काठमाडौं । सर्लाहीको बरहथवा नगरपालिका परिसर तनावग्रस्त बनेको छ । नगरपालिकामा रहेको नगर अस्पताल मधेस प्रदेशलाई हस्तान्तरण गर्ने कि नगर्ने भन्ने विषयमा विवाद हुँदै आएको र उक्त विवादलाई समाधान गर्न डाकिएको सर्वदलीय बैठक स्थगित भएपछि झडपको स्थिति सिर्जना भएको हो ।
विवाद बढेपछि नगरपालिकाले सूचना जारी गर्दै बैठक स्थगित गरेको थियो । नगरपालिका प्रमुख कल्पनाकुमारी कटुवालका अनुसार १५ शय्याको नगर अस्पताललाई ५० शय्याको बनाउने सहमति गर्दै मधेश प्रदेशलाई हस्तान्तरण गर्ने कि नगर्ने भन्ने विषयमा विवाद हुँदै आएको थियो । यसलाई समाधान गर्न आज सर्वदलीय बैठक डाकिएको थियो ।
उनले भनिन्, आज सर्वदलीय बैठक आव्हान गरिएको तर शान्तिपूर्ण रुपमा सर्वदलिय बैठक बसी समस्याको निकास निकाल्न भने पनि पाँच राजनीतिक दलहरुले संयुक्त विज्ञप्ती मार्फत सर्वदलीय बैठकलाई प्रभावित पार्न खोजियो । बैठक बस्न नसक्ने भएपछि हामीले सूचना निकाल्यौं, त्यसपछि पाँच दलले बजार, सार्वजनिक यातायात लगायत सम्पूर्ण संघ संस्थाहरु बन्द गर्ने निर्णय गर्दै आन्दोलन सुरु गर्नुभयो ।
उनले आन्दोलनका क्रममा आन्दोलनकारीले नगरपालिका कार्यालयमा ढुंगामुढा गरेको बताइन् । उनले भनिन्, नगरपालिका कार्यालयमा छलफल सुरु हुनेबित्तिकै बाहिर आन्दोलन सुरु भयो । ढुंगामुढा गरियो । अहिले हामी नगर कार्यालयभित्रै थुनिएको अवस्था छ । आन्दोलनकारीले नगर प्रमुखको घरमा तोडफोड र एउटा गाडीमा आगजनी गरेको कटुवालले बताइन् ।