काठमाडौं । गत आइतबारदेखि मोरङदेखि कञ्चनपुरसम्म १३ जिल्लाका करिब ६ सय उखु किसान काठमाडौंको माइतीघरमा आन्दोलनरत छन् । कहिले बिक्री गरेको उखुको रकम नपाएको भन्दै त कहिले सरकारी अनुदान पाउनुपर्ने भन्दै उखु किसान वर्षौंदेखि आन्दोलन गर्दै आइरहेका छन् ।
उनीहरुको पछिल्लो आन्दोलन किन विगतको भन्दा फरक छ ? उनीहरुका माग के हुन् र के त्यो सरकारले पूरा गर्न नसक्ने माग हो ? किन उखु किसान बारम्बार सडकमा आउन बाध्य भइरहेका छन् ? हामीले प्रश्नोत्तरमार्फत यो विषयलाई बुझाउने प्रयास गरेको छौं ।
के उखु किसानको समस्या नयाँ हो ?
उखु किसानको यो समस्या नयाँ होइन । हरेक सिजनमा उनीहरु कहिले उद्योगी त कहिले सरकारी निकायबाट ठगिएका छन । सरकारले उखुको समर्थन मूल्य तोके पनि उद्योगीहरुले सोही मूल्यमा खरिद गर्दैनन् । भुक्तानीको बेलामा पनि ढिलाइ गरिदिन्छन् । उखु किसान संघर्ष समितिका अनुसार २०७६ वैशाख ३१ यता उनीहरु निरन्तर आन्दोलनमा छन् ।
उनीहरुले २०७६ जेठमा किसान संघर्ष समिति गठन गरेका थिए । त्यसपछि उनीहरुले पटक पटक आन्दोलन गर्दै आएका छन् । कहिले बिक्री भएको उखुको भुक्तानी माग्दै त कहिले सरकारी अनुदान समयमा पाउनुपर्ने काम राख्दै ।