Sunday, November 24, 2024

२०८१ मंसिर ९, आईतवार

विजनेस दर्शन || Online Portal

काठमाडौं ।

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । काठमाडौं ।

Call: फोन नं. 9828136583

[email protected]

भारतद्धारा थप १८० मेगावाट विद्युत् किन्न स्वीकृति प्रदान, आजैबाट लागुहुँदै


भारतद्धारा थप १८० मेगावाट विद्युत् किन्न स्वीकृति प्रदान, आजैबाट लागुहुँदै

काठमाडौं । नेपालबाट भारतले थप १८० मेगावाट विद्युत् किन्नका लागि स्वीकृति प्रदान गरेको छ । नेपाल विद्युत् प्राधिकरणका अनुसार बुधबारदेखि भारतले थप १८० मेगावाट विद्युत् किन्नेगरी प्रस्ताव स्वीकृत गरेको हो ।

सोलु दूधकोसी, दोर्दीखोला, अपर चमेलिया र अपर कालंगाढ आयोजनाको विद्युत् पनि भारत निर्यात हुने भएको प्राधिकरणका विद्युत् व्यापार विभागका निर्देशक प्रवल अधिकारीले जानकारी दिए । ‘हाम्रो तर्फबाट प्रक्रिया पूरा भएमा बुधबार राति १२ बजेदेखि नै यी आयोजनाको विद्युत् भारत निर्यात हुनेछ’ उनले भने । नेपालले भारतीय बजारमा हाल ४५१.७ मेगावाट बिजुली बिक्री गरिरहेको छ ।

१८० मेगावाट थप भएसँगै अब ६३१.७ मेगावाट विद्युत् भारत निर्यात हुनेछ । भारतको मन्त्रिपरिषद बैठकले १० वर्षमा नेपालबाट १० हजार मेगावाट विद्युत् खरिद गर्ने निर्णय पनि पारित गरेको छ । भारतको खुला बजारमा बिक्री गरिरहेको बिजुलीमा प्राधिकरणले हाल उच्च मूल्य पाउन थालेको छ । नेपाली बिजुली प्रतियुनिट भारु १० (१६ रुपैयाँ) सम्ममा बिक्री हुन थालेको प्राधिकरणले जनाएको छ । भारतमा गर्मी बढेका कारण विद्युत् माग उच्च हुँदा औसत प्रतियुनिट भारु १० सम्म मूल्य पाएको हो ।

प्राधिकरणले ०७८ कात्तिकदेखि भारतमा बिजुली निर्यात गर्दै आएको छ । पहिलो पटक दुई वटा जलविद्युत् आयोजनाबाट उत्पादित ३९ मेगावाट विद्युत् बिक्री सुरु गरेको थियो । ०७९ जेठमा थप ६ वटा आयोजनाको ३६४ मेगावाट बिजुली भारतीय बजारमा प्रतिस्पर्धी दरमा बिक्रीको अनुमति पाएको थियो ।

०७९ कात्तिकमा थप दुई जलविद्युत् आयोजना निर्यातको स्वीकृति पाएको हो । यसअघि भारतमा बिक्रीका लागि अनुमति पाएका आयोजनामा प्राधिकरणले निर्माण गरेको २३.२८ मेगावाटको त्रिशूली जलविद्युत्, १४.५५ मेगावाटको देवीघाट, चिलिमे जलविद्युत् कम्पनीले बनाएको २१.४४ मेगावाटको चिलिमे जलविद्युत् र माथिल्लो सोलु जलविद्युत् कम्पनीको २२.८ मेगावाटको सोलुखोला, प्राधिकरणले निर्माण गरेका ६७ मेगावाटको मर्स्याङ्दी, १४० मेगावाटको कालीगण्डकी ए, ६८ मेगावाटको मध्यमर्स्याङ्दी र ग्रिन भेन्चर प्रालिले बनाएको ५१ मेगावाटको लिखु–४, २४.२५ मेगावाटको काबेली बी–१ र १९.४ मेगावाटको तल्लो मोदीको बिजुली भारतीय बजारमा बिक्री गर्न अनुमति दिएको छ ।