एजेन्सी । अबको डेढ वर्षमा चीनमा १ अर्ब फाइभ जी प्रयोगकर्ता हुने प्रक्षेपण गरिएको छ । बुधबारबाट सुरु भएको एसियाको सबैभन्दा ठूलो प्रविधि प्रदर्शनी मोबाइल वर्ल्ड कंग्रेस २०२३ मा सहभागी विज्ञहरूले चीनको फाइभ जी विकासप्रति प्रसंसा गरेका थिए । औद्योगिक क्षेत्रमा फाइभ जीका विविध एप्लिकेसन बढाउँदै गर्दा चीनले आगामी पुस्ताको दूरसञ्चार प्रविधिमा पनि आफ्नो पकड जमाउन सिक्स जीमाथि वृहत् अध्ययन र अनुसन्धान थाल्ने बताएको छ । चाइना एकेडेमी अफ इन्फरमेसन एन्ड कम्युनिकेसनको तथ्यांकअनुसार हाल सर्वाधिक २८ लाख ४० हजार फाइभ जी बेस स्टेसन स्थापना गरेर चीनले हरेक प्रान्तमा फाइभ जी सिग्नल पुर्याइसकेको छ ।
चीनको उद्योग तथा सूचना प्रविधि मन्त्रालयका प्रमुख इन्जिनियर झाव झिगुओले माइनिङ र विद्युतीय ऊर्जाजस्ता क्षेत्रमा फाइभ जी प्रविधि समाहित गर्ने विषयमा थप पहल आवश्यक रहेको बताएका छन् । मोबाइल कंग्रेस समारोहको उद्घाटन सत्रमा बोल्दै ग्लोबल सिस्टम फर मोबाइल कम्युनिकेसन्स अलायन्सका महानिर्देशक म्याट्स ग्रयान्रीडले सांघाई चीनको प्रविधि केन्द्र भएको बताएका थिए ।
समारोहका विभिन्न सत्रमा चीनका प्रमुख दूरसञ्चार सेवा प्रदायक र प्रविधि उद्यमीहरूले सिक्स जीजस्ता आगामी पुस्ताका प्रविधि विकासलाई आवश्यक सैद्धान्तिक अनुसन्धान, परिस्थितिअनुरुपका एप्लिकेसन विकासका लागि विश्वव्यापी मापदण्ड बनाउन आफूहरूले अन्तरदेशीय सहकार्य खोजिरहेको भनाइ राखेका थिए । ‘हाम्रो कम्पनीले सिक्स जीमा अनुसन्धान र प्रयोगहरू गर्नेछ,’ चाइना युनिकमका उप महाप्रबन्धक लियाङ बाओजुनले भने, ‘साथै, सिक्स जी नेटवर्कका मानकहरू स्थापना गर्न हामीलाई साझेदारहरूको पनि साथ चाहिन्छ ।’
अन्तर्राष्ट्रिय दूरसञ्चार संघ (आईटीयू)ले यही महिनाको सुरुवातमा सिक्स जीको विश्वव्यापी प्रयोजनका लागि आवश्यक दस्तावेज ुसिक्स जी भिजन फ्रेमवर्कु अनुमोदन गरेको थियो । फ्रेमवर्क अनुमोदनको सो कार्यले आगामी पुस्ताको वायरलेस प्रविधि विकास शुभारम्भ गरेको विज्ञहरूले बताएका थिए । फाइभ जी प्रयोग गर्ने तीन वटा स्वीकृत अवस्था बढाएर सिक्स जी सेवा ६ प्रमुख अवस्थामा प्रयोग गर्न मिल्ने विषय फ्रेमवर्कमा समावेश छ । आईटीयूका अनुसार सिक्स जीको एक प्रमुख विशेषता भनेको यसले भूउपग्रहजस्ता गैरस्थानीय ९ननटेरेस्ट्रियल० प्रविधिसँग स्थानीय ९टेरेस्ट्रियल० नेटवर्कको अन्तरक्रिया सम्भव गराउँछ ।