काठमाडौं । सातामा सुनको मूल्य प्रति तोला २१ सय रुपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यो साता प्रति तोला १ लाख १९ हजार ३ सयसम्म पुगेकाले हालसम्मकै उच्च रहेकको महांसंघले जनाएको छ ।
रुस–युक्रेन, इजरायल हमासबिचको द्वन्द्वको प्रभावका कारण लगानीकर्ताहरू सुरक्षित लगानीको खोजीमा सुनतर्फ आकर्षित हुँदा अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य वृद्धि भएको महासंघका महासचिव धर्मसुन्दर बज्राचार्यले बताए । अन्तर्राष्ट्रिय बजारको असर पर्दा नेपाली बजारमा पनि यो साता सुनको मूल्यमा तीन पटकसम्म नयाँ उचाइसहितको रेकर्ड कायम भएको उनले जनाए ।
महासंघका अनुसार आइतबार प्रति तोला १ लाख १६ हजार ९ सय रुपैयाँ थियो । सोमबार छापावाल सुन १ लाख १७ हजार ४ सय, मंगलबार १ लाख १७ हजार ७ सय, बुधबार र बिहीबार १ लाख १९ हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो थियो ।
शुक्रबार १ लाख १९ हजार रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ । यो साता नेपाली बजारमा चाँदीको मूल्यले पनि नयाँ रेकर्ड कायम गरेको छ । साताको पहिलो दिन १ हजार २ सय ७३ रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य साताको अन्तिम कारोबार भएको दिन शुक्रबार १ हजार ३ सय २० रुपैयाँ कायम भएको थियो ।