काठमाडौँ । दरबारमार्गमा २५ तलासहितको अन्नपूर्ण स्क्वायर निर्माण थालिएको छ । यसअघि होटल अन्नपूर्ण रहेको स्थानमा भाटभटेनी समूह, लिटिल एन्जल्स र अन्नपूर्ण समूहले संयुक्त रूपमा स्क्वायर निर्माण थालेको हो । एक विशेष समारोहबीच सोमबार यसको भूमिपूजा गरियो ।
सुन्दर नेपालको सुन्दरताको प्रतीकका रूपमा स्क्वायर निर्माण थालिएको उद्यमी मीनबहादुर गुरुङले बताए । उनी भाटभटेनी सुपरमार्केटका अध्यक्ष पनि हुन् । नौ लाख स्क्वायर फिट क्षेत्रफलमा रहने होटलमा ४० अपार्टमेन्ट हुनेछन् । भाटभटेनीको एउटा स्टोर पनि त्यहाँ रहने जनाइएको छ ।
कम्तीमा ६ अर्ब रुपैयाँ लगानीमा निर्माण थालिएको होटलसँगै क्यासिनो पनि सञ्चालनमा आउने गुरुङले जनाए । साढे तीन सय कोठा रहने यो होटल नेपालकै गौरव गर्न सक्ने संरचनाका रूपमा निर्माण गर्न लागिएको भए पनि मूल्य भने ‘रिजनेवल’ हुने गुरुङले बताए ।