काठमाडौं । नेपाल विद्युत प्राधिकरणले गत आर्थिक वर्ष २०७९/८० मा १२ अर्ब ३३ करोड रूपैयाँ नाफा कमाएको छ । प्राधिकरणले आज आयोजना गरेको पत्रकार सम्मेलनमा कार्यकारी निर्देशक कुलमान घिसिङले प्राधिकरणको नाफा १२ अर्ब ३३ करोड पुगेको बताएका हुन् ।
आर्थिक वर्ष ०७७/७८ मा प्राधिकरणको नाफा ६ अर्ब १० करोड रूपैयाँ रहेको थियो । आर्थिक वर्ष ०७८/७९ मा खुद नाफा बढेर १३ अर्ब ३७ करोड पुगेको थियो ।
गत आवमा सुख्खायामको समय बढेर खोला तथा नदीनालामा पानीको बहाव घट्दा प्राधिकरण र निजी क्षेत्रका जलविद्युत केन्द्रहरुको विद्युत उत्पादनमा ह्रास आउँदा र आन्तरिक माग धान्न विद्युत आयात केही बढ्दा नाफा प्रभावित बनेको घिसिङ्ले बताए ।
प्राधिकरणले विद्युत बिक्री र अन्यबाट गर्ने आम्दानी दुई वर्ष अघि करिब ८१ अर्ब रूपैयाँ रहेकोमा अहिले बढेर करिब १ खर्ब १८ अर्ब पुगेको घिसिङले बताए । उनका अनुसार प्राधिकरणको सञ्चित नाफा ११ अर्बबाट बढ्दा ३६ अर्ब ६७ करोड रूपैयाँ पुगेको छ ।
त्यस्तै, कार्यकारी निर्देशक घिसिङले प्राधिकरण ऐन २०४१ बमोजिम सर्वसाधारणमा सेयर जारी गर्ने प्रक्रिया अघि बढाइएको जानकारी दिंदै सर्वसाधारणलाई सेयर जारी गर्नका लागि इक्रा नेपालबाट एए प्लस रेटिङ पाएको उनले बताए ।
सर्वसाधारणलाई सेयर जारी गर्न प्रक्रिया अघि बढिरहेको घिसिङ को भनाइ छ । सर्वसाधारणमा दिइने विद्युत् गुणस्तर सुधार, चुहावट नियन्त्रण तथा विद्युत् महसुल असुली लगायतका कार्यलाई प्रभावकारी बनाइने घिसिङको भनाइ छ ।