Sunday, November 24, 2024

२०८१ मंसिर ९, आईतवार

विजनेस दर्शन || Online Portal

काठमाडौं ।

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । काठमाडौं ।

Call: फोन नं. 9828136583

[email protected]

६ अर्ब लगानीमा दुई ठूला फलाम उद्योग स्थापना


६ अर्ब लगानीमा दुई ठूला फलाम उद्योग स्थापना

काठमाडौं । सुनसरी मोरङ औद्योगिक क्षेत्रमा एक वर्षको अवधिमा ६ अर्ब लगानीमा दुई ठूला फलाम उद्योग स्थापना भएका छन् । ती उद्योगबाट एक हजारभन्दा बढीले रोजगारी पाएका छन् । पछिल्लो पटक करिडोरको खनारमा गोल्छा अर्गनाइजेसनको हुलास वायर इन्डस्ट्रिजले तीन अर्ब लगानीमा दैनिक चार सय टन फलामे डन्डी र साढे दुई सय टन एचआर सिट तथा पाइप उत्पादन गर्ने मल्टी पर्पस मेल्टिङ युनिट सञ्चालनमा ल्याएको छ । युनिटले बिलेटबाट टीएमटी छड, एंगल र आईबीएम, एमएस सिटबाट राउन्ड पाइप, स्क्वायर पाइपलगायतको उत्पादन गर्नेछ । यस युनिटमा पाँच सयले रोजगारी पाएका छन् ।

हुलास वायरले मोरङको बुढीगंगामा जीआई तार, काँटी, तामा पित्तलको सिट, काँडेतार, ग्याबलिङ बक्स उत्पादन गर्दै आएको छ । नयाँ युनिटमा चाँडै १५ टनको भट्टी र कपर मिलमा पनि थप भट्टी थप्ने योजना भएको उद्योगकी निर्देशक युक्ति गोल्छाले बताइन् । उनको फलाम उद्योगका दुई युनिट बुढीगंगा र दुहबीमा गरेर एक हजारले रोजगारी पाएका छन् । यसअघि करिडोरकै दुहबी क्षेत्रमा तीन अर्बकै लगानीमा स्वास्तिक आइरन उद्योग सञ्चालनमा आएको थियो ।

पाँच सयभन्दा बढीलाई रोजगारी दिएको यस उद्योगले दैनिक चार सय टन फलामे सामग्री उत्पादन गर्दै आएको उद्योगका व्यवस्थापक रमेश राठीको भनाइ छ । उनका अनुसार उद्योगले एंगल बिम, च्यानल एंगल, रड र स्क्वायर रड उत्पादन गर्दै आएको छ । सुनसरी मोरङ औद्योगिक करिडोरमा सानाठूला गरेर पाँच सयभन्दा बढी उद्योग सञ्चालनमा छन् । यहाँका धेरैजसो उद्योग आर्थिक तरलताका कारण आधा क्षमतामा मात्र सञ्चालनमा छन् । सञ्चालनमा रहेका उद्योग पनि अनियमित विद्युत् आपूर्ति र लो भोल्टेज समस्याबाट ग्रस्त रहेको सम्बद्ध उद्योगीको गुनासो छ ।