काठमाडौं । चालु आर्थिक वर्षमा नेपालीले उपभोगमा ५० खर्ब ३६ अर्ब रुपैयाँ खर्चिने भएका छन् । यस वर्षको कुल गार्हस्थ्य उत्पादन (जीडीपी) को अनुपातमा यो ९३.६ प्रतिशत हो । जीडीपीको अनुपात हेर्दा गत आर्थिक वर्षको तुलनामा चालु आर्थिक वर्षमा कुल उपभोग ०.६ प्रतिशत विन्दुले घटेको देखिन्छ । गत आर्थिक वर्षमा नेपालीको कुल उपभोग जीडीपीको अनुपातमा ९४.२ प्रतिशत थियो ।
जीडीपीको अनुपातमा घटे पनि रकमका आधारमा भने कुल उपभोग ८.३ प्रतिशतले बढ्ने सर्वेक्षणको प्रक्षेपण छ । यसले गत वर्षको तुलनामा यस वर्ष नेपालीले उपभोग्य वस्तु तथा सेवामा गर्ने खर्च बढेको देखाउँछ । अघिल्लो वर्षको तुलनामा गत आर्थिक वर्षमा कुल उपभोग १४.१ प्रतिशतले बढेको थियो । गत आर्थिक वर्षमा नेपालीले उपभोगमा ४६ खर्ब ४८ अर्ब रुपैयाँ खर्चिएको राष्ट्रिय तथ्यांक कार्यालयको संशोधित अनुमान छ ।
चालु आर्थिक वर्षमा जीडीपीमा सरकारी क्षेत्रको उपभोगको अनुपात उल्लेख्य रूपमा घटी एक दशकयताकै न्यून हुने अनुमान छ । ‘चालु आर्थिक वर्षमा जीडीपीमा उपभोगको अनुपात सरकारी क्षेत्रको ५.४, निजी क्षेत्रको ८६.३ र गैरनाफामूलक संस्थाको १.८ प्रतिशत रहने अनुमान छ,’ सर्वेक्षणमा भनिएको छ, ‘गत आर्थिक वर्षमा यस्तो अनुपात सरकारी क्षेत्रको ८.५, निजी क्षेत्रको ८३.९ र गैरनाफामूलक क्षेत्र १.८ प्रतिशत थियो ।’ विगत १० वर्षमा यस्तो अनुपात औसत क्रमशः ८.१, ८१.५ र १.६ प्रतिशत थियो ।