Thursday, November 21, 2024

२०८१ मंसिर ६, बिहीबार

विजनेस दर्शन || Online Portal

काठमाडौं ।

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । काठमाडौं ।

Call: फोन नं. 9828136583

[email protected]

रवि,छवि र जीवीको ‘कनेक्शन’बारे संसदीय छानविन समितिमा मध्यरातसम्म सोधपुछ

पूर्वडिआईजी जोशीले भनेः यति हल्ला भइसकेपछि पनि जीव...


रवि,छवि र जीवीको ‘कनेक्शन’बारे संसदीय छानविन समितिमा मध्यरातसम्म सोधपुछ

काठमाडौं । सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा संसदीय छानबिन विशेष समितिमा अन्य दिनभन्दा शुक्रबार अलि फरक माहोल थियो । समितिका सभापति सूर्य थापा मिडियाको घेरामा थिए । समितिको सानो छलफल कक्षमा खचाखच भरिएका मिडियाहरु मूख्यगरी राष्ट्रिय स्वतन्त्र पार्टी सभापति, पूर्व उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेको पखाईमा थिए । पटक–पटक सदनमा लामिछानेसँग छलफल गर्नुपर्ने दबावका बीचमा समितिले शुक्रबार समय तय गरेको थियो । सोहि दिन लामिछाने र गोरखा मिडियाका पुर्व उपाध्यक्ष र सञ्चालक छविलाल जोशीलाई पनि छलफलमा बोलाएपछि माहोल थप बढेको थियो ।

मूख्यगरी दुबै जनालाई समितिले मिडिया सञ्चालनका क्रममा विभिन्न सहकारी संस्थाबाट रकम ल्याएर हिनामिना गरेको विषयमा शोधपुछ गर्ने कार्यसूची रहेको थियो । समितिको लामिछानेकालागि भनेर करिब ५१ वटा र जोशीकालागि ३५ वटा प्रश्न तयार रहेको थियो । लामिछानेसँग राती ११ बजेसम्म शोधपुछ भएको थियो । जसको मिडिया र सार्वजनिक वृत्तमा चर्चा भयो । जोशीसँग समितिले करिब ५ घण्टा शोधपुछ गर्यो । बिहान ११ बजे जोशी र २ बजे लामिछानेको भने पनि लामिछानेको शोधपुछ दुई घण्टा पर पुग्यो । कारण थियो, जोशीको शोधपुछ लम्बिनु ।

रविले के भने ?
रवि लामिछानेसँग समितिले गरेको छलफलले थप चर्चा पाइरहेको छ । उनले समितिलाई कुनै पनि सहकारीको रकम हिनामिना गर्नेलाई नछोड्नु भन्दै सुझाए । तर समितिका सदस्यहरुको प्रश्नमा भने, रेडिमेट जस्तो कि, ‘थाहा छैन, जानकारीमा छैन, मेरो भन्नु केही छैन, होइन, संलग्न छैन’ भन्ने जवाफ दोहो¥याएको पाईयो । जसले गर्दा उनलाई दर्जनौं पूरक प्रश्नहरूको सामना गर्नुपर्यो । सदस्यहरूले लामिछानेको नाममा रकम जम्मा भएको भौचर, सीआईबीको अनुसन्धान, बुटवल प्रहरीको प्रतिवेदन र पोखरा महानगरपालिकाको प्रतिवेदन देखाउँदै पूरक प्रश्नहरू सोधेका थिए । रकम, मिति, कैफियत र कानूनको विवरणसहित सोधिएका प्रश्नमा लामिछानेको पुरानै रेडिमेट जवाफ थियो ।

‘सूर्यदर्शन बचत तथा ऋण सहकारी संस्था लि., पोखरा र सुप्रिम बचत तथा ऋण सहकारी संस्था लि. बुटवलबाट रवि लामिछानेको नाममा प्रवाह भएको कर्जा तथा पेश्की रकमहरू तपाईं पूर्वउपप्रधानमन्त्री र गृहमन्त्री एवं प्रतिनिधिसभाको माननीय सदस्य रवि लामिछानेकै नाममा जारी भएको हो र सहकारीमा कायम भएको सदस्यता समेत तपाईंकै भएको भनी भवीश्वर अर्याल, रोशनी गुरुङ, कुमार रम्तेल समेतले खुलाउनुभएको देखिन्छ । तपाईंको नाममा कर्जा खडा भई गोरखा मिडिया नेटवर्क प्रालि.मा रकम गएको देखिन्छ । गोरखा मिडियामा तपाईंबाहेक अर्को रवि लामिछाने पनि रहेको देखिँदैन । तपाईंले अस्वीकार गर्न मिल्छ ?’ भन्दै उनीमाथि प्रश्नहरु खनिएका थिए । करिब ५० हजार सर्वसाधारणले चार सहकारीमा जम्मा गरेको करिब ९६ करोड रुपैयाँ जीतेन्द्रबाबु (जीबी) राई अध्यक्ष र लामिछाने प्रवन्ध निर्देशक रहेको गोरखा मिडियामा सारिएको तथ्य छ । समितिका सभापति सूर्य थापाले सहकारी छानबिन प्रकरणमा सबैभन्दा लामो बयान लामिछानेसँग लिइएको बताए ।


गोर्खा मिडिया नेटवर्कमा आफूले ‘स्वेट सेयर’ मात्रै पाएको र कम्पनीको सम्पूर्ण आर्थिक कारोबार र खर्चको स्रोत व्यवस्थापन जुटाउने काम अध्यक्ष जीबी राईले गरेको उनको जवाफ थियो, यद्यपि सांसदहरूले कुनै कम्पनीको प्रबन्ध निर्देशकको दायित्व र जवाफदेहिता के हुन्छ भनेर पनि सोधेका थिए । कम्पनी रजिस्ट्रारको कार्यालयमा आफैंले हस्ताक्षरसहित पेस गरेको कागजातमा २०७८ वैशाख ५ मा रवि लामिछाने गोर्खा मिडिया नेटवर्क प्रालिको प्रबन्ध निर्देशक थिए । कम्पनी रजिस्ट्रार कार्यालयमा बुझाएको कागज अनुसार उनले कम्पनीमा लगानीका लागि बुझाएको पैसा सहकारीबाट सिधै ‘ट्रान्सफर’ भएर कम्पनीमा आएको देखिन्छ । तर, उनले यि सबै प्रश्न र तथ्यलाई इन्कारी बयान दिएका छन् ।

जोशीले के भने ?
गोरखा मिडिया नेटवर्क प्रालिका पूर्वसञ्चालक तथा पुर्वडिआइजी छविलाल जोशीले सहकारी रकम हिनामिना आरोप लागेका जीवी राई मलेसियामा नरहेको बताएका छन् । मिडियाको पूर्वउपाध्यक्ष तथा सञ्चालकका हैसियतमा सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा संसदीय छानबिन विशेष समितिसँगको छलफलमा उनले जीवी राई मलेसियामा नरहेको दावी गरे । समितिसँगको शोधपुछमा उनले भने, ‘जीवी राईका विषयमा सडकदेखि सदनसम्म चर्चा हुदाँ उनी त्यहि मलेसियामा बस्छन् भन्ने मलाई लाग्दैन’ । आफू लामो समय प्रहरीको उच्च पदमा रहेको र यस्ता प्रकृतिका घटनामा आरोपीले कसरी प्रशासनलाई छल्न सक्छ भन्ने जानकारी रहेको बताए । समितिले गोरखा मिडिया नेटवर्क सञ्चालनका क्रममा कुन–कुन सहकारीबाट कति रकम ल्याएको र त्यसको परिचालन कसरी भएको भन्ने प्रश्नमा जोशीले सहकारी रकम र मिडियाको लगानीका विषयमा आफूलाई जानकारी नभएको बताए ।


उनले समितिलाई गोरखा मिडिया प्रालिको उद्घाटपछि आफूसँग रहेको शेयर पुनः अध्यक्ष राईलाई फिर्ता गरेको बताए । उनले भने, ‘उद्घाटन पछि आर्थिक भार बढ्ने देखेपछि मैले आफ्नो शेयर अध्यक्ष राईलाई फर्काएको थिए ।’ खासमा त्यो कुनै पैसा वा रकमबाट खरिद नगरेको भएर बैंकिङ प्रक्रियामात्रै मिलाएको उनले बताए । जोशीले गोरखा मिडियामा आफ्नो कुनै नगद पैसाको शेयर नभएको, राईसँगको चिनजानका रुपमा उनले आफ्नो नाममा केहि कित्ता शेयर राखिदिएका थिए । जुन मैले उनैलाई फर्काइदिएको हुँ ।
समितिले काठमाडौंको शंखमूलस्थित घरबाट पोखराको सूर्यदर्शन सहकारीको सफ्टवेयरसहितका विवरण र अन्य सामग्री बरामद भएको विषयमा सोधेको प्रश्नमा जोशीले सो घर नेचर हब ईन्टरनेशनल प्रालिलाई भाडामा दिएकाले त्यहाँ के भइरहेको भन्ने आफूलाई जानकारी नभएको बताएका थिए । प्रहरीको छापा पछि आफूले सबै विवरण जानकारी गराएको उनको भनाई थियो ।

गोरखा मिडिया प्रालि सञ्चालनका क्रममा विभिन्न सहकारी संस्थाको रकम दुरुपयोग भएको भन्ने विषयमा राईलाई पक्राउ गर्नसके रकम फिर्ताको सुनिश्चितता हुने बताए । उनले समितिमा भने, ‘गोरखा मिडिया नेटवर्क प्रालिले सञ्चालन गरेको ग्यालेक्सी फोर के टिभीमा भएका सबै इक्वीपमेन्ट तथा सामाग्री विक्री गरे करोडौं रकम आउने सुझाए’ ।

त्यहाँ ठूलो लगानी र अत्याधुनिक सामानहरु प्रयोग भएकाले त्यसको बजार भाउ नघट्दै विक्री वितरण गर्न पाए कयौंको रकम फिर्ता हुनसक्ने उनको जिकिर थियो । सरकारले चाहे यसअघि नै राईलाई पक्राउ गर्नसक्थ्यो । उनलाई उम्कीने समय सरकारले नै दिएको भन्दै अर्काे प्रसंगमा उनले भने, ‘जीवी राईका छोरीहरु काठमाडौंमै अध्ययन गरिरहेको भन्ने सुन्नमा आएको छ, श्रीमती काठमाडौं मै रहेको भन्ने कुरा सरकारले नजर अन्दाज गर्न मिल्छ?’ सरकार, प्रशासन सबैको मिलेमतोमा सहकारीका बचतकर्तालाई पीडा दिने काम भईरहेकाले त्यस विषयमा गम्भीर हुन आवश्यक रहेको उनको भनाई थियो ।

करिब ५ घण्टा भएको छलफलमा जोशीले सहकारी सञ्चालकलाई काम गर्ने वातावरण दिएर रकम फिर्ताको सुनिश्चितता गर्नुपर्ने सुझाए । उनले अहिले सहकारी सञ्चालक बचतकर्ताको निशानामा रहेको भन्दै यसरी रकम फिर्ता नहुने दावी गरे । विजनेस दर्शनसँगको छोटो भेटमा उनले राज्यलाई आवश्यक सहयोग गर्न आफू तयार भएपनि विभिन्न बहानामा राज्यले नै आफूमाथि प्र्रश्न गर्ने गरेको बताए ।

—विजनेस दर्शन न्यूज टिम