तिहारपछिको पहिलो कारोबार दिन सुन र चाँदीको मूल्य बढेको छ । मंसिर लागेसँगै विवाहको सिजन पनि सुरु हुँदा सुनको मूल्य बढेको हो ।
शुक्रबार एकैदिन सुनको मूल्य तोलामा २ हजार ३०० रुपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। तिहारअघि २७ कात्तिकमा प्रतितोला १ लाख १३ हजार २०० रुपैयाँमा कारोबार भएको छापावाला सुन शुक्रबार बढेर १ लाख १५ हजार ५०० रुपैयाँ पुगेको छ ।
यस्तै तेजावी सुनको मूल्य पनि तोलाको १ लाख १४ हजार ९५० रुपैयाँ पुगेको हो । २७ कात्तिकमा १ लाख १२ हजार ६५० रुपैयाँमा तेजावी सुनको कारोबार भएको थियो ।
चाँदीको मूल्यमा पनि प्रतितोला ९० रुपैयाँले बढेको छ । २७ कात्तिकमा १ हजार ३६० रुपैयाँ प्रतितोलामा कारोबार भएको चाँदी शुक्रबार १ हजार ४५० रुपैयाँ पुगेको हो ।