Friday, November 22, 2024

२०८१ मंसिर ७, शुक्रबार

विजनेस दर्शन || Online Portal

काठमाडौं ।

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । काठमाडौं ।

Call: फोन नं. 9828136583

[email protected]

जेमिनाई नामक एआईले च्याटजीपीटीलाई छायाँमा पार्ने दाबी


जेमिनाई नामक एआईले च्याटजीपीटीलाई छायाँमा पार्ने दाबी

एजेन्सी ।  गुगलको डिपमाइन्ड विभागका प्रमुख डेमिस हसाबिसले जेमिनाई नामक एआईले च्याटजीपीटीलाई छायाँमा पार्ने दाबी गरेका छन् । उनले लार्ज ल्याङ्ग्वेज मोडल (एलएलएम) र अल्फा गो नामक प्रविधिको मिश्रणबाट तयार गर्न लागिएको जेमिनाईले सुविधा र प्रयोग दुवै हिसाबले च्याटजीपीटीजस्ता अहिले चल्तीमा रहेका एलएलएम प्लाटफर्महरूलाई उछिन्ने दाबी गरेका हुन् ।

गतवर्ष ओपनएआईले च्याटजीपीटी नामक लार्ज ल्याङ्ग्वेज मोडल जेनेरेटिभ आर्टिफिसियल इन्टेलिजेन्स प्लाटफर्म सार्वजनिक गरेपछि दबाब महसुस गरेको अल्फाबेट (गुगल) एकपछि अर्को प्रयासमार्फत आक्रामक प्रतिस्पर्धामा उत्रिरहेको छ । सन् २०२३ को सुरूमै बार्ड नामक जेनेरेटिभ एआई सार्वजनिक गरेको गुगलले आफ्ना सर्च इन्जिनलगायत कयौं उत्पादनमा एआईलाई समाहित गर्दै लगेको छ । माइक्रोसफ्ट च्याटजीपीटीको निर्माता ओपनएआईको प्रमुख लगानीकर्ता हो र यसले पनि आफ्नो सर्च इन्जिन बिङलगायतका उत्पादनमा एआईलाई समावेश गर्न सुरू गरिसकेको छ ।

गुगलले जेमिनाईमा कति लगानी गरेको छ भन्ने खुलेको छैन । तर‚ सन् २०१९ मा गुगलले डिपमाइन्डमा आगामी ५ वर्षका लागि १ अर्ब डलर लगानी गर्न लागेको घोषणा गरेको थियो । सन् २०२२ को अन्त्ययता एआईमा सुरू भएको दौड र प्रतिस्पर्धामा अब्बल रहन जेमिनाईसँगै आफ्ना बार्ड, पाल्मलगायत तस्बिर, भिडियो, संगीत, नक्सा, इमेल, क्लाउड, सर्चलगायतमा एआई सुविधा र प्रविधि बढाउँदै लैजानका लागि गुगलले अर्बौं डलर लगानी गरिसकेको अनुमान छ । हसाबिस भन्छन्, 'एआईको विकासमा साहसपूर्वक र निर्भीकताका साथ अगाडि बढ्नेबाहेक अर्को विकल्प छैन; यो नै भविष्य हो ।' स्वाचालित गाडीसमेतका अन्य एआईमा पनि हिम्मतपूर्वक लगानी गर्दै आएको अल्फाबेट एआईको अहिलेको प्रख्यातिबाट अझै हौसिएको प्रस्ट देख्न सकिन्छ ।