काठमाडौं । कैलालीको धनगढीका एक व्यापारीले आफ्नो घरको पाँच तलाबाट हाम फाल्दा ज्यान गएको छ । धनगढी उपमहानगरपालिका–४ का ५३ वर्षीय सन्तोष अग्रवालले घरको छतबाट हामफाल्दा गम्भीर घाइते भएका थिए ।
उनको उपचारको क्रममा ज्यान गएको हो । जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार सन्दिप स्टोरका सञ्चालक अग्रवालले आज आफ्नो घरको पाँचौ तलाबाट जमिनमा हाम फालेका थिए । घरको छतबाट हाम फालेका व्यापारी अग्रवाललाई उपचारका लागि तत्काल नवजीवन अस्पतालमा लगिएकोमा उपचारको क्रममा उनको ज्यान गएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता कुलदीप चन्दले जानकारी दिए। अग्रवाल कस्मेटिक व्यापार गर्दै आएको जनाइएको छ ।
के कति कारणले घरको छतबाट हाम फालेको विषयमा प्रहरीले अनुसन्धान गरिरहेको छ । घरको माथिल्लो तल्लास्थित छतमा पुगेका अग्रवाललाई आसपासका स्थानीयले त्यसो नगर्न आग्रह गर्दा पनि अटेर गरेर हाम फालेको प्रहरीले जनाएको छ ।