कान्तिपुर टेलिभिजनबाट प्रशारण हुने ‘ह्वाट द फ्लप’ शोमा सन्दीप क्षेत्रीले पल शाहलाई अतिथिको रूपमा निम्ता गरेर बलात्कारको विषयलाई मजाक बनाएपछि टेलिभिजनले आवश्यक कारबाही गरिने भएको छ ।
चौतर्फि रुपमा आलोचना बढेपछि कान्तिपुरका अध्यक्ष तथा प्रबन्ध निर्देशक कैलाश सिरोहियाले यो घटनालाई गम्भीर रूपमा लिएको र आवश्यक कारबाही गरिने बताएका हुन् ।
नाबालिग बलात्कारको आरोपमा जिल्ला र उच्च अदालतबाट सफाइ पाएका अभिनेता पल शाहलाई कार्यक्रममा निम्ता गरेपछि हाँस्य कलाकार तथा टेलिभिजन प्रस्तोता सन्दीप क्षेत्रीको अहिले व्यापक आलोचना भइरहेको छ ।
केही दिनअघि यही प्रकरणमा पीडित रहेकी गायिकाले एक कार्यक्रममा आफूलाई समाजले अझै प्रताडित गरिरहेको बताउँदै अर्को जन्ममा छोरी भएर जन्मन नपरोस् भन्दै भक्कानिएकी थिइन् ।
शाहले कार्यक्रममा जेल पर्दाको अनुभव सुनाएका थिए । उनले जेल पर्दाको अनुभव सुनाइरहँदा क्षेत्रीले त्यसलाई मजाक बनाउँदै हाँसेका थिए । यही विषयलाई लिएर विभिन्न सामाजिक सञ्जालमा बलात्कार जस्तो संवेदनशील विषयलाई राष्ट्रिय टेलिभिजनमा मजाकको विषय बनाइएको भन्दै यतिबेला उनको आलोचना भइरहेको छ ।