काठमाडौं, १२ जेठ । नेपाल सरकारले मुुलुकभित्र बरामद गरिएकोमध्ये करिब पौने दुई लाख किलोग्राम रक्तचन्दन काठ ‘उत्पत्ति मुलुक’ भारत फिर्ता लैजान स्वीकृति दिए पनि फिर्ता लैजान ढिलाइ भएको छ ।
सरकारले गत पुस २८ गते मन्त्रिपरिषद् निर्णयबाट परराष्ट्र मन्त्रालयमार्फत भारतको सम्बन्धित अधिकारीलाई ‘दुर्लभ वन्यजन्तु तथा वनस्पतिको अन्तरराष्ट्रिय व्यापार महासन्धि’ (साइटिस) र सङ्कटापन्न वन्यजन्तु तथा वनस्पतिको अन्तरराष्ट्रिय व्यापार नियन्त्रण ऐन, २०७३ बमोजिम सो स्वीकृति दिएको थियोे ।
निर्णय भएको दुई महिना बढी समय बितिसक्दा पनि रक्त चन्दन फिर्ता लैजाने सम्बन्धमा भारतबाट ठोस पहल भएको नदेखिएको वन तथा वातावरण मन्त्रालयले जनाएको छ । वन मन्त्रालयका अधिकारीले परराष्ट्र मन्त्रालयमार्फत २०७६ माघ २० गते नेपालस्थित भारतीय दूतावासका अधिकारीलाई टेलिफोन गरी सो निर्णयबारे जानकारी गराउनुभएको थियो । टेलिफोन वार्तामा रक्तचन्दन फिर्ता लैजाने प्रक्रियाका बारेमा समेत कुराकानी भएको वनमन्त्रालयका प्रवक्ता डा सिन्धुप्रसाद ढुङ्गानाले जानकारी दिनुभयो ।
नेपाल सरकारले कानूनी प्रक्रिया पूरा भएको जम्मा एक लाख ७३ हजार ७१ केजी रक्तचन्दन काठ जेजस्तो अवस्था र स्थानमा छ, सोही अवस्था र स्थानबाट आफ्नै खर्चमा ९० दिनभित्र उत्पत्ति मुलुक भारत फिर्ता लैजान स्वीकृति दिएको हो । उक्त टेलिफोन वार्तामा दूतावासका अधिकारीले रक्तचन्दन फिर्ता लैजाने प्रक्रिया र फिर्ता लैजानुपर्ने अवधि (तीन महिना)कम हुने जिज्ञासा राख्नुभएको थियो । वन मन्त्रालयले भने फिर्ता लैजाने प्रक्रिया थालेपछि समय अपुग भएको खण्डमा केही सहयोग गर्न सकिने आश्वासन समेत दिएको थियो । दूतावासका अधिकारीले रक्तचन्दन फिर्ता लैजाने प्रक्रिया थाल्छौँ भने पनि त्यसयता यस विषयमा खासै प्रगति भएको देखिँदैन ।
सो रक्तचन्दन विभिन्न समयमा अवैधरुपमा चीन लैजान खोज्दा बरामद भएको हो । बरामद रक्तचन्दन १२ वर्षदेखि काठमाडौँको बबरमहलस्थित वन विभाग, काठमाडौँ, ललितपुर, भक्तपुर, चितवन, सप्तरी, सर्लाही, झापा, नवलपरासी, कपिलवस्तु, रुपन्देहीलगायत २० जिल्लामा सुरक्षासाथ राखिएको छ । सबैभन्दा बढी परिमाण वन विभाग परिसरमा रहेको छ । विभाग परिसरमा मात्र यसको सुरक्षाका लागि कर्मचारी र वन रक्षकबाहेक सशस्त्र प्रहरी निरीक्षकको नेतृत्वमा ३० सशस्त्र प्रहरी अहोरात्र तैनाथ छन् ।
वन तथा भू–संरक्षण विभागका अनुसार उक्त काठ भारतका आन्ध्र प्रदेश, कर्नाटक र तामिलनाडु राज्यबाट नेपालका विभिन्न सीमानाका हुँदै चीनतर्फ तस्करी हुने क्रममा बरामद गरिएको हो । नेपाल सन् १९७५ जुन १८ मा साइटिसको पक्ष राष्ट्र बनेको हो । रक्तचन्दन सो महासन्धिको अनुसूची २ मा सूचीकृत वनस्पति हो । महासन्धिको व्यवस्थाविपरीत नेपाल प्रवेश गरेका रक्तचन्दन बरामद गरिएको थियो । ‘सङ्कटापन्न वन्यजन्तु तथा वनस्पतिको अन्तरराष्ट्रिय व्यापारलाई नियमन तथा नियन्त्रण गर्न बनेको ऐन, २०७३’ बनेपछि बरामद रक्तचन्दनको सहज व्यवस्थापन गर्ने कानूनी बाटो खुलेको हो ।
ऐनबमोजिमको कार्यविधि पूरा नभई पैठारी भएको कारणले जफत भएको सङ्कटापन्न वनस्पति जुन मुलुकबाट पैठारी भएको हो सोही मुलुकमा फिर्ता पठाउन सकिने व्यवस्था छ । फिर्ता गर्दा लाग्ने खर्च त्यसरी फिर्ता लैजाने मुलुकले व्यहोर्नुपर्छ । नेपालबाट निर्णय भएको मितिले ९० दिनभित्र सम्बन्धित मुलुकले त्यस्तो वनस्पति वा सोको नमूना फिर्ता लैजानुपर्ने कानूनी व्यवस्था छ । ऐनको दफा ३० को उपदफा ६ मा जीवित नरहेको सङ्कटापन्न वन्यजन्तु वा वनस्पति सम्बन्धित मुलुकले फिर्ता लैजान इच्छा व्यक्त नगरेमा वा इच्छा व्यक्त गरे पनि तोकिएको अवधिभित्र फिर्ता लैजान नसकेमा नष्ट गर्नुपर्ने, आवश्यक शर्त तोकी शैक्षिक, वैज्ञानिक अध्ययन अनुसन्धान वा धार्मिक कार्यका लागि सार्वजनिक संस्था वन निकायलाई उपलब्ध गराउन सकिने उल्लेख छ ।
मन्त्रालयका अनुसार रक्तचन्दन काठमध्ये विसं २०६५ माघ २ गतेको मन्त्रिपरिषद्को निर्णयअनुसार ३६ हजार ९२८ किलो रक्तचन्दन भारतले फिर्ता लगिसकेको छ । त्यसपछि मन्त्रिपरिषद्बाट विस २०७१ फागुन १२ गते निर्णय भएको २७ हजार १६६ किलो रक्तचन्दन भारतले हालसम्म फिर्ता लगेको छैन ।
कुनै बेला चीनतिर अवैधरुपमा लैजाँदै गरेको अवस्थामा दिनहुँजस्तै रक्तचन्दन बरामद हुने गथ्र्यो । यसमा कडाइ गरिएपछि हाल भने रक्तचन्दनको तस्करी बन्द भएको छ । विसं २०६२ देखि २०७१ को अवधिमा मुलुकका विभिन्न स्थानबाट कूल दुई लाख ४७ हजार ४८ किलो रक्तचन्दन काठ बरामद गरिएको थियो । यसमध्ये केही रक्तचन्दनको मुद्दा अझै अदालतमा विचारधिन छ । विभागका अनुसार नेपालमा पहिलोपटक २०६२ फागुन २ गते सिन्धुपाल्चोकमा रक्तचन्दन काठ बरामद गरिएको थियो । यसैगरी पछिल्लोपटक २०७१ साल भदौ २१ गते रसुवामा ६४ किलो रक्तचन्दन बरामद भएको विभागको अभिलेख छ ।