काठमाडौं । पछिल्लो समय आर्थिक तरलता बढ्दै जादा महँगी पनि अचाक्ली बढेको छ । महंगीका कारण दैनिक उपभोग्य बस्तुहरु छुनै नसक्ने अबस्थामा पुगेको छ । महँगी बढ्दै जादा पनि राज्य गम्भीर नभएको भन्दै आम जनमानसमा आक्रोश थपिदै गएको छ । नेपाल राष्ट्र बैङ्कले आर्थिक वर्ष २०७९–८० मा उपभोक्ता मुद्रास्फीति अघिल्लो वर्षको भन्दा १.१२ प्रतिशतको विन्दुले बढेको जनाएको छ । आर्थिक वर्ष २०७८—७९ मा जम्मा ६.३२ प्रतिशत रहेको मुद्रास्फीति आर्थिक वर्ष २०७९–८० को अन्तसम्ममा ७.७४ प्रतिशत पुगेको जनाएको छ । शुक्रवार गत आर्थिक वर्षको वित्तीय रिपोर्ट सार्वजनिक गरेको बैङ्कले नेपाल र भारतको मुद्रास्फीति बराबरको स्थितिमा रहेको जनाएको छ । समीक्षा अवधिमा खाद्य तथा पेय पदार्थ समूह अन्तर्गत रेस्टुरेन्ट तथा होटेल उप–समूहको मूल्यवृद्धि १४.४२ प्रतिशत, मरमसलाको १२.५० प्रतिशत, खाद्य तथा खाद्यजन्य पदार्थको १०.७० प्रतिशत, सुर्तीजन्य पदार्थको ९.८८ प्रतिशत र दुग्ध पदार्थ तथा अण्डाको मुद्रास्फीति ९.२३ प्रतिशत रहेको केन्द्रीय बैङ्कले जनाएको छ ।
साथै, गैर–खाद्य तथा सेवा समूह अन्तर्गत यातायात उप–समूहको मूल्यवृद्धि १३.५० प्रतिशत, मनोरञ्जन तथा संस्कृतिको १०.१८ प्रतिशत, स्वास्थ्यको १०.०१ प्रतिशत, शिक्षाको ८.७९ प्रतिशत र घरायसी उपयोगका वस्तुहरूको ८.६५ प्रतिशत रहेको छ । २०८० असार महिनामा वार्षिक विन्दुगत उपभोक्ता मुद्रास्फीति ७.४४ प्रतिशत रहेको छ । २०७९ असार महिनामा यस्तो मुद्रास्फीति ८.०८ प्रतिशत रहेको थियो । खाद्य तथा पेय पदार्थ समूहको मुद्रास्फीति आर्थिक वर्ष २०७९–८० मा खाद्य तथा पेय पदार्थ समूहको वार्षिक औसत उपभोक्ता मुद्रास्फीति .६२ प्रतिशत रहेको छ । अघिल्लो आर्थिक वर्ष उक्त समूहको यस्तो मुद्रास्फीति ५.६९ प्रतिशत रहेको थियो । २०८० असार महिनामा खाद्य तथा पेय पदार्थ समूहको वार्षिक विन्दुगत उपभोक्ता मुद्रास्फीति ७.३८ प्रतिशत रहेको छ । २०७९ असार महिनामा उक्त समूहको यस्तो मुद्रास्फीति ६.८९ प्रतिशत रहेको थियो ।
आर्थिक वर्ष २०७९–८० मा गैर–खाद्य तथा सेवा समूहको वार्षिक औसत उपभोक्ता मुद्रास्फीति ८.६२ प्रतिशत रहेको छ । अघिल्लो आर्थिक वर्ष उक्त समूहको यस्तो मुद्रास्फीति ६.८३ प्रतिशत रहेको थियो । २०८० असार महिनामा गैर–खाद्य तथा सेवा समूहको वार्षिक विन्दुगत उपभोक्ता मुद्रास्फीति ७.४८ प्रतिशत रहेको छ । २०७९ असार महिनामा उक्त समूहको यस्तो मुद्रास्फीति ९.०३ प्रतिशत रहेको थियो । महँगी दिनप्रतिदिन बढ्दै जादा उत्पादन जहाँको त्यहि छ । चार्डपर्व नजिकिदै गर्दा बजारमा देखिएको महँगीले यो वर्ष पनि उपभोक्ता मारमा पर्ने उपभोक्ता अधिकारकर्मीले चिन्ता व्यक्त गरेका छन् । राज्यले महँगी नियन्त्रण गर्न नसक्नु, उत्पादन बढाउन नसक्नु र आवश्यक उपायको योजना नबनाउदा थप समस्या बढ्ने अधिकारकर्मीहरुको भनाई छ ।