Wednesday, November 27, 2024

२०८१ मंसिर १२, बुधबार

विजनेस दर्शन || Online Portal

काठमाडौं ।

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । काठमाडौं ।

Call: फोन नं. 9828136583

[email protected]

सवारी दुर्घटनाका त्रुटि पत्ता लगाउन यातायात मन्त्रालयले बनायो कार्यदल


सवारी दुर्घटनाका त्रुटि पत्ता लगाउन यातायात मन्त्रालयले बनायो कार्यदल

काठमाडौं । सवारी दुर्घटनाका त्रुटि पत्ता लगाउन भन्दै भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले ५ सदस्यीय कार्यदल गठन गरेको छ । सडक दुर्घटनाबाट मानवीय, आर्थिक र भौतिक क्षति बढेपछि मन्त्री प्रकाश ज्वालाले भौतिक र प्राविधिक पक्षका त्रुटिहरु पत्ता लगाउन कार्यदल गठन गरेको मन्त्रालयले जनाएको छ ।

नेपालगन्जबाट काठमाडौं आउँदै गरेको यात्रुबहाक बस शुक्रबार राति दाङमा दुर्घटना हुँदा ११ जनाले ज्यान गुमाएका थिए भने थानकोट चित्लाङमा भएको दुर्घटनामा ५ जनाको ज्यान गएको थियो । त्यसैगरी शनिबार बागलुङको बुर्तिबाङबाट ढोरपाटन जाँदै गरेको जिप दुर्घटना हुँदा २ जनाको ज्यान गएको थियो ।

दुई दिनभित्र १९ जनाको ज्यान गएपछि भौतिक तथा प्राविधिक त्रुटि पत्ता लगाउन कार्यदल गठन गरिएको मन्त्रालयका सहसचिव रघुराम विष्टले बताएका छन् । कार्यदलमा पूर्वसचिव धनबहादुर तामाङ अध्यक्ष रहेका छन् । कार्यदलमा संघीय सडक सुपरिवेक्षण कार्यालय सुर्खेतका सुई श्यामबहादुर खड्का, सवारी अनुगमन मापदण्ड तर्जुमा र सवारी चालक व्यवस्थापन अन्तरप्रदेश समन्वय, अनुसन्धान शाखाका निर्देशक, प्रहरी प्रधान कार्यलय ट्राफिक महाशाखाका प्रतिनिधि र भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सीडीई सुरेश श्रेष्ठ सदस्यसचिव रहने छन् ।

कार्यदललाई विगत एक महिनामा भएका सवारी दुर्घटना, विगतमा भएका कार्यदलका प्रतिवेदन र स्थलगत अध्ययन गर्न, सडक दुर्घटनाका कारण र पक्षको विश्लेषण गर्न, सडक दुर्घटना न्यूनिकरण गर्न संस्थागत र प्राविधिक पक्षको विश्लेषण गर्न गरी जिम्मेवारी दिइएको छ । सडक दुर्घटना न्यूनिकरणका अल्पकालीन, मध्यकालीन र दिर्घकालीन उपायहरु सुझाउन पनि कार्यदललाई जिम्मेवारी दिइएको सहसचिव विष्टले बताए ।

आइतबार नै बसेको सडक सुरक्षा परिषद्‌ बैठकले पनि चार वटा निर्णय गरेको छ । बैठकले सवारी दुर्घटनाको अध्ययन समिति बनाउने, सडक सुरक्षा विज्ञहरुको सूची तत्काल तयार गर्ने, तालिम र जनचेतनामा तत्काल काम थाल्ने र सडक सुरक्षा सम्बन्धमा बनेको विधेयकउपर समितिमा पठाउने निर्णय गरेको छ ।