काठमाडौं । भन्सार जाँचपासका लागि चोभार सुक्खा बन्दरगाहमा नयाँ सवारीसाधन आउन थालेका छन् । गत असार १४ गतेदेखि चोभार सुक्खा बन्दरगाहमा भन्सार जाँचपासका लागि नयाँ सवारी साधन आउन थालेकोमा हाल सम्म ४९ वटा आइसकेको नेपाल इन्टरमोडल यातायात विकास समितिका कार्यकारी निर्देशक आशिष गजुरेलले जानकारी दिए । यद्यपि यो संख्या बन्दरगाहको क्षमताभन्दा निकै न्यून हो ।
गजुरेलका अनुसार हालसम्म सांग्रिला मोटर्सको ४४ वटा तथा जीओ अटोमोवाइल्सको ५ वटा गाडी चोभार भन्सार कार्यालयबाट जाँचपास गर्नेगरी भित्रिएका छन् । ती गाडी वीरगञ्ज एकीकृत जाँच चौकीबाट चोभार सुक्खा बन्दरगाहमा ल्याइएको हो । नेपाल इन्टरमोडल यातायात विकास समितिका कार्यकारी निर्देशक गजुरेलले हाल सवारी साधन आउन सहजीकरण गरिएको र गाडी विक्रेताको संघ नाडा अटोमोबाइल एसोसिएसनसँग पनि सहकार्य गरिएकाले बढ्न थालेको बताए । ‘चोभारमा भन्सार प्रक्रिया पूरा गराउन सबै प्रक्रिया व्यवस्थित भएपछि सवारीसाधन चोभार आएका छन्’ उनले भने ‘आगामी दिनमा अझै सवारीसाधन चोभार आउने जानकारी गाडी व्यवसायीले गराएका छन् ।’
यसका साथै अन्य व्यवसायीसँग पनि चोभारमा सामान ल्याउने विषयमा छलफल भइरहेको उनले बताए । चोभार सुक्खा बन्दरगाह भन्सार कार्यालयमा भन्सार जाँचपासको लागि आउने मालवाहक सवारीसाधन तथा नयाँ सवारी साधनका लागि प्रवेश शुल्क निःशुल्क गरिनु, पार्किङ तथा गोदाम शुल्क समेत न्यून गराई सहज गराइएको समितिको दाबी छ । हालसम्म चोभार सुक्खा बन्दरगाहमा १७६ वटा कन्टेनर र ४९ नयाँ गाडी भन्सार जाँचपासको लागि आइसकेका छन् ।
साथै आन्तरिक टर्मिनलमा पनि पार्किङ एवम् गोदाम प्रयोगको लागि आउने व्यवसायीको संख्या बढ्दो क्रममा रहेको समितिको दाबी छ । ‘चोभार सुक्खा बन्दरगाह पूर्ण क्षमतामा चल्न समय केही समय लागे पनि भविष्यमा राम्रोसँग चल्नेछ, फास्ट ट्रयाक संचालनमा आएपछि व्यवसायी यहाँ आकर्षित हुनेछन्’ गजुरेलले भने ।