काठमाडौं । मन्त्रिपरिषद्को बैठक आज बस्दैछ । सिंहदरबारमा भूकम्पले क्षतिग्रस्त भएपछि रेट्रोफिटिङ गरी पुननिर्माण गरिएको नयाँ भवनमा प्रधानमन्त्री कार्यालय सरेपछि मन्त्रिपरिषद्को बैठक पनि सोही भवनमा बस्न लागेको हो ।
भूकम्पले क्षति पुर्याएको सिंहदरबारको मूल भवनलाई सहरी विकास मन्त्रालयले रेट्रो फिटिङ गरी पुननिर्माण गरेको हो । यसअघि प्रधानमन्त्री पुष्पकमल दाहालले आफ्नो कार्यकक्ष सारिसकेका छन् भने अहिले प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयनै सोही भवनबाट सञ्चालित छ ।
बुधबारको मन्त्रिपरिषद् बैठक पनि सोही भवनको बैठक कक्षमा बस्न लागेको हो । सहरी विकासमन्त्री सीता गुरूङले विहान १० बजे प्रधानमन्त्री दाहालले पनुनिर्माण गरी तयार भएको बैठक कक्षको अवलोकन गर्ने र लगत्तै सोही बैठककक्षमा मन्त्रिपरिषद्को बैठक बस्ने जानकारी दिइन् ।
यसअघि कार्यकक्ष सारेपछि प्रधानमन्त्री दाहालले १२० वर्ष पुरानो भवनको मूल संरचनालाई जस्तो त्यस्तै राखेर भूकम्पबाट भएको क्षतिको रेट्रोफिटिङ गरिएको भन्दै अब त्यहाँ बसेर काम गर्दा जोस् जाँगर आउने बताएका थिए ।प्रधानमन्त्री दाहालले एक महिनाअघि आफ्नो कार्यकक्ष सारेका थिए ।