काठमाडौं। आजदेखि काठमाडौंको भृकुटीमण्डपमा नाडा अटो शो २०२३ सुरु हुँदैछ । करिब तीन वर्ष रोकिएको अटो शो, नाडा अटोमोबाइल एसोसिएसन अफ नेपालको आयोजनामा भदौ ३१ सम्म चल्नेछ । नाडा अटो शोको सम्पूर्ण तयारी पुरा भएको नाडाले जनाएको छ । अटो शोमा ठूला तथा साना गरी करिव १२० स्टल र ब्लकहरु रहनेछन् । प्रदर्शनीमा प्रख्यात अन्तर्राष्ट्रिय ब्रान्डका सवारी साधन, लुब्रिकेन्ट, टायर, पार्टपुर्जाका साथै राष्ट्रिय ब्रान्डका अटो सामग्री उत्पादक, वस्तु तथा सेवा प्रदायकको सहभागिता रहनेछ ।
प्रदर्शनीमा चार पाङ्ग्रे १६ र दुई पाङ्ग्रे २२ ब्रान्डको सहभागिता रहनेछ। ७ ब्रान्डका लाइट कमर्सियल भेइकल, ९ वित्तीय संस्था तथा ३० लुब्रिकेन्ट, टायर, ब्याट्री, पार्टपुर्जा एवं ग्यारेज उपकरण कम्पनीको सहभागिता रहेको नाडाले जनाएको छ । यसपटक बीवाईडी, एमजी, नेटा र वुलिङले ईभीलाई मात्र प्रदर्शनीमा राख्ने छन्। नयाँ ईभी ब्रान्डका रुपमा सेरेस, मेक्सस र जी ईभी जस्ता नयाँ ब्रान्ड पहिलोपटक नाडा अटो शोमा सहभागी हुँदैछन्। यसैगरी सिट्रोन, ग्रेटवाल, हुन्डाई, किया, निसान र टाटाका भने इलेक्ट्रिक कारसँगै कम्वसन गाडीलाई स्टलमा देख्न पाइनेछ। फोर्ड, महिन्द्रा र सुजुकीसँग इलेक्ट्रिक कार नभएका कारण यी ब्रान्डका स्टलमा दर्शकले कम्वसन इन्जिनयुक्त गाडीमात्र अवलोकन गर्न पाउनेछन् ।
मेलामा बीवाईडीले डल्फिन ईभी, एमजीले फोर भी इभी, एमजी कोमेट, नेटाले मोडल ‘यू’, नेटा जीटी, वुलिङले एयर मिनी ईभी अटो शोमा देखिनेछन्। नयाँ ब्रान्डका रुपमा पहिलो पटक नेपाल आउन लागेको सेरेसले नयाँ इलेक्ट्रिक क्रसओभर सेरेस ३ र अर्को नयाँ मिनी ईभी लन्च गर्ने भएको छ। मेक्ससले मीफा–९ नाम गरेको नयाँ एमपीभी र जी ईभीले स्काईवा ब्रान्ड देखिनेछन् । कम्वसन र ईभी दुवै सेग्मेन्टका गाडी बिक्री गर्दै आएका हुन्डाई, किया, टाटा, सिट्रोन, ग्रेटवाल र निसानमध्ये किया र टाटाले मेलास्थलबाटै क्रमशः ईभी ६ र टियागो ईभीलाई औपचारिक लन्च गर्ने तयारी गरेका छन् । हुन्डाईले आयोनिक ५ र कोना ईभीसँगै क्रेटा, टुसान र भेन्यु र एक्सटर लगायत मोडललाई प्रदर्शनीमा राख्नेछ ।
सिट्रोनको स्टलमा दर्शकले सी ३ को कम्वसन र इलेक्ट्रिक दुवै मोडललाई अवलोकन गर्न पाउनेछन्। ग्रेटवालको इलेक्ट्रिक कार ओरा ३ सहित, फोर्डको स्टलमा एभरेष्ट एसयूभी र रेन्जर पिकअप तथा निसानको स्टलमा लिफ ईभी र म्याग्नाइट लगायत मोडल सोकेस गरिनेछ। मारुती सुजुकीले हालसालै नेपाल ल्याएको ४ वटा नयाँ एसयूभी ग्रान्ड भिटारा, नयाँ ब्रेजा, फ्रोङक्स र जिम्नी अफरोड एसयूभी दर्शकको आकर्षणमा पर्नेछन्। महिन्द्राको स्टलमा दर्शकले स्कर्पियो एन र एक्सयूभी ४०० लगायत एसयूभीलाई अवलोकन गर्न सकिनेछ। मेलामा यसपटक जिप, स्कोडा, फक्सवागन, टोयोटा, सुवारु, प्रोटोन, मित्सुविसी, टेस्ला, औडी र विएमडब्लु लगायत ब्रान्ड भने सहभागी हुनेछैनन्।
दुई पांग्रे सवारीमा यी ब्रान्ड
नाडा अटो शो २०२३ मा दुई पाङ्ग्रेतर्फ आफ्टेक, बजाज, बेनेली, इभोक, जावा, होन्डा, कोमाकी, केटीएम, लेकट्रो, लेभ्निङ लगायतका ब्रान्ड छन्। एनआईयू, प्योर ईभी, रोयल इन्फिल्ड, सेग्वे, स्लेन, सुनरा, सुजुकी, टीभीएस, भेस्पा, अप्रिलिया, याडिया, जोनटेसलगायत विद्युतीय र चल्तीका ब्रान्ड हुने छन्।