काठमाडौँ — नेपालको मुख्य एजेन्डामा रहेका हवाई रुट विस्तार र पञ्चेश्वर बहुद्देश्यीय परियोजनाको महाकालीको पानी बाँडफाँटको विषयमा नेपाल र भारतबीच सम्झौता हुन सकेन ।
प्रधानमन्त्री पुष्पकमल दाहालको भारत भ्रमणका क्रममा बुहप्रतिक्षित रहेको हवाई रुट विस्तार र पञ्चेश्वर बहुद्देश्यीय परियोजनामा महाकालीको पानी बाँडफाँटको ठोस सहमति हुन सकेन ।
सो विषयमा भारत सहमतिमा आउन नसकेपछि अन्य ७ वटा विषयमा मात्र सम्झौता सीमित भएको छ ।
नेपालले महेन्द्रनगरबाट हवाई रुट मागेको थियो । तर यसमा ठोस सहमति संकेत भने देखिएन । त्यस्तै पञ्चेश्वर परियोजनाको पनि टुंगो लगाउनुपर्ने माग थियो । प्रधानमन्त्री पुष्पकमल दाहालले पत्रकार सम्मेलनमा आफ्नो मन्तव्य राख्ने क्रममा यी विषयमा भारत सकारात्मक रहेको तर ठोस सहमति भएको चाहिँ सार्वजनिक भएन । ‘नेपालले थप एयर रुटका लागि पनि आग्रह गरेको थियो । एटीआर विमानका लागि द्वीपक्षीय फ्लाइटका लागि भारतले दिएको सकारात्मक संकेतलाई नेपालले स्वागत गरेको छ,’ प्रधानमन्त्री दाहालले पत्रकार सम्मेलनमा भने । प्रधानमन्त्री दाहालले भैरहवालगायतका विमानस्थलबाट भारतका नजिकका सहरमा जाने एटीआर उडानका लागि भारत सकारात्मक रहेको बताए ।
पञ्चेश्वर नेपालले सम्झाइरहने तर भारतले भने बिर्सिइरहने परियोजना योजना हो । यसअघि तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवाले पनि भारत भ्रमणका क्रममा यस परियोजनाबारे समकक्षी नरेन्द्र मोदीसँग कुरा गरेका थिए । यस विषयमा मोदीले आपसी सहयोगमा पञ्चेश्वर परियोजनामा तीव्र गतिले अघि बढ्ने र त्यसको महत्त्वमा जोड दिने भनाई राखेका थिए । तर सो कुरा भनाई मात्र सीमित रहे ।
नेपाल र भारतका प्रधानमन्त्री एक–अर्काको देशको भ्रमणमा जाँदा हरेक पटक पञ्चेश्वरको विषय उठाइन्छ । तर, भारत भने पञ्चेश्वर परियोजनामा नेपाल–भारतबीच पानीको भोगचलन र लाभका आधारमा लगानीसहित १२६ विषयमा विमति देखिएको छ ।