Friday, November 22, 2024

२०८१ मंसिर ७, शुक्रबार

विजनेस दर्शन || Online Portal

काठमाडौं ।

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । काठमाडौं ।

Call: फोन नं. 9828136583

[email protected]

आयल निगमले टेकुमा अत्याधुनिक प्रविधिको पेट्रोल पम्प निर्माण गर्दै


आयल निगमले  टेकुमा अत्याधुनिक प्रविधिको पेट्रोल पम्प निर्माण गर्दै

काठमाडौं, भदौ १८। नेपाल आयल निगमले टेकुमा अत्याधुनिक प्रविधिसहितको पेट्रोल पम्प निर्माण प्रक्रिया बढाउन लागेको छ । काठमाडौँको टेकु स्थित साबिकको नेसनल ट्रेडिङको पेट्रोल पम्पलाई स्तरोन्नति गरेर आधुनिक प्रविधिसहितको नयाँ पम्प बनाउन लागेको हो । आठ रोपनी जग्गामा आठ करोड ५० लाख रुपैयाँ लागतमा अत्याधुनिक प्रविधिसहितको नयाँ पम्प निर्माण गर्न लागिएको निगमले बताएको छ । उपत्यकामा निजीस्तरबाट पम्प स्थापना भए पनि निगमको आफ्नो पम्प थिएन । निगम आफैँले पम्प सञ्चालन गर्दा बन्द हडतालका बेलासमेत नियमित रूपमा सञ्चालन हुुँदा उपभोक्तालाई सहज हुने बताइएको छ ।

स्थापना भएका निजी पम्पहरू समेत मापदण्ड पूरा गरेका छैनन् । निगमकै कर्मचारीको मिलेमतोमा यसरी मापदण्ड पूरा नगरी पम्पहरू सञ्चालन गर्न दिँदा पेट्रोल पम्प दुर्घटनाको एउटा कारक बन्ने अध्यनहरुले देखाएको छ । निगमले पम्प निर्माणका लागि विद्युुत् प्राधिकरण, सडक विभाग, महानगरीय प्रहरीबाट स्वीकृत लिइसकेको र काठमाडौँ महानगरबाट स्वीकृति प्राप्त गरेपछि केही दिनमै निर्माण प्रक्रिया अगाडि बढाइने उनले दिए । अन्य प्रक्रिया सबै सम्पन्न भएकाले महानगरमा स्वीकृतिका लागि पठाएकाले स्वीकृत हुनासाथ निर्माण कार्य अगाडि बढ्ने उनले बताए । पेट्रोल पम्पबाट हुन सक्ने सम्भावित जोखिमलाई न्यूनीकरण गर्न हालसम्मकै उच्च सुरक्षा सतर्कता अपनाउने गरी पम्प निर्माण गर्न लागिएको निगमले बताएको छ।

पम्प निर्माणको जिम्मा गोपिनी गङ्गा एमसी कन्स्ट्रक्सन कम्पनीले पाएको छ । यहाँ आगो निभाउन पानी र केमिकल मिश्रित फोमको प्रबन्ध गरिने बताइएको छ। यसले आगोलाई माथिबाट छोप्ने गर्छ र तुरुन्तै आगलागी नियन्त्रण हुन्छ । मेसिनबाट ग्राहक आफैँले तेल भर्न सक्ने सुविधासहितको पम्प नेपालमा पहिलो पटक स्थापना गर्न लागिएको हो । पम्पमा भ्यापर रिकभरी सिस्टम (भिआरएस) राखिने हुँदा यसका कारण ट्याङ्करको तेल अन्डर ट्याङ्कीमा खसाल्ने क्रममा हावामा मिसिन पाउँदैन ।

यसबाट चुहावट नियन्त्रण गर्न मद्दत मिल्छ भने तेल हावामा मिसिन नपाई वातावरण संरक्षणमा समेत सघाउ पुग्ने बन्जराले बताए। पम्पमा भिआरएस, हाइड्रेन्ड, कार्ड स्वाप सिस्टम जडान नेपालमै पहिलो पटक गर्न लागिएको उनको त्यस्तै ट्याङ्करमा ल्याएको तेल पम्पको भूमिगत ट्याङ्कीमा खसाल्दा र डिस्पेन्सिङ मेसिनबाट सवारीसाधनमा भर्दासमेत पेट्रोल, डिजेल उडेर हावामा मिसिन नदिने प्रणालीसमेत यो पम्पमा जडान हुन लागेको उनले बताए।

पम्पमा पेट्रोल र डिजेलका दुई÷दुई वटा डिस्पेन्सिङ मेसिन र डिजेल पेट्रोलका चार÷चार गरेर आठ वटा नोजल रहनेछन् । पम्पमा ४० हजार लिटर क्षमताको पानीको भण्डार राखिनेछ । भूमिगत ट्याङ्कीमा ४५ हजार लिटर डिजेल अटाउने तीन वटा ट्याङ्की ६० हजार लिटर पेट्रोल अटाउने तीन वटा ट्याङ्की हुनेछन् । २४ घण्टा पम्प खुला हुने हुँदा बिजुलीको विकल्पमा सोलारसमेत जडान गरिनेछ । निगमले भैरहवा र नेपालगन्जमा आफ्नो स्वामित्वमा पम्प निर्माण गरेर सञ्चालनमा ल्याएको छ ।

उपत्यकामा साझा सहकारी संस्था, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, नेपाली सेनाका गरी १२ वटा पम्प सञ्चालनमा छन् । उपत्यकामा निजी क्षेत्रबाट तीन सय पम्प सञ्चालनमा छन् । मुलुकभर निजी क्षेत्रबाट एक हजार पाँच सय पेट्रोल पम्प सञ्चालनमा छन् । उपत्यकामा मात्र दैनिक छ लाख ५० हजार लिटर पेट्रोल र १० लाख लिटर डिजेल खपत हुने गर्छ ।