काठमाडौं । चालु आर्थिक वर्ष (आव) २०८०÷८१ को पहिलो महिनामै वैदेशिक व्यापारमा गिरावट आएको छ । भन्सार विभागका अनुसार साउनमा १ खर्ब २९ अर्ब २३ करोडको वस्तु आयात भएको छ । यो गत आवको यसै महिनाको तुलनामा १.५६ प्रतिशत कम हो । गत वर्ष साउनमा १ खर्ब ३१ अर्ब रुपैयाँको वस्तु आयात भएको थियो । यस महिनामा निर्यातमा ८.६५ प्रतिशतको गिरावट आएर १३ अर्ब ५२ करोड रुपैयाँमा सीमित भएको छ । अघिल्लो आवको पहिलो महिनामा १४ अर्ब ८० करोड रुपैयाँको निर्यात भएको थियो ।
आयात र निर्यात दुवैमा आएको गिरावटले समग्र वैदेशिक व्यापार तथा व्यापार घाटा समेत घटेको छ । साउनमा कुल वैदेशिक व्यापारको आकार १ खर्ब ४२ अर्ब ७६ करोड रुपैयाँ कायम भएको छ । यो गत आवको यसै महिनाको तुलनामा २.२८ प्रतिशत कम हो । सो आवको साउनमा १ खर्ब ४६ अर्ब रुपैयाँको वैदेशिक व्यापार भएको थियो । साउनमा व्यापार घाटा १ खर्ब १५ अर्ब ७१ करोड रुपैयाँको भएको छ । नेपालको वैदेशिक व्यापारमा निर्यातको हिस्सा ९.४८ प्रतिशत र आयातको हिस्सा ९०.५२ प्रतिशत रहेको छ । साउनमा गत आवको तुलनामा निर्यातको हिस्सा खस्किएको छ । भन्सार विभागका अनुसार साउनमा पेट्रोलियम पदार्थको आयातमै ठूलो गिरावट देखिएको छ ।
यस आवमा २१ अर्ब ९८ करोड रुपैयाँको पेट्रोलियम पदार्थको आयात भएको छ । गत आवको साउनमा पेट्रोलियम पदार्थको आयात २५ अर्ब रुपैयाँको भएको थियो । आइरन र स्टीलको आयात १२ अर्ब ९५ करोड रुपैयाँको भएको छ । यस आवमा आइरन र स्टीलको आयात सुधार भएको छ । साउन २०७९ मा ११ अर्ब २३ करोड रुपैयाँको आयात भएको थियो । एक महिनामा साढे २ अर्ब रुपैयाँको तरकारीजन्य वस्तुको आयात भएको छ । यस महिनामा २ अर्ब ८१ करोडको औषधि आयात भएको छ ।
सवारी साधन र यसको पार्टपूर्जा आयातमा ४ अर्ब २९ करोडको आयात भएको भन्सार विभागले जनाएको छ । गत वर्ष यस्तो वस्तुको आयात ४ अर्ब ६४ करोड रुपैयाँ बराबरको भएको थियो । नेपालको सबैभन्दा ठूलो व्यापार भारतसँग रहेको छ । भारतबाट १ अर्ब २४ करोडको आयात भएको छ । ८ अर्ब ४ करोड रुपैयाँको निर्यात भएको छ । भारतसँग साउनमा मात्र ७२ अर्ब ७६ करोड रुपैयाँको व्यापार घाटा रहेको छ । चीनबाट २१ अर्ब ९४ करोडको वस्तु आयात हुँदा ३९ करोड रुपैयाँको मात्र निर्यात भएको छ । साउनमा १०९ मुलुक भन्दा बढीसँग वैदेशिक व्यापार भएको भन्सार विभागको तथ्यांक छ ।