काठमाडौं । नेपाल धितोपत्र बोर्डले ७ वटा नयाँ ब्रोकरलाई सञ्चालन गर्न अनुमति दिएको छ । सोमबार बसेको बोर्ड सञ्चालक समितिको बैठकले ७ वटा ब्रोकरलाई सञ्चालन अनुमति प्रदान गर्ने निर्णय गरेको हो ।
यसअघि आशय पत्र प्रदान गरेकोमध्ये आवश्यक पूर्वाधार पूरा गरेका ७ वटालाई ब्रोकर कारोबार सञ्चालनको अनुमति प्रदान गरेको धितोपत्र बोर्डले जनाएको छ । यसअघि बोर्डले नयाँ लाइसेन्सका लागि आह्वान गरेको सूचनामा ४५ वटा आवेदनमा परेका थिए ।
तीमध्ये एउटा आवेदन आवेदनकर्ता आफैंले फिर्ता लिएको र बाँकी दुई वटाको कागजात नपुगेको बोर्डले जनाएको छ ।बाँकी रहेका ४२ वटा ब्रोकर आवेदनलाई बोर्डले आशय पत्र दिएको थियो । पहिलो चरणमा लाइसेन्स पाउने ब्रोकरहरुमा भोले गणेश सेक्युरिटिज, क्यापिटल म्याक्स सेक्युरिटिज, हिमालयन ब्रोकरेज, सन सेक्युरिटिज, मियो सेक्युरिटिज, सेयरप्रो सेक्युरिटिज र प्रोपर्टी विर्जाड छन् । यी ब्रोकर सञ्चालनमा आइसकेपछि नेपालमा ब्रोकर संख्या ५७ पुग्नेछ । हाल ५० वटा धितोपत्र ब्रोकर सञ्चालनमा रहेका छन् ।