काठमाडौं । आर्थिक वर्ष २०८१/८२ मा मधेश प्रदेशको आर्थिक वृद्धि ३.८८ प्रतिशतले बढ्ने अनुमान गरिएको छ । राष्ट्रिय तथ्यांक कार्यालयका अनुसार खाद्यान्न तथा तरकारी उत्पादन बढेपछि उक्त आर्थिक वृद्धि हासिल हुने अनुमान गरिएको हो ।
मधेशको जीडीपीमा सबैभन्दा बढी योगदान कृषि, वन तथा मत्स्यपालन क्षेत्रको ३६.७० प्रतिशत छ । सबैभन्दा कम योगदान खानी तथा उत्खनन क्षेत्रको ०.१५ प्रतिशत छ ।आव २०८१/८२ मा मधेशको प्रतिव्यक्ति आय ९ सय ३२ अमेरिकी डलर हुने अनुमान छ । प्रदेशमा तरकारी तथा बागवानीले ओगटेको क्षेत्रफलमा १०.२७ प्रतिशतले वृद्धि भएको छ भने खाद्य तथा अन्य बालीले ओगटेको क्षेत्रफलमा १.४९ प्रतिशत र फलफूल तथा मसला बालीले ओगटेको क्षेत्रफलमा क्रमश: २५.२० र ७.९४ प्रतिशतले घटेको कार्यालयले जनाएको छ ।
२०८१/८२ मा खाद्य तथा अन्य बाली उत्पादनमा १४.०१ प्रतिशतले वृद्धि भएको छ । तरकारी तथा बागवानी उत्पादनमा ९.७९ प्रतिशत, फलफूल उत्पादन ९.०७ र मसला उत्पादनमा १०.५३ प्रतिशतले कमी आएको छ । मधेशमा रहेका बैंक तथा वित्तीय संस्थाबाट कृषि, माछापालन र वन क्षेत्रमा ६२ अर्ब ९८ करोड कर्जा प्रवाह भएको छ । यो रकम मधेशमा प्रवाहित कुल कर्जाको १२.७० प्रतिशत हो ।
गत आव मधेशका उद्योगहरूको उत्पादन क्षमता उपयोग औसतमा ४६.४७ प्रतिशत छ । २०८१/८२ मा बैंक तथा वित्तीय संस्थाबाट औद्योगिक क्षेत्रतर्फ प्रवाह भएको कुल कर्जामा ५.११ प्रतिशतले वृद्धि भई १ खर्ब २८ अर्ब ९ करोड पुगेको छ । अघिल्लो आव यसै अवधिमा यस्तो कर्जा १ खर्ब २१ अर्ब ८७ करोड थियो ।
यस प्रदेशको उद्योग क्षेत्रमा प्रवाहित कुल कर्जामध्ये गैरखाद्यवस्तु उत्पादन उद्योगतर्फ ५१.७६ प्रतिशत, कृषि–वन तथा पेय पदार्थ उत्पादन उद्योगतर्फ ३७.३९, धातु उत्पादन, मेसिनरी तथा इलेक्ट्रोनिक्स एवं धातुका सामान उत्पादनतर्फ ४.१३, निर्माण उद्योगतर्फ ५.२६, खानी उद्योगतर्फ ०.८९ र विद्युत्, ग्यास तथा पानी उद्योगतर्फ ०.५८ प्रतिशत छ ।
गत आव घरजग्गा रजिस्ट्रेसन संख्या ३४.१७ प्रतिशतले वृद्धि भएको छ भने त्यसबाट संकलित राजस्व १९.२९ प्रतिशतले घटेको छ । त्यस्तै बैंक तथा वित्तीय संस्थाले संकलन गरेको कुल निक्षेप १६.६८ प्रतिशतले वृद्धि भई ४ खर्ब ७ अर्ब ७३ करोड छ भने कर्जा ३.६२ प्रतिशतले वृद्धि भई ४ खर्ब ९५ अर्ब ८६ करोड पुगेको छ ।
त्यसैगरी मधेशमा निर्माणाधीन र निर्माण हुने क्रममा रहेका राष्ट्रिय गौरवका आयोजनामा निजगढ अन्तर्राष्ट्रिय विमानस्थल, पूर्वपश्चिम रेलमार्ग, हुलाकी राजमार्ग, काठमाडौं तराई मधेश द्रुतमार्ग र राष्ट्रपति चुरे तराई मधेश संरक्षण कार्यक्रम कार्यान्वयन चरणमा छन् । ती आयोजनामध्ये हुलाकी सडकमार्ग निर्माण गति तुलनात्मक रूपमा तीव्र छ ।
