Thursday, November 21, 2024

२०८१ मंसिर ६, बिहीबार

विजनेस दर्शन || Online Portal

काठमाडौं ।

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । काठमाडौं ।

Call: फोन नं. 9828136583

[email protected]

नेपाललाई बंगलादेशमा विद्युत् निर्यात गर्न भारतले दियो अनुमति


नेपाललाई बंगलादेशमा विद्युत् निर्यात गर्न भारतले दियो अनुमति

काठमाडौं । भारतको केन्द्रीय विद्युत् नियमन आयोग (सीईआरसी)ले नेपाललाई बंगलादेशमा विद्युत् निर्यात गर्न अनुमति दिएको छ ।

यससँगै भोलिदेखि नै ४० मेगावाट विद्युत् भारतीय प्रसारण लाइन हुँदै बंगलादेश निर्यात गरिने नेपाल विद्युत् प्राधिकरणले जनाएको छ । काठमाडौँमा ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्का, राज्यमन्त्री पूर्णबहादुर तामाङ र बंगलादेशको अन्तरिम सरकारका जलस्रोतमन्त्री सैयदा रिजवाना हसनको उपस्थितिमा गएको असोज १७ गते नेपालमा उत्पादित बिजुली बंगलादेशमा बिक्री गर्ने त्रिपक्षीय सम्झौता भएको थियो ।

उक्त सम्झौतामा नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ, भारतको एनटीपीसी विद्युत् व्यापार निगम (एनभीभीएन) की प्रमुख कार्यकारी अधिकृत (सीईओ) रेनु नारङ र बंगलादेश पावर डेभलपमेन्ट बोर्ड (बीपीडीबी) का अध्यक्ष मोहमद रिजाउल करिमले हस्ताक्षर गरेका थिए ।

यसअघि भारतको सीईआरसीले अनुमति नदिएपछि नेपालबाट बंगलादेश विद्युत् निर्यात योजना अनिश्चित बनेको थियो । विद्युत् निर्यात गर्न भारतको सीईआरसीको अनुमति आवश्यक पर्ने सम्झौतामै उल्लेख छ । सुरुमा १६ कात्तिकदेखि विद्युत् निर्यात गर्ने मौखिक सहमति तीन देशका कम्पनीबीच भएको थियो । त्यसबेलासम्म सीईआरसी अनुमति प्राप्त नभएपछि त्यसलाई सारेर २३ कात्तिक शुक्रबारदेखि निर्यात सुरु गर्ने योजना बनेको थियो ।

त्रीदेशीय सम्झौतामा नेपालले १५ जुनदेखि १५ नोभेम्बरसम्म ४० मेगावाट विद्युत बंगलादेश निर्यात गर्ने छ । ऊर्जामन्त्री दीपक खड्काले भारत भ्रमणका बेला बंगलादेश विद्युत् निर्यात अनुमति दिने विषयमा भारतीय विद्युतमन्त्री मनोहरलाल खट्टरसँग छलफल गरेका थिए । त्यस क्रममा १५ नोभेम्बरभित्र नेपालबाट बंगलादेश विद्युत् निर्यात अनुमति प्राप्त हुने आश्वासन प्राप्त भएको थियो ।

हालसम्म नेपालले भारतको बजारमा मात्रै विद्युत् निर्यात गरिरहेकोमा १७ असोजमा भएको सम्झौतापछि तेस्रो मुलुक निर्यातको बाटो खुलेको थियो । नेपाल विद्युत् प्राधिकरणले प्रतियुनिट करिब ८ रुपैयाँ ६४ पैसा (६.४ अमेरिकी सेन्ट) का दरले बंगलादेशलाई विद्युत् निर्यात गर्ने सम्झौतामा उल्लेख छ । बंगलादेश विद्युत् निर्यात गर्दा भारतको एनटीपसी विद्युत् व्यापार निगम लिमिटेड (एनभीभीएन) को प्रसारण लाइन प्रयोग गरेबापत ‘ह्विलिङ चार्ज’ बंगलादेशी कम्पनीले तिर्ने छ ।

नेपालबाट निर्यात हुने विद्युतका लागि भारत मुजफ्फरपुरमा मिटर राखिने र त्यसैमा बंगलादेशमा निर्यात भएको विद्युत् रेकर्ड हुने पनि सम्झौतामा छ । त्यहाँसम्मको प्राविधिक नोक्सानी भने प्राधिकरणले नै बेहोर्ने छ ।

मुजफ्फरपुरबाट बंगलादेश सीमाको प्राविधिक नोक्सानी पनि बंगलादेशी पक्षले नै तिर्ने सम्झौता छ ।

सम्झौता अनुसार तत्काल बंगलादेशमा प्राधिकरणले प्रतियुनिट आठ रुपैयाँ १७ टाका (नौ रुपैयाँ ३० पैसा) मा  बिजुली बिक्री गर्नेछ। यसअनुसार नेपालले ६.४ सेन्टमा बेच्ने बिजुलीको भाउ बंगलादेश पुग्दा प्रतियुनिट करिब ७.६ सेन्ट पुग्ने अनुमान छ ।