Tuesday, November 26, 2024

२०८१ मंसिर ११, मंगलवार

विजनेस दर्शन || Online Portal

काठमाडौं ।

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । काठमाडौं ।

Call: फोन नं. 9828136583

[email protected]

रुसी सेनामा भर्ती गराउन लगेको आरोपमा १२ जनालाई पक्राउ


रुसी सेनामा भर्ती गराउन लगेको आरोपमा १२ जनालाई पक्राउ

काठमाडौं । नेपाली युवालाई द्वन्द्वग्रस्त मुलुक रुसको सेनामा भर्ती गराउने लगेको आरोपमा प्रहरीले १२ जनालाई पक्राउ गरेर सार्वजनिक गरेको छ । जिल्ला प्रहरी परिसर, काठमाडौंले नेपाली युवालाई भारत, यूएई हुँदै रुससम्म पुर्‍याएको आरोपमा उनीहरुलाई पक्राउ गरेको एसएसपी भुपेन्द्र खत्रीले बताए ।

पक्राउ परेकामध्ये सुजाता दाहालको साथबाट २७ र ईश्वर अधिकारीको साथबाट १६ वटा गरेर ४३ वटा राहदानीसमेत प्रहरीले बरामद गरेको छ । प्रहरीका अनुसार, दाहाल पहिले कन्सल्टेन्सी चलाउँथिन् ।

पासपोर्ट बाहकमध्ये कतिपयलाई रुस लैजाने तयारी गिरोहले गरिरहेको एसएसपी खत्रीले बताए । अनुसन्धान अधिकृतहरुका अनुसार, सुजाताले रुस पठाउन भिसा प्रोसेसिङका लागि मात्र आफूले सहयोग गर्ने गरेको बयान दिएकी छन् ।

ईश्वरले पनि इन्कारी बयान दिएका छन् । तर, उनका दाजु भने नेपालीलाई रुस लैजान प्रत्यक्ष संलग्न रहेको खुलेको प्रहरीले बताएको छ । उनको खोजी भइरहेको छ ।

पक्राउ परेकामध्ये उदयपुरको कटारी नगरपालिका–६ का हरिबहादुर विश्वकर्मा प्रकरणका मुख्य आरोपी हुन् । उनी म्यानपावर सञ्चालकसमेत हुन् । काठमाडौं प्रहरीका डीएसपी अंगुर जिसीका अनुसार, उनले दुई पटक गरेर १८ जनालाई रुस पठाएको बयानमा स्वीकारेका छन् ।

प्रहरीका अनुसार हरिबहादुर पूर्वसैनिक समेत हुन् । उनले ५ वर्षअघिदेखि मेनपावर कम्पनी चलाउँदै आएका थिए । उनले नेपाली सुरक्षा निकायका अधिकृतहरुलाई नै समेत प्रलोभन देखाएर रुस पठाएको पाइएको प्रहरीले जनाएको छ । काठमाडौं प्रहरी प्रमुख एसएसपी खत्रीका अनुसार, यो गिरोहले रसियामा राम्रो तलब सुविधा भएको र ग्रिन कार्ड पनि चाँडै पाइने भन्दै सामाजिक सञ्जालमार्फत प्रचार गर्ने गरेको थियो ।