काठमाडौं,२४ असार । आर्थिक बर्ष सकिनै लाग्दा गाईभैँसीमा फैलिएको लम्पी स्किन रोगको महामारीका कारण सरकारले सवा एक खर्ब रुपैयाँभन्दा बढीको क्षति बेहोर्ने भएको छ । ७६ जिल्लामा फैलिसकेको सो रोगबाट पशु चौपायको मृत्यु हुने क्रम बढ्ने भएपछि सो रकम बेहोर्ने भएको हो ।
समयमै उपचार, नियन्त्रण तथा रोकथाम गर्न नसकेको अवस्थामा करिब २५ लाख २६,००० पशुमा सङ्क्रमण फैलिने र एक लाख गाईभैँसी मर्ने अनि झन्डै एक खर्ब २६ अर्ब रुपैयाँ बराबरको आर्थिक क्षति हुने देखिएको एक अध्ययनको निष्कर्ष छ । यो रकम नेपालको आर्थिक वर्ष २०८०/०८१ को कुल बजेटको करिब ७.२ प्रतिशत हुन आउने परिषद्ले उल्लेख गरेको छ । विज्ञका अनुसार सुरुमै प्रभावकारी कदम चालिएको भए क्षति कम हुने आकलन गर्छन् । पशुचिकित्सा परिषद्का अनुसार लम्पी स्किन महामारीबाट अहिलेसम्म २७ अर्ब २२ करोड ५० लाख रुपैयाँ बराबरको क्षति भइसकेको अनुमान छ ।
आर्थिक वर्ष २०७७/०७८ मा आठ जिल्लाका ११ वटा पालिकामा देखिएको लम्पी स्किन रोग २०७८÷०७९ मा नौं जिल्लाका १९ पालिकामा विस्तार भएको पाइयो । त्यसपछि २०७९/०८० मा खासै नदेखिए पनि अहिले सातवटा प्रदेशका ७६ वटा जिल्लामा लम्पी स्किन रोगको महामारी फैलिएको विभागले जनाएको छ । सुरुतिर तराई र मध्यपहाडका जिल्लामा लम्पी स्किन रोगको सङ्क्रमण देखिएकोमा अहिले उच्च पहाडी तथा हिमाली क्षेत्रमा समेत फैलिसकेको छ । विभागको पछिल्लो तथ्याङ्क अनुसार लम्पी स्किन रोगबाट अहिलेसम्म सात लाख नौ हजार २०३ वटा गाईभैँसी सङ्क्रमित भएका छन् । सङ्क्रमित गाईभैँसीमध्ये २५,७८२ वटा मरेको र चार लाख ५३ हजार ८१९ वटा निको भएका तथ्याङ्क छ ।
हाल दुई लाख २९,६०२ वटा पशु सक्रिय सङ्क्रमित छन् र सङ्क्रमणको दर क्रमशः घट्दै गएको विभागको भनाई छ । यो रोगको प्रभावकारी उपचार छैन । त्यसैले रोग लाग्न नदिनु नै उत्तम उपाय भएको पशु चिकित्सकहरू बताउँछन् । भाइरसको प्रकृतिअनुसार १० देखि १५ दिनमा यो रोग निको हुन्छ । हालसम्म १० लाख ३७,००० मात्रा खोप आयात गरिएकोमा एक लाख ८० हजार ९२२ वटा गाईभैँसीलाई खोप लगाइएको विभागले जनाएको छ ।