेर भए पनि तिर्न प्रतिबद्ध छौं ।

हामीले लगानी गरेका केहि सदस्यहरुमध्यले पनि अहिले ऋण तिर्न सक्दैनौ तर यदि जग्गा चाहिन्छ भने दिन तयार छौं भनेका छन् । त्यसैले यदि कसैलाई अब आफ्नो बचतको सट्टामा जग्गा लिन चाहनु हुन्छ भने हामीले पनि त्यसको तयारी गर्न लागेका छौं । हामीले निकट भविष्यमा नै सहकारीको श्वेतपत्र जारी गरि सहकारीको वास्तविक स्थिति सम्पूर्ण सदस्यलाई जानकारी दिने प्रयास गर्दैछौं ।

त्यस्तै, त्यही श्वेतपत्र मार्फत् नै हामीले बचत फिर्ता कसरी दिने भन्ने योजना छ अनि ब्याजहरु कसरी दिने भन्ने पनि योजना रहेको छ, ति सबै कुराको विस्तृत विवरण श्वेतपत्र मार्फत दिईनेछ । यदि श्वेतपत्र जारी हुनुभन्दा पहिला नै जग्गा पास गरेर लिन चाहेमा त्यो पनि दिने तयारी गरेका छौं । हामी संचालकहरुको मुख्य लगानी रहेको कृषि वन परियोजना बेचेर भए पनि सदस्यहरुको बचत फिर्ता गर्न हामी तयार छौं । तर अहिलेको मन्दीमा अन्य प्लटिङ गरिएको सानो तिनो २÷३ आनाको जग्गा पनि बिक्री नभएको बेला ठूलो परियोजना त झन् बिक्री हुने कुरा नै भएन ।

तपाईंको शेयर सदस्य र बचतकर्ताहरुलाई के सल्लाह दिन चाहनु हुन्छ ? अथवा कहिलेसम्म सहजता होला ?
—अहिले असहज परिस्थिति सहकारीहरुको आफ्नो कारणले भन्दा पनि देश मै उत्पन्न भएको आर्थिक मन्दीको कारण सिर्जना भएको हो । त्यसैले अहिले सबै सदस्यले धैर्य गरेर बस्ने बेला हो जस्तो लाग्छ मलाई । अहिले केहि सहकारीहरुले विदेशमा पैसा लग्यो भन्ने पनि सुनें ।

यदि त्यो सत्य हो भने त्यस्ता सहकारीलाई कारबाही हुनुपर्छ । त्यस्तै, पैसा खाएर केहि सहकारीका संचालक भाग्यो भन्ने कुरा पनि आयो र त्यस्तालाई पनि कारबाही हुनुप¥यो । अहिले बल्ल सहकारीहरुमा सदस्यले हाम्रो लगानी कहाँ छ भनेर सोध्न थालेको छ । यस्तो कार्य हरेक सहकारीमा सदस्यले सोध्नुपर्छ भने संचालकले पनि समय–समयमा सो कुराको जानकारी दिनु पर्छ ।

हामीले हाम्रो सदस्यमध्येबाट छानेर कहाँ–कहाँ ऋण लगानी गरेका छौं र यो सुरक्षित छ कि छैन भनेर हरेक वर्ष ऋण लगानी भएका परियोजनाहरुमा अनुगमन भ्रमणमा लाने गरेका छौं । त्यहाँ जान नपाएका सदस्यहरुलाई पनि त्यहाँको भिडियो खिचेर साधारण सभामा देखाउने गरेका छौं । त्यसैले हाम्रो सदस्यहरु आत्तिनुपर्ने अवस्था छैन । हामी सबै संचालकहरु प्रायः स्थानीय नै छौं । हाम्रो घर खेत सबै यहीं छन् । अनि भागेर जाने ठाउँ पनि छैन । त्यसैले हामी लोकल मान्छेहरुबाट संचालित भएकोले पनि कोहि पनि डराउनु पर्दैन । हामीले हाम्रो सम्पति कहाँ–कहाँ छ भनेर पनि देखाई सकेका छौं ।

म दर्शन र निर्मल बुद्धभूमिका शेयर सदस्यहरुलाई मात्र होइन सम्पूर्ण अरु सहकारीका सदस्यहरुलाई समेत के आग्रह गर्छु भने एक दुई वटा अपवाद बाहेक कुनै पनि सहकारीका संचालकहरुले पैसा खाएर भाग्ने नियत राख्दैन । अहिलेको बिषम परिस्थितिमा सहकारीलाई बचाउने कि डुबाउने सम्पूर्ण हात तपाई सहकारीका सदस्यकै हातमा छ । यदि सहकारीको लगानी सुरक्षित ठाउँमा छ भने केहि समय धैर्य गरेर बसी दिनुस् ।

संचालकहरुलाई नै कहिँ बाट पैसा ल्याउने वातावरण बनाई दिनुस् । आफूले पनि सके दैनिक नसके मासिक भए पनि केहि रकम फेरी पनि जम्मा गरि संचालकहरुलाई अलिक हिम्मत दिनुस् । संचालकहरुले संस्थाको ऋण उठाउन प्रयास गरिरहेका छन् कि छैनन् खोजिनीति गर्नुस् । यो कार्यमा आफूहरुले पनि सहयोग गर्नुस् ।

यदि सहकारीबाट लगानी गरेका ऋणहरुमा आफूले सुरक्षित महसुस गर्नुभयो भने यो कुरा संस्थाका अरु सदस्यलाई पनि भनिदिनुस् । यदि यसरी आफू सदस्य भएको सहकारीलाई बचाउनु भयो भने अवश्य पनि एक दिन त्यो संस्थाले भोलिका दिनमा पनि हिजोका दिनमा प्रदान गरेका राम्रा गुण जस्तैगरि फेरी गुण लगाउनेछ । होइन भने सहकारी त डुब्छ नै यसका साथै तपाईको पैसा पनि डुब्न सक्छ । कुनै पनि सहकारीका संचालकले नगरेको गल्तिको सजाय दिनुभयो भने त्यसको असर आफूतिर पनि आउन सक्छ ।

भगवानले हामी सबैलाई हेरीरहेको हुन्छ । सहकारीका संचालकलाई थुनेर पैसा आउने भए अहिलेसम्म जेलमा कोचेर भए पनि पैसा निकाल्नु पर्ने हो नि ! सरकारले पनि यो कुरा राम्रोसँग बुझेको छ कि जेल हालेर भन्दा मौका दिएर पैसा उठ्न सक्छ । सो तपाई सबै सहकारीका सदस्यहरुले यो कुरा राम्रोसँग मनन गर्नुभयो भने तपाईको पैसा ढिलो चाँडो अवश्य उठ्छ । फेरी पनि सबै सदस्यलाई मेरो आग्रह यहि छ कि अहिले धैर्य गरेर संस्था बचाउन तिर लाग्नु नै उत्तम उपाय हो ।

अन्त्यमा,अहिले देखिएको समस्या कतै राजनीतिक हस्तक्षेप त होइन भन्ने लाग्दैन ?
यो विषय नै सबै भन्दा गम्भीर हो, अहिले सहकारीमा यस्तो सम्म भएको छ । कुनै पार्टीमा आस्था राख्ने व्यक्तीले सञ्चालन गरेको सहकारी अर्काे कुनै विपक्षी पार्टीका कार्यकता नेताहरुले बचत कर्तालाई उकास्ने र समस्या खडा गर्ने काम भएको छ । त्यसमा पनि वर्तमान सरकार कांग्रेस—माओवादी केन्द्र लगायतको गठबन्धनमा छ । प्रतिपक्षीमा एमाले छ,राष्ट्रिय सहकारी महासंघ, राष्ट्रिय सहकारी बैंक जस्ता संस्था कस्को नेतृत्वमा छ, मैले भन्नु पर्दैन होला । भलै राजनीतिक हस्तक्षेप छैन होला तर हेर्दै जानु यदि सरकार परिवर्तन भए सहकारीका समस्या समाधान हुनलाई धेरै समय लाग्ने छैन् ।