काठमाडौं . 'राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियान, नेपाल' का संयोजक दुर्गा प्रसाईंलाई स्थानीय प्रशासनले घरबाहिर निस्कन 'रोक' लगाएको छ ।
निषेधित क्षेत्रमा कार्यक्रम गर्ने, सामाजिक सद्भाव भड्काउनेलगायतका क्रियाकलापमा संलग्न हुन खोजेको भन्दै स्थानीय प्रशासनले उनलाई स्थानहद घरबाट बाहिर निस्कन रोक लगाएको हो । भक्तपुरको थिमिस्थित उनको निजी निवासबाहिर दंगा नियन्त्रण टोलीसहित सुरक्षाकर्मी परिचालन गरिएको छ ।
भक्तपुरकी प्रमुख जिल्ला अधिकारी रोशनीकुमारी श्रेष्ठले अनुमति नलिई प्रसाईंले सार्वजनिक कार्यक्रम गर्न खोजेको बताइन् । 'हिजोको उहाँहरूको गतिविधि अराजक देखियो ।
आज फेरि अनुमति नलिई सार्वजनिक स्थानमा कार्यक्रम राख्ने भन्नु भएको छ । बिनाअनुमति यसरी कार्यक्रम गर्न पाइँदैन । उहाँहरूकै सुरक्षाका लागि उहाँ जहाँ हुनुहुन्छ त्यहीँ रोकिएको हो । अनुमति नलिई उहाँहरूलाई कार्यक्रम राख्न दिइने छैन,' प्रमुख जिल्ला अधिकारी श्रेष्ठले भनिन् ।
बिहीबार बल्खु क्षेत्रमा भएको विरोध प्रदर्शनपछि प्रसाईंले कार्यक्रम समापनका क्रममा र पत्रकार सम्मेलनमार्फत उत्तेजक, अराजक, हिंसात्मक, ध्वंशात्मक गतिविधि गर्न उक्साउने र व्यक्तिकेन्द्रित भई घृणाजन्य अभिव्यक्ति दिएको पनि जिल्ला प्रशासन कार्यालय, काठमाडौंले जनाएको छ । समापन कार्यक्रममा प्रसाईंले शुक्रबारदेखि तीनकुने क्षेत्रमा विरोध प्रदर्शन गर्ने बताएका थिए ।
यसैबीच, दुर्गा प्रसाईंले आह्वान गरेको प्रदर्शनमा सहभागी हुन हिँडेका राजावादी संगठनका व्यक्तिहरुलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा शाही युवा शक्ति नेपालका अध्यक्ष पशुपति खड्का, मनिन्द्रराज भण्डारीसहित ५ जना रहेको जिल्ला प्रहरी परिसर, काठमाडौंका एसपी कुमोध ढुंगेलले बताए । प्रसाईंले शुक्रबार तिनकुनेमा प्रदर्शन गर्ने घोषणा गरेका थिए ।