काठमाडौं । लगातार बढिरहेको सुनको भाउ मंगलबार भने अघिल्लो दिनको तुलनामा घटेको छ । सोमबार नेपाली बजारमा रेकर्ड कायम गरेको सुनको भाउमा मंगलबार भने गिरावट आएको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार नेपाली बजारमा छापावाल सुनको भाउ प्रतितोला १ लाख १९ हजार २ सय रुपैयाँ कायम भएको छ । सोमबारको तुलनामा मंगलबार सुनको भाउ प्रतितोला २ हजार ४ सय रुपैयाँले घटेको हो ।
त्यस्तै तेजाबी सुनको मूल्य प्रतितोला १ लाख १८ हजार ६ सय ५० रुपैयाँ कायम भएको छ । सोमबार छापावाल सुनको मूल्य प्रतितोला १ लाख २१ हजार ६ सय रुपैयाँ थियो । त्यस्तै सोमबार तेजाबी सुनको मूल्य १ लाख २१ हजार १ सय रुपैयाँ कायम थियो । मंगलबार चाँदीको भाउ पनि तोलामा ४५ रुपैयाँले घटेर १ हजार ५ रुपैयाँ कायम भएको छ ।
अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य बढेसँगै स्थानीय बजारमा पनि त्यसको प्रभाव परेको हो । नेपाली बजारमा सुनको भाउले नयाँ रेकर्ड कायम गरेको हो । गत कात्तिक १२ गते सुनको भाउ प्रतितोला १ लाख १६ हजार ४ सय ५० रुपैयाँ कायम भएको थियो । त्यसपछि कात्तिकमा लगातारजसो सुनको मूल्यमा गिरावट आएको थियो ।
कात्तिक २७ गते प्रतितोला १ लाख १२ हजार ६ सय ५० रुपैयाँमा कारोबार भएको छापावाल सुन मंसिर लागेसँगै बढ्न थालेको हो । मंसिर १ गते छापावाल सुन प्रतितोला १ लाख १४ हजार ९ सय ५० रुपैयाँमा कारोबार भएको थियो । त्यसपछि भने सुनको मूल्य भने बढिरहेको छ ।