काठमाडौं । भदौ २३ र २४ को आन्दोलनमा मुलुकभर निजी क्षेत्रको करिब ८० अर्ब रुपैयाँ बराबरको क्षति पुगेको नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले बताएका छन् । आइतबार प्रधानमन्त्री सुशीला कार्की र निजी क्षेत्रबीच भएको छलफलमा ढकालले प्रारम्भिक रुपमा करिब ८० अर्ब बराबरको निजी सम्पत्तिमा क्षति पुगेको र यथार्थ मूल्यांकन भइरहेको बताएका हुन् ।
ढकालका अनुसार विशेषगरि ठूलो क्षति भएका उद्योग र साना एवं राजधानी बाहिरका केही व्यवसायको विवरण आउन नसकेको र कतिपय दोहोरोपन पनि देखिएको छ । महासंघले जतिसक्दो चाँडो क्षति विवरण उपलब्ध गराउने गरी देशैभर सर्वेक्षण गरिरहेको पनि उनले जानकारी दिए ।
अर्थतन्त्रको पुनर्निर्माण नवनिर्माण र पुनरोत्थानका लागि निजी क्षेत्रले सरकारसँग आवश्यक सुरक्षा समन्वय र सहकार्यका लागि आग्रह गरेको छ । प्रधानमन्त्री कार्कीसँग भएको छलफलका क्रममा नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष ढकालले निजी क्षेत्रले सम्मानित रूपमा काम गर्न सक्ने वातावरणका लागि आवश्यक सहयोग र सुरक्षाको अपेक्षा सरकारसँग रहेको बताए ।
महासंघ र अन्तर्राष्ट्रिय वित्त निगमले गरेको अध्ययन अनुसार अर्थतन्त्रमा निजी क्षेत्रको योगदान ८१ प्रतिशत छ भने ८६ प्रतिशत रोजगारी निजी क्षेत्रले दिइरहेको छ ।
साथै अध्यक्ष ढकालले अर्थतन्त्र पुनःस्थापना र सुशासन कायम गर्न निजी क्षेत्र र सरकार बीच निरन्तर संवाद संयन्त्र निर्माण गर्न, व्यवसायीलाई आत्मविश्वासका साथ खुला रूपमा व्यवसाय गर्न सक्ने वातावरणको सुनिश्चितता कायम गर्न पनि आग्रह गरे ।