काठमाडौं । पछिल्लो समय नेपाली साहित्यमा नयाँ प्रयोग र नयाँ व्यक्तीको प्रवेश भइरहेको छ । नेपाली साहित्यको इतिहास निकै लामो छ । त्यसमा पनि विभिन्न भाषा र समुदायका साहित्यकारहरुको संख्या कम छैन । नेपालमा नेवाः साहित्यको उत्पति र प्रयोग हामीले व्याख्या गरिराख्नु पर्दैन । तर, कुनै समुदाय र भाषामा आधारित साहित्यको उत्थान र विकासमा अहिले पनि राज्य गम्भीर छैन । हामीले कार्यक्रम फल्चा मार्फत नेवाः संस्कृति र नेवाः कलाकारहरुसँग रहेर प्रत्यक्ष कुराकानी गर्दै आएका छौं । लक्ष्मी कुमार महर्जन एउटा साहित्यकारमात्रै नभइ कलाकार र अभियन्ता पनि हुन उनिसँग गरिएको कुराकानीको सम्पादित अंशः प्रस्तुत गरेका छौं ।
हजुरको सानो परिचय हजुरकै मुखबाट सुनौं न ?
मलाई म आफै पनि एउटा परिचय जस्तो लाग्छ, अझ परिचय बनाउन बाँकी छ, त्यसैले आफूलाई परिचयको क्रममा छु भन्नुपर्छ किनभने अरुले चिन्नको लागि एउटा परिचय चाहिन्छ । सायद अहिले त्यही दौरानमा छुँ भन्नुपर्छ । नाम मात्रै सम्पूर्ण चीज होइन परिचय भनेको नामलाई स्थापना गर्ने सबै भन्दाठूलो काम हो । अब भन्नु नै पर्दा मेरो नाम लक्ष्मी कुमार महर्जन, म कीर्तिपुर नगरपालिका वडा नं. १० बसिव टोलमा बस्छु ।
अर्को परिचयको रुपमा भन्नुपर्दाखेरी म आफूलाई एउटा सामाजिक कार्यकर्ता र अभिनेताको रुपमा चिनाउन चाहन्छु । साहित्यिक दौरानमा म एउटा कलाकारको रुपमा अगाडि आउँदा जब म कक्षा १० मा पढ्दा तब अरुले लेखेको साहित्य मलाई अलिकति पनि मन पर्दैनथ्यो, कसैले लेखेको देखें भने पनि च्यातिदिने मान्छे तर पछि जब म कलेजमा गए, त्यसपछि मात्र साहित्यिकमा मेरो अलि रुची बढ्न थाल्यो ।
त्यसपछिको यात्रा चाहिँ मैले ०४८ सालमा प्रज्ञाप्रतिष्ठानमा भएको पहिलो सो अर्थात् नाटक ‘वहे मुलु वहे सुका’ बाट सुरु गरेँ । त्यसपश्चात् मात्र मैले अफ्नो नाटक यात्रा, सहित्यिक यात्रा र चलचित्र यात्रा सुरु थालेँ । सर्वप्रथम यहाँलाई धेरै धेरै बधाई तथा शुभकामना दिन चाहन्छु । भर्खरै मलेसियामा सम्पन्न भएको अन्तर्राष्ट्रिय म्युजिक अवार्डको दोस्रो सिल्भरमा तपाईले हाम्रो नेपाल भाषाकोे ‘व मनु सु मनु’ जुन सबैले मन पराएको म्युजिक भिडियोबाट वेष्ट मेल अवार्ड प्राप्त गर्नुभयो । त्यहाँ गएर अवार्ड पाइसकेपछि कस्तो महसुस गरिराख्नुभएको छ ।
यसको लागि सबैभन्दा पहिले म मेरा सम्पूर्ण दर्शक महानुभावहरुलाई आभार व्यक्त गर्न चाहन्छु । उहाँहरुको मायाले नै पाएको चीज हो मैले त्यो अवार्ड । त्यतिबेला कुरा सुनाउनुपर्दा मलेसियामा २४ गते हाम्रो उडान थियो भने त्यो भन्दा ३ दिन अगाडि २० गतेबाट नै म बिरामी परेको थिएँ । २४ गतेको १ बजे भने हामी एयरपोर्ट पुग्नुपर्ने थियो तर म २३ गते राती सम्म अस्पतालमै थिएँ, स्लाइनको इन्जेक्सन मेरो हातमै थियो । त्योबेला सम्म पनि डाक्टरहरुले मलाई तपाई अझै ४–५ दिन बस्नुपर्छ भनेर रोक्न खोज्नु भएको थियो तर मलाई छनोटमा पारेर तपाईले अवार्ड पाउंदै हुनुहुन्छ भनेपछि मभित्र यस्तो खुलडुली भइरहेको थियो कि जीवनमा पहिलो चोटी मैले अन्तर्राष्ट्रिय रुपमा त्यो अवार्ड पाउन लागि रहेको छु भनेर । मैले गरेको कामको मूल्याङ्कन हरेक क्षेत्रबाट भईरहेको समयमा त्यो पनि देशबाट बाहिर त्यसरी अवार्ड प्राप्त गर्दैछु भनेपछि त झन् ममा खुसीको सीमा नै थिएन ।
त्यो बेला ३ दिनसम्म थला परेको मान्छे ४ दिनमा डाक्टरलाई भनेर मैले मिल्छ भने डबल डोज दिनुस् हुँदैन भने स्लाईनमैं राखीदिनुस् म त्यहीँ गएर भएपनि एन्टिबायोटिक खान्छु, म जान्छु भनेर हस्पिटलबाट निस्केर पाँचौ दिनमा म यहाँबाट थाईल्याण्ड गए र थाईल्याण्डमा हामी दुई दिन बसिसकेपछि फेरी दुई दिन सिंगापुरमा बस्यौं । र भोलीपल्ट हामी मलेसिया पुग्यौं । त्यसपछि जब कार्यक्रममा अवार्डको लागि मलाई नाम लिएर बोलाउनुभयो, त्यो त झन् बैग्लै खुसीको अनुभव थियो, किनकि एउटा कलाकार जुनसुकै भाषा, क्षेत्र र संस्कृतिको भएपनि कलाकार, कलाकार नै हो । त्यहाँ म एउटा नेवार कलाकार मात्र नभएर एउटा नेपाली कलाकारको हिसाबले पनि अन्तर्राष्ट्रिय वेष्ट मोडल अवार्ड पाउनु आफैमा पनि ठूलो विषय थियो र त्यो क्षण मेरा लागि अविस्मणीय पनि बनिदियो । त्यो अवार्ड पाईसकेपछि अब चाहिँ म कलाकार हुँ भन्ने महशुस भयो र यस क्षेत्रमै केही गर्नुपर्छ भन्ने कुराको झन् दायित्व बोध भयो ।
अवार्डको विषयमा मान्छेको भनाई यो पनि छ कि जसले आयोजकलाई पैसा दिन्छ, उनीहरुले पनि पहिल्यै तय गरेर त्यसैलाई अवार्ड पारिदिन्छ, यो कुरा कत्तिको साँचो हो । मलाई चाहिँ त्यस्तो लाग्दैन किनकि उहाँहरुले पहिला मलाई नोमिनेशनको फाराम भर्न लगाउनु भएको थियो । त्यो फाराममा सबै गरेर लगभग २२÷२३ वटा जति क्याटागोरी थियो । पछि त्यो फाराम सबै ज्युरी सदस्य सबैले चेक गरेपछि मात्र सेलेक्ट भएको र मलाई पासपोर्ट पनि दिनुस् भन्नुभयो ।
तीन दिन भित्रमा उहाँहरुले पासपोर्ट कलेक्शन गर्नुभयो र २४ गते जाने भन्ने तय भयो तर आयोजकहरुले भने टिकट फेयर अर्थात् आउने, जाने खर्च चाहिँ तपाईहरु आफैले गर्नुपर्छ, बाँकी सबै आयोजकले नै गर्ने बताउनुभयो । तर मैले भनेको थिएं कि हामी अवार्डेड मान्छे पनि कहाँ त्यसरी पैसा तिरेर जान्छ, त्यसरी त जान्न भनेर भन्दा उहाँहरुले पनि हामीले मात्र कहाँ त्यता गएर विजनेश गर्ने हो र! तपाईहरुलाई नै प्रमोशन गर्ने हो, नेपाली गीत–संगीत र कलाकारलाई नै प्रमोशन गर्ने हो, तपाईहरुको पनि एउटा आयोजकको रुपमा केही भूमिका निर्वाह हुन्छ भन्नुभयो । र मैले त्यसैको लागि हो भने ठीक छ तर मैले पैसा दिएर मात्रै त्यो अवार्ड पाईन्छ भने त्यसको मलाई आवश्यकता पर्दैन भनेको थिएँ । वास्तवमा उहाँहरुको कुरा पनि सहि लाग्यो त्यहाँको होटल, बसाई, खाना सबै महंगो पछर्, त्यही भएर पनि त्यस्तो गरेको हुनुपर्छ ।
पछिल्लो समय तपाई केमा व्यस्त हुनुहुन्छ, दिनचर्या कसरी बितिरहेको छ ?
म एक सामाजिक अभियन्ता हुँ, र म आफूलाई सामाजिक अभियन्ता पनि भन्न रुचाउँछु, त्यसैलै मेरो अधिकांश गतिविधि समाज सेवामै बितिरहेको हुन्छ । समाजलाई कसरी परिवर्तन गर्ने र त्यहाँ भएका विकृति विसंगति कसरी हटाउने भन्ने विषयमा मेरो धेरैजसो ध्यान गईरहेको हुन्छ । यसका साथै म सहकारीको अध्यक्ष र विभिन्न संघ–संस्थाहरुमा पनि संलग्न भएको कारणले गर्दापनि त्यहाँ भईरहने गतिविधिहरुमा साथ दिईरहेको हुन्छु ।
म वर्तमान समयलाई विश्वास गर्ने मान्छे हँु । त्यसैले म सकेसम्म हाँसीहाँसी, रमाईलो गरी कामहरु गरिरहेको हुन्छु । मान्छेहरु मलाई तिमी त १० मिनेटसम्म पनि चुप लागेर या आरामले बसेको देखेको छैन भन्नुहुन्छ तर जिवनप्रतिको मेरो बुझाई भनेकै वर्तमानमा जे छ त्यसमैं मान्छे हाँस्न, बाँच्न र रमाउन सिक्नुपर्छ भन्ने हो । जसले जीवनमा हाँस्न र हँसाउन जानेको हुन्छ, त्यसको जीवनको ठूलो उपलब्धी भनेकै त्यही हो । र यही नै जीवनको सिद्धान्त हो जस्तो मलाई लाग्छ ।
तपाई हरेक क्षेत्र या भनौं समाजको हरेक क्रियाकलापमा संलग्न भईरहेको हुन्छ, अहिले यो अवस्थामा आएर बाल्यकाललाई सम्झनुपर्दा कसरी सम्झनुहुन्छ ?
जिन्दगीको फ्लास ब्याकमा जानुपर्दा मलाई धेरै रुन आउँछ, किनकि मेरो ठूलो परिवार छ, जसमा अभिभावकसहित हामी सात जना दाजुभाई र दिदीबहिनीहरु छौं । हामीलाई खान लाउन त ठीकै थियो, घरजमिन नभएको पनि होईन तर मेरो बुबा समाजको लागि केही गर्नुपर्छ भन्ने खालको एक कट्टर समाजसेवी भएका कारण विभिन्न ठाउँमा अरुलाई जग्गा कमाउन दिनुभयो, जसमा ३४ रोपनी जग्गा मात्रै त्रिभुवन विश्वविद्यालयलाई परेको, र कतिलाई ७ रोपनी जग्गामा काम गर्न दिएको र पछि फिर्ता नलिएको भन्ने कुरा बुबाले हामीलाई सुनाउनुहुन्थ्यो । यसरी श्रीसम्पत्ति भएर पनि हामीले त्यसको उपभोग गर्न पाएनौं, त्यहि भएर पैसा अभावका कारण स्कूलको पढाई समेत त्यसबेला मैले बीचमा तीन वर्ष जति छोड्नुपर्ने अवस्था आएको थियो । जबकी त्यतिबेला पढाई मेरो एकदम राम्रो थियो । त्यसपछि मैले सानै उमेरमा भए पनि विदेशी पर्यटक घुमाउन काम गर्न थालें । मलाई अहिले पनि स्मरण छ कि बाल्यकालमा मैले प्वाल परेको पाईन्ट लगाएर हिँडेको थिएँ, चुटेको चप्पल समेत कि त आगोले बाँधेर कि त धागोले बाँधेर लगाउने गर्दथे, छर–छिमेकीबाट पनि अपहेलना सहनुपथ्र्यो । सायद हामी धेरै सन्तान भएकाले पनि होला हाम्रो बाल्यकाल धेरैजसो अभावमा नै बित्यो ।
हजुरले नेपाल भाषाको म्युजिक भिडियो कति वटा खेल्नुभयो र त्यसमध्ये आफूलाई मन पर्ने म्युजिक भिडियो कुन चाहिँ हो ?
मलाई सबैभन्दा राम्रो लाग्ने भिडियो भनेको ‘व मनु सु मनु’ नै हो । एकजना पात्रको जिउँदो पात्र, जो अहिले बितिसक्नु भएको छ, जसलाई मैले १५ दिनसम्म उनको बारेमा के गछर्, कस्तो गछर्, कसरी हिँड्छ, कसरी खान्छ र कसरी बोल्छ सबै अध्ययन गरेपछि मात्र त्यसलाई नक्कलमा आफूलाई उभ्याउन सफल भएँ र त्यो म्युजिक भिडियो उत्कृष्ट रुपमा प्रस्तुत भयो जसमा रजीन महर्जनको परिकल्पना छ, भुवन महर्जनको लेखाइ छ, संगित छ, सुरेन्द्रको कम्पोजिसन छ, गायककारको जुन स्वर छ, ति सबै एउटा टिमको सहभागिताले गर्दा राम्रो म्युजिक भिडियो बन्न सफल भएको छ । त्यसमा हरेक मान्छेले ‘व मनु सु मनु’ गीत कति राम्रो छ भन्दा मलाई धेरै खुसी लाग्छ, आफूले पनि राम्रो गरेको जस्तो लाग्छ । यसमा सबै टिमको नै उत्तिकै भूमिका छ ।
तपाईंले यस कलाकारिता क्षेत्रमा लागेर के पाउनु भयो र के गुमाउनु भयो ?
मैले गुमाएको भने केहीपनि छैन तर, पाएको भने धेरै नै छ । सबैभन्दा पहिले हामीले पाउने भनेको दर्शकको माया नै हो, त्यो नै हाम्रो प्राप्ति हो, पुरस्कार त्यही हो । र गुमाउने कुरामा चाहिँ आफूमा भएका नराम्रा चीज गुमाएँ जस्तो लाग्छ । यदि हामीभित्र नराम्रा कसरा छ भने त्यस्तो चीजलाई त्याग गर्नु नै सबैभन्दा उचित हो जस्तो मलाई लाग्छ ।