काठमाडौं, भदौ १० । आर्थिक वर्षको तुलनामा गत आर्थिक वर्षमा बैंक तथा वित्तीय संस्थाले प्रवाह गरेको सेयर (मार्जिन प्रकृतिको) कर्जा करिब सवा ४ अर्ब रुपैयाँले घटेको छ । यो ५.२ प्रतिशतको कमी हो । २०७८ भदौमा राष्ट्र बैंकले ४ करोड र १२ करोडको सीमा लगाएपछि घट्न थालेको सेयर कर्जा त्यसपछिका प्रायः सबै महिनामा घटिरहेको तथ्यांकहरूले देखाएको छ । आर्थिक वर्ष ०७८,७९ को मौद्रिक नीतिमार्फत भएको नीतिगत कडाइले सेयर कर्जासँगै नेप्से परिसूचक पनि धेरैले घटेको र त्यसयता बढ्न नसकेको बताए ।
गत असारसम्म बैंक तथा वित्तीय संस्थाले ७६ अर्ब ३० करोड ८३ लाख रुपैयाँ सेयर कर्जा प्रवाह गरेको राष्ट्र बैंकको तथ्यांक छ । अघिल्लो आर्थिक वर्षको तुलनामा गत असारसम्म यस क्षेत्रमा प्रवाह भएको कर्जा करिब ४ अर्ब २० करोड रुपैयाँले कम हो । ०७९ असारमा ८० अर्ब ५० करोड र ०७८ असारमा १ खर्ब ६ अर्ब रुपैयाँ सेयर कर्जा लगानीमा थियो । उल्लिखित तथ्यांकबाट पनि २०७८ असारयता सेयर कर्जा घट्दै गएको पुष्टि हुन्छ । आर्थिक वर्ष ०७७,७८ को मौद्रिक नीतिमार्फत राष्ट्र बैंकले सेयर घरजग्गालगायत कर्जामा कडाइ गरेको थियो । राज्यको नीतिगत व्यवस्थाले सेयर बजार प्रभावित हुने र पछिल्ला वर्षमा कसिला नीति आएकाले सेयर कारोबार मापक नेप्से परिसूचक बढ्न नसकेको स्टक ब्रोकर्स एसोसिएसनका पूर्वअध्यक्ष नरेन्द्रराज सिजापतिले बताए ।
०७८ भदौमा राष्ट्र बैंकले ४ र १२ करोडको नीति ल्यायो, यो व्यवस्थापछि घट्न थालेको सेयर बजार अझै बढ्न सकेको छैन,’गत आर्थिक वर्ष र चालू आर्थिक वर्षको मौद्रिक नीतिमार्फत राष्ट्र बैंकले केही सेयर कर्जामा खुकुलो बनाउन खोजे पनि अर्थतन्त्रमा आएको शिथिलताका कारण लगानीकर्ताले कर्जा लिने आँट गर्न नसकेको उनको भनाइ छ । गत आर्थिक वर्षको मौद्रिक नीतिमार्फत राष्ट्र बैंकले एउटा बैंक तथा वित्तीय संस्थाबाट बढीमा ४ करोड रुपैयाँसम्म मात्र कर्जा लिन पाउने व्यवस्था खारेज गरेको थियो ।
उक्त व्यवस्था खारेज गरेर मार्जिन कर्जाको एकल ग्राहक सीमा एउटा वा सबै वित्तीय संस्थाहरूबाट लिन सक्ने गरी अधिकतम सीमा १२ करोड कायम रहेकाले यो कर्जा बढ्न नसकेको लगानीकर्ताको गुनासो छ । चालू आर्थिक वर्षको मौद्रिक नीतिमार्फत राष्ट्र बैंकले ५० लाख रुपैयाँ सम्मको सेयर कर्जामा जोखिम भार घटाएर एक सय प्रतिशत बनाएको छ । यसअघि २५ लाख रुपैयाँसम्मको सेयर कर्जाको जोखिमभार मात्र एक सय प्रतिशत र त्योभन्दा बढी सबै कर्जाको एक सय ५० प्रतिशत थियो । यो व्यवस्थाले सेयर बजारमा सकारात्मक प्रभाव पर्ने दाबी राष्ट्र बैंकले गरे पनि मौद्रिक नीति जारी भएयताका प्रायः सबै दिन नेप्से परिसूचक घटि रहेको छ । यो व्यवस्था सेयर बजारका लागि सकारात्मक भए पनि १२ करोडको सीमा नहटेकाले ठूला लगानीकर्ता आकर्षित हुन नसकेको जानकार बताउँछन् ।सेयर बजार निरन्तरजसो घटेको छ ।
यसअघि ३२ सयसम्म पुगेको बजार घट्न थालेपछि केही ठूला लगानीकर्ताले सेयर बेचेर लगानी अन्य क्षेत्रमा स्थानान्तरण गरेका थिए । त्यो लगानी बजारमा फर्किन सकेको छैन,’ अर्का एक सेयर ब्रोकरले भने, ‘तरलता अभाव भन्दै बैंकहरूले पनि कर्जा प्रवाह रोके, राष्ट्र बैंकले पनि नीतिगत कडाइ गर्न थाल्यो । त्यसको असर सेयर कर्जामा देखिएको हो ।’ अहिले निरन्तर सेयर बजार घट्नुको एउटा कारण सेयर कर्जा पनि भएको उनको दाबी छ ।
नेपाल राष्ट्र बैंकको तथ्यांकअनुसार अघिल्लो आर्थिक वर्षको तुलनामा गत असारसम्म सेयर कर्जा ५.२ प्रतिशतले घटेको छ । यसअनुसार एक करोड रुपैयाँभन्दा बढी रकमका सेयर कर्जा ४ प्रतिशतले घटेको छ । २५ देखि ५० लाख रुपैयाँसम्मको सेयर कर्जा १६ प्रतिशतले र २५ लाख रुपैयाँ भन्दा कमको कर्जा १४ प्रतिशत घटेको छ । तर सोही अवधिमा ५० लाखदेखि १ करोड रुपैयाँ सम्मको कर्जा भने साढे ११ प्रतिशतले बढेको बढेको राष्ट्र बैंकको मासिक प्रतिवेदनले देखाएको छ । उल्लिखित रकमको कर्जा राष्ट्र बैंकको ४ र १२ को सीमामा नपरेकाले बढेको बताएको छ ।