काठमाडौं । ललितपुर महानगरपालिका १८ मगरगाउँ स्थित पिपलबोट बहुउद्देश्यीय सहकारी संस्थाले विभिन्न नाममा सुरुगरेका सबै प्रोजेक्ट घाटामा गएपछि बन्द गरेको छ । जसका कारण संस्था चरम आर्थिक संकटमा परेको स्थानीयको भनाई छ । बहुउद्देश्यीय सहकारीले नियम विपरित बचत तथा ऋणमा कारोबार गर्दा संस्थामा आर्थिक संकट बढेको हो । संस्थाले विभिन्न मितिमा सुरुगरेको कृषि, भैसी पालन, कुखुरा पालन, फुलखेती, बाख्रा पालन, कृषि फर्मका नाममा सञ्चालन गरेको विभिन्न प्रोजेक्ट घाटामा गएपछि बन्द गरेको केहि शेयरसदस्यहरुले बताए । संस्थाका अध्यक्ष दिनेश थापाले आफुखुशी विभिन्न क्षेत्रमा अध्ययन विनै लगानी गर्दा अहिले संस्था समस्यामा परेको एक सदस्यको भनाई छ ।
उसले विभिन्न समयमा ठुलो रकम यस्ता परियोजनामा लगानी गरेको र त्यसको प्रतिफल शून्य रहेको स्रोतको दावी छ । सहकारी बहुउद्देश्यीय भएपनि बचत तथा ऋणमा केन्द्रीत हुदा ठुलो मात्रामा विनाधितो ऋण प्रवाह गरेको देखिन्छ । जसको साँवा ब्याज अहिलेसम्म संस्थाले पाउन सकेको छैन । पिपलबोट बहुउद्देश्यीय सहकारी संस्थाले ललितपुरमै भैसी पालन, कुखुरा पालन, बाख्रा पालन, फुल खेती, टनेलमा तरकारी खेती गरेको थियो जुन घाटामा गएको र अहिले बन्द छ । ६ वटा भैसीबाट पशुपालन सुरुगरेको पिपलबोटले पराल तथा आबश्यक खाने कुराको पुर्याउन नसक्दा भैसीबाट घाटा भएको एक सदस्यले बताए । उनले भने, ‘अध्यक्षको मनोमानिका कारण कुनै जानकारी बिनै विभिन्न परियोजनामा लगानी भयो अहिले समस्यामा छौं’।
त्यस्तै, संस्थाले लोकल कुखुरा पालनको व्यबसाय गरेपनि उक्त सहकारीले अन्तिममा सो ब्यबसाय पनि बन्द गरेको स्थानीयको भनाई छ । त्यस्तै, सहकारीले एउटा गाडी खरिद गरेको र त्यसको व्यबस्थापन गर्न नसक्दा समस्या भोगेको केहि भनाई छ । चालकको बद्मासिका कारण सहकारी सञ्चालकनै पक्राउ पर्नु परेको घटना गुपचुप राखिएको थियो । सो घटनापछि गाडीनै विक्रि गरेको र सो चालकले लाखौं घाटा दिलाई विदेश गएको स्रोतको भनाई छ । त्यस्तै सहकारीका अध्यक्ष दिनेश थापा मगरले आफ्ना नजिकका मानिसलाई विनाधितो ठुलो ऋण दिएको र त्यो अहिलेसम्म फिर्ता नआएको स्रोतको भनाई छ । सहकारीले आफ्नो सामाजिक सञ्जालमा पटक—पटक ऋण फिर्ताकालागि ताकेता गरेको पोष्टहरु सार्वजनिक गरेको छ ।
यता, बचत तथा ऋण सहकारी संस्थामा बचतफिर्ताको माग बढ्दै जादा पछिल्लो समय बहुउद्देश्यीय सहकारी संस्थामा बचत हिनामिनाका घटना बाहिरिन थालेका हुन । पछिल्लो समय सहकारी संस्थाहरुले बचतकर्ताको रकम फिर्ता नदिइरहेको अबस्थामा पानीमाथिको ओभानो बन्न खोजेका बहुउद्देश्यीय सहकारी संस्थाहरुले ठुलो रकम विभिन्न प्रोजेक्टका नाममा लगानीगरि फसाएको खुल्न आएको हो ।
केहि त्यसको एउटा उदाहरण ललितपुर महानगरपालिका १८ मगरगाउँमा रहेको पिपलबोट बहुउद्देश्यीय सहकारी संस्थापनि हो । सहकारीले ललितपुर महानगरपालिका वडा नं. १८ र २१ को खोकनाफाँटमा एकीकृत रुपमा कृषि तथा पशुपछीं पालन सञ्चालन गरेको थियो । त्यस्तै, संस्थाले १५ देखि २० रोपनी जग्गामा सञ्चालन विभिन्न परियोजना सञ्चालन गरेको थियो । तर अहिले अबस्था कस्तो छ भन्ने बारेमा संस्थाका अध्यक्षलाई हामीले फोन गर्दा उनको फोन अफ छ । आर्थिक संकटका कारण अहिले कार्यालयमा कर्मचारीहरुपनि २-३ जनामात्रै रहेको बताइएको छ ।
त्यस्तै, शिवशिखर बहुउद्देश्यीय सहकारी संस्था, श्री लालिगुरास बहुउद्देश्यीय सहकारी संस्था लगायतले बुहउद्देश्यीय सहकारीहरुले उद्देश्य विपरित बचत तथा ऋणमा मात्रै केन्द्रीत हुदा लाखौं बचतकर्ताको अर्बाै रकम जोखिममा परेको हो । यसैबीच, कीर्तिपुरका केहि बहुउद्देश्यीय सहकारी संस्थाहरुमा पनि पछिल्लो समय बचत फिर्ताको दवाव बढेको पाइएको छ । बहुउद्देश्यीयले लगानी गरेका विभिन्न प्रोजेक्टहरु चलायमान नहुदा थप समस्या बढेको कीर्तिपुरकै एक स्थानीयले बताए । बहुउद्देश्यीयले घर जग्गाको कारोबारमा ठुलो रकम फसाएको कीर्तिपुरकै केहि उदाहरण छन् ।
जसले अहिले घर जग्गाको कारोबार बन्द हुदा त्यस्ता सहकारी संस्थाहरुमा आर्थिक संकट चुलिएको हो । त्यस्तै, केहि बहुउद्देश्यीय सहकारी संस्थाहरुले विभिन्न कम्पनीका नाममा लगानी गर्नु, घर जग्गामा ठुलो रकम फसाउनु आदी कारण थप समस्या देखिने प्रष्ट हुन्छ । बहुउद्देश्यीय सहकारी संस्थाहरुले आफ्नो पुँजीको ३० प्रतिशतमा हुन आउने रकमको बचत उठाउन पाउने भएपनि अधिकांसले नियम विपरित बचत तथा ऋणको कारोबार गर्दै आएको देखिन्छ । त्यसमा सम्बन्धीत निकायको मौनतालाई प्रश्न गर्न मिल्ने एक सहकारी अभियानकर्ताले बताए । यसले गर्दा अब बहुउद्देश्यीय सहकारी संस्थाहरुमा बचत फिर्ताको दवाव बढ्ने देखिन्छ ।
विभाग तथा सम्बन्धीत निकायले श्रेश्त पत्र जारी गर्न ताकेता गर्दा पनि अटेरी गर्नुको कारण नियम विपरित कार्य खुल्ने त्रास बढेको एक सहकारीकर्मीले बताए । उनले भने, बचत तथा ऋणको तुलनामा बहुउद्देश्यीय सहकारीमा थप समस्या छ । उनिहरुको घर जग्गा, विभिन्न प्रोजेक्टका नाममा गएको करोडौं रकम कहाँ छ,भन्ने टुंगो छैन् । जसले गर्दा एकै पटक बचत फिर्ताकालागि दवाव बढे समस्या देखिने निश्चीत छ ।