Saturday, May 31, 2025

२०८२ जेष्ठ १८, शनिबार

विजनेस दर्शन || Online Portal

काठमाडौं ।

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । काठमाडौं ।

Call: फोन नं. 9828136583

[email protected]

काठमाडौंमा घट्यो घरजग्गा किनबेचको कारोबार


काठमाडौंमा घट्यो घरजग्गा किनबेचको कारोबार

काठमाडौं । विगत करिब तीन वर्षदेखि सुस्ताएको घरजग्गा कारोबारले अझै गति लिन सकेको छैन। चालु आर्थिक वर्षको साउनमा बढेको घरजग्गा कारोबार भदौ र असोजमा भने क्रमशः घटेको छ।

भूमि व्यवस्था तथा अभिलेख विभागको तथ्यांकअनुसार साउनमा काठमाडौंमा दुई हजार एक सय ७० संख्यामा घरजग्गा कारोबार भएको थियो। सो संख्या बराबरको कारोबार हुँदा सरकारलाई ९८ करोड रूपैयाँ राजस्व प्राप्त भएको छ।

विभागको तथ्यांक अनुसार साउनको तुलनामा भदौमा भने थोरै संख्याले घरजग्गा कारोबार घटेको देखिन्छ।

भदौमा काठमाडौंमा दुई हजार ५६ संख्यामा घरजग्गा किनबेच भएको थियो। त्यसबापत सरकारलाई ९४ करोड रूपैयाँ राजस्व प्राप्त भएको छ। असोजमा आउँदा भने भदौको तुलनामा १९.२६ प्रतिशतले घरजग्गा कारोबार घटेको देखिन्छ।

असोजमा काठमाडौंमा १६ सय ६० संख्यामा घरजग्गा कारोबार भएको विभागको तथ्यांकले देखाएको छ। यसबाट सरकारलाई ९२ करोड रूपैयाँ राजस्व प्राप्त भएको छ।

सरकारलाई घरजग्गा कारोबारबाट सेवा कर, रजिस्ट्रेसन दस्तुर, पुँजीगत लाभकर लगायत विभिन्न शीर्षकमा राजस्व प्राप्त हुन्छ। त्यसमध्ये सबभन्दा बढी रजिस्ट्रेसन (दर्ता) दस्तुर र पुँजीगत लाभकरबाट प्राप्त हुन्छ।

घरजग्गा व्यवसायलाई मौद्रिक नीतिले सम्बोधन नगर्दा घरजग्गा कारोबार फस्टाउन नसकेको जग्गा तथा आवास विकास संघका अध्यक्ष विदुर धमलाले जानकारी दिए।

नेपाल राष्ट्र बैंकले कर्जा आम्दानी अनुपात र लोन टु भ्यालु रेसियोको अनुपात बढाए मात्रै आगामी दिनमा घरजग्गा कारोबार फस्टाउने उनको भनाइ छ।