Tuesday, June 03, 2025

२०८२ जेष्ठ २१, मंगलवार

विजनेस दर्शन || Online Portal

काठमाडौं ।

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । काठमाडौं ।

Call: फोन नं. 9828136583

[email protected]

साउनमा शोधनान्तर स्थिति ३२ अर्ब ९० करोडले बचतमा, १५ खर्ब ७३ अर्ब रुपैयाँ विदेशी मुद्रा सञ्चिति


साउनमा शोधनान्तर स्थिति ३२ अर्ब ९० करोडले बचतमा, १५ खर्ब ७३ अर्ब रुपैयाँ विदेशी मुद्रा सञ्चिति

काठमाडौं । चालु आर्थिक वर्षको पहिलो महिना साउनमा शोधनान्तर स्थिति ३२ अर्ब ९० करोडले बचतमा देखिएको छ । जबकि गत वर्षको साउनको तुलनामा शोधनान्तर स्थिति १९ अर्ब ७६ करोड घाटामा रहेको थियो । मुलुकबाट बाहिरिने र मुलुकमा भित्रिने रकमको अन्तरलाई शोधनान्तर स्थितिले जनाउँछ ।

मुलुकबाट बाहिरिनेभन्दा भित्रिने रकम बढी हुँदा शोधनान्तर बचतमा जान्छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको चालु आर्थिक वर्षको पहिलो महिनाको वित्तीय प्रतिवेदनअनुसार अमेरिकी डलरमा शोधनान्तर स्थिति २४ करोड ९५ लाख बचतमा देखिएको छ । शोधनान्तर स्थिति बचतमा जाँदा विदेशी मुद्रा सञ्चितिमा पनि सकारात्मक प्रभाव पर्दछ । साउन मसान्तसम्म १५ खर्ब ७३ अर्ब रुपैयाँ बराबर विदेशी मुद्रा सञ्चिति रहेको राष्ट्र बैंकले जनाएको छ ।

असार मसान्तसम्म यस्तो सञ्चिति १५ खर्ब ३९ अर्ब बराबर रहेकोमा साउनमा २.२ प्रतिशतले बढेको हो । अमेरिकी डलरमा मुलुकको सञ्चिति असार मसान्तसम्मको तुलनामा १.२ प्रतिशतले बढेर साउन मसान्तसम्म ११ अर्ब ८५ करोड पुगेको छ ।

कुल विदेशी विनिमय सञ्चितिमध्ये राष्ट्र बैंकमा रहेको सञ्चिति १३ खर्ब ८५ अर्ब रुपैयाँ बराबर छ भने बैंक तथा वित्तीय संस्था (नेपाल राष्ट्र बैंकबाहेक) सँग १ खर्ब ८७ अर्ब ८९ करोड रुपैयाँ बराबर छ । हालको विदेशी विनिमय सञ्चितिले अहिलेकै आयातलाई आधार मान्दा १२.५ महिनाको वस्तु र १०.३ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त रहने राष्ट्र बैंकले जनाएको छ ।