काठमाडौँ । नेपालमा मोबाइल फोन वा इन्टरनेट प्रयोग गरेर बैंक कारोबार गर्ने महिलाको संख्या निकै कम रहेको विज्ञहरुले औँल्याएका छन् । पछिल्ला वर्षमा महिला साक्षरता उल्लेख्य रुपमा बढेपनि डिजिटल वित्तीय उपकरण प्रयोगमा उनीहरुको सहभागिता अपेक्षित रुपमा नबढेको उनीहरूको भनाइ छ।
बिहीबार ललितपुरमा आयोजित लैंगिक समानताका लागि ‘रिङ द बेल’ कार्यक्रममा वक्ताहरूले डिजिटल पहुँचमा देखिएको लैंगिक असमानताले देशको दिगो आर्थिक विकासमा गम्भीर असर पुर्याउने धारणा राखे । वित्तीय क्षेत्रमा विद्यमान लैंगिक आधारमा डिजिटल डिभाइड (जेन्डर्ड डिजिटल डिभाइड)को समस्या सम्बोधन गर्नुपर्ने उनीहरुको भनाइ थियो ।
नेपालका लागि संयुक्त राष्ट्रसंघीय निकाय यूएन विमेनकी प्रतिनिधि प्याट्रिसिया फर्नान्डेज–पाचेकोले महिलाको साक्षरता दरमा नेपालले प्रगति हासिल गरे पनि वित्तीय समावेशीकरणमा अझै पहल आवश्यक रहेको धारणा राखिन् ।