Saturday, November 23, 2024

२०८१ मंसिर ८, शनिबार

विजनेस दर्शन || Online Portal

काठमाडौं ।

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । काठमाडौं ।

Call: फोन नं. 9828136583

[email protected]

मौद्रिक नीति मार्फत घर—जग्गा कारोबारलाई खुकुलो बनाउँदै राष्ट्र बैंक


मौद्रिक नीति मार्फत घर—जग्गा कारोबारलाई खुकुलो बनाउँदै राष्ट्र बैंक

काठमाडौं,२८ असार । देशको आधा अर्थतन्त्रको हिस्सा वैदेशीक रोजगारीमा गएकाहरुले पठाउने गरेको रेमिट्यान्समा निर्भर छ । तर, पछिल्लो समय विदेशमा नेपालमा होण्डीबाट रकम पठाउदा देशको अर्थतन्त्रमा प्रभाव नपरेको होइन । त्यसै देशको अर्थतन्त्रमा घर—जग्गा कारोबार पनि एउटा हिस्सा बन्दै गर्दा सरकारको संकुचीत नीतिका कारण अहिले ठप्प छ । केहि समय अघि कित्ता काटको व्यवस्था भएपनि प्रभावकारी हुन नसक्दा त्यसले निरन्तरता पाउन नसकेको अबस्थामा राष्ट्र बैंकले आगामी मौद्रिक नीतिमा घर—जग्गा कारोबारलाई सहयोग पुग्नेगरि नीति ल्याउने विषयमा सकारात्मक देखिएको छ । राष्ट्र बैंकले आगामी आर्थिक वर्ष घरजग्गा क्षेत्रलाई चलायमान बनाउने गरी मौद्रिक नीति ल्याउने तयारीमा जुटेको हो ।

केन्द्रिय बैंकले घरजग्गामा जाने कर्जामा केहि लचकता अपनाउने तयारी गरेको छ । घर जग्गाको मूल्य अत्याधिक बढेको भन्दै कर्जामा कडाई गरेको केन्द्रिय बैंकले आगामी आर्थिक वर्ष उक्त क्षेत्रमा केहि लचक नीति लिने तयारी गरेको हो । घरजग्गा कारोबारमा मन्दी छाउँदा यसले अर्थतन्त्रलाई नै समस्यामा पारेको चर्चा भइरहेको अवस्थामा केन्द्रिय बैंकले उक्त कुरालाई मनन् गरेर लचकता अपनाउन लागेको हो। घरजग्गामा मन्दी छाउँदा निर्माण क्षेत्र समेत चलायमान हुन नसकेको भन्दै निर्माण क्षेत्रलाई चलायमान बनाउन पनि घरजग्गा क्षेत्रलाई खुकुलो बनाउने निष्कर्षमा पुगेको हो। केन्द्रिय बैंकले घरजग्गा क्षेत्रमा जाने कर्जामा गरेको कडाइले पनि कारोबार बढ्न नसकेको व्यवसायीहरुले बताउँदै आएका छन्।

केन्द्रिय बैंकले घरजग्गा कारोबारमा जाने कर्जाको लोन टु भ्यालु रेसियोलाई घटाएर उपत्यकाभित्र ३० प्रतिशत र उपत्यका बाहिर ४० प्रतिशत कायम गरेको छ। अर्कोतर्फ यस क्षेत्रमा जाने कर्जाको जोखिम भारित औसत समेत १५० प्रतिशत पुर्याएको छ। यसले गर्दा जग्गाको कारोबारमा जाने कर्जामा कमी आएको छ। घरजग्गा व्यवसायीहरुले पनि गभर्नर अधिकारीलाई भेटेर लोन टु भ्यालु रेसियो रियल इस्टेट कम्पनीहरुलाई ७० प्रतिशत पुर्याउन माग गरेका छन्। अहिले उद्देश्य नखुलेकाहरुको हकमा लोन टु भ्यालु रेसियो काठमाडौं उपत्यका भित्र ३० र बाहिरको हकमा ४० प्रतिशत छ। यसलाई बढाउनुपर्ने माग व्यवसायीको छ। यस्तै व्यवसायीहरुले अहिले घरजग्गा क्षेत्रमा बैंक तथा वित्तीय संस्थाहरुले कर्जा प्रवाह गर्दा कायम जोखिम भार १५० प्रतिशतलाई घटाएर १०० प्रतिशत कायम गर्न आग्रह गरेका छन्।

केन्द्रिय बैंकले आगामी आर्थिक वर्षको मौद्रिक नीतिबाट लोन टु भ्यालु रेशियोलाई केहि बढाउने तयारी गरेको केन्द्रिय बैंकका एक उच्च अधिकारी बताउँछन्। मौद्रिक नीतिबाट काठमाण्डौ उपत्यकामा लोन टु भ्यालु रेशियो ४० प्रतिशत पुर्याउने तयारी गरिएको बुझिएको छ। नेपाल राष्ट्र बैंकले घरजग्गा क्षेत्रमा जाने कर्जा घटाउन लोन टु भ्यालु रेशियोलाई घटाएको थियो भने जोखिम भार समेत बढाएको थियो। राष्ट्र बैंकले कर्जामा गरेको कडाइकै कारण घरजग्गा क्षेत्रमा मन्दी छाएको चर्चा हुँदै आएको छ। तर सरकारले जग्गाको कित्ताकाट खोल्न नसक्दा त्यसले पनि घरजग्गा क्षेत्रमा ठूलो असर परेको छ। चालु आर्थिक वर्षको सुरुवातदेखि नै घरजगाको कारोबार निकै घटेको छ। एकातिर बैंकिङ्ग प्रणालीमा भएको तरलता अभाव र कर्जामा गरिएको कडाइले घरजग्गाको कारोबारलाई पनि प्रभावित पारेको हो। पछिल्लो केहि महिनायता भने घरजग्गाको कारोबारमा सुधार आएको छ।

घरजग्गामा जाने कर्जामा केन्द्रिय बैंकले कडाई गरे पनि यस क्षेत्रमा आपेक्षा गरिए अनुसार कर्जा भने घट्न सकेको छैन। चालु आर्थिक वर्षको ११ महिनामा रियलस्टेट क्षेत्रमा जाने कर्जा ७.९ प्रतिशतले बढेको छ। यसमा पनि जग्गा गरिद र प्लटिङको लागि जाने कर्जा मात्रै २० प्रतिशतले बढेको केन्द्रिय बैंकको तथ्याङ्कले देखाउँछ। गत आर्थिक वर्षको असार मशान्तसम्ममा ३६ अर्ब २१ करोड रुपैयाँ रहेको यस्तो कर्जा चालु आर्थिक वर्षको जेठसम्ममा ४३ अर्ब ४६ करोड पुगेको छ। राष्ट्र बैंकको कडाइका बाबजुद पनि यस्तो कर्जा बढ्दै गएको देखिन्छ।