काठमाडौं, ३ साउन । वाणिज्य बैंकहरूबाट मंगलबार मात्र करिब १ खर्ब रुपैयाँ निक्षेप बाहिरिएको छ । स्थानीय तहको खातामा रहेको रकम निक्षेपमा गणना गर्न पाउने व्यवस्था हटेपछि एकै दिन वाणिज्य बैंकहरूबाट करिब १ खर्ब रुपैयाँ बाहिरिएको हो । यसअघि तरलता अभाव भएको समयमा सरकारले सुरुमा स्थानीय तहको खातामा रहेको रकमको ५० प्रतिशत निक्षेपमा गणना गर्न पाउने सुविधा दिएको थियो । पछि उक्त सीमा बढाएर ८० प्रतिशत बनाइएको थियो । यसरी दिइएको सुविधा गत असार मसान्तसम्मका लागि मात्र थियो । समय सकिएपछि सुविधाबापत बैंकहरूले गणना गर्दै आएको करिब १ खर्ब रुपैयाँ बाहिरिएको हो ।
असारपछि पनि बैंकहरूले स्थानीय तहको खातामा रहेको रकमलाई निक्षेपमा गणना गर्न पाउने सुविधाको निरन्तरताका लागि अर्थ मन्त्रालयलाई अनुरोध गरेका थिए । तर मन्त्रालयले उक्त सुविधालाई निरन्तरता दिएन । यसकारण मंगलबार एकै दिन बैंकहरूको करिब १ खर्ब रुपैयाँ बराबर निक्षेप घटेको हो । उक्त रकम राष्ट्र बैंकमा रहेको सरकारको खातामा स्थानान्तरण भएको नेपाल बैंकर्स संघले जनाएको छ ।
अर्थ मन्त्रालय स्रोतका अनुसार विगतमा तरलता समस्या रहेका बेला दिइएको उक्त सुविधा अहिले तरलता अवस्थामा सुधार आएकाले हटाइएको हो । गत असारसम्म बैंकहरूले स्थानीय तहको खातामा रहेको रकमको ८० प्रतिशतसम्म निक्षेपमा गणना गर्न पाउने व्यवस्था थियो । उक्त व्यवस्थाअनुसार मंगलबार बैंकहरूको निक्षेपबाट ९० अर्ब रुपैयाँभन्दा केही बढी रकम बाहिरिएको नेपाल बैंकर्स संघका अध्यक्ष सुनिल केसीले बताए ।
यद्यपि तरलताको अवस्था सहज रहेकाले उक्त सुविधा हट्दा पनि वित्तीय प्रणालीमा ठूलो असर नपरेको उनको भनाइ छ ।
स्थानीय तहको खातामा रहेको रकमको ८० प्रतिशतसम्म निक्षेपमा गणना गर्न पाउने सुविधा हटेपछि मंगलबार मात्र वाणिज्य बैंकहरूको कर्जा निक्षेप अनुपात २ प्रतिशत बिन्दुले बढेको छ भने अन्तर बैंक सुविधा करिब ५ प्रतिशत बिन्दुले बढेर ७ प्रतिशत हाराहारीमा पुगेको छ ।
चालु आर्थिक वर्षको अन्तिम दिन (असार मसान्त) सम्म बैंक तथा वित्तीय संस्थामा करिब सवा ६ खर्ब रुपैयाँ थुप्रिएको थियो । करिब सवा ५ खर्ब कर्जायोग्य रकम र एक खर्ब रुपैयाँ अधिक तरलता गरी कुल सवा ६ खर्ब वित्तीय प्रणालीमा थुप्रिएको सरकारी तथ्यांकले देखाएको छ । निक्षेप धेरैले बढ्दा कर्जा प्रवाहको वृद्धिदर न्यून रहेकाले करिब सवा ६ खर्ब रुपैयाँ बैंक तथा वित्तीय संस्थामा थुप्रिएको हो ।
अहिले वित्तीय प्रणालीमा रहेको रकम (पैसा) आगामी आर्थिक वर्षभर सबै बैंक तथा वित्तीय संस्थालाई कर्जा प्रवाह गर्न चाहिनेभन्दा बढी हो । असार मसान्तमा वित्तीय प्रणालीमा रहेको निक्षेप जोगाउँदा मात्र पनि बैंकहरूलाई आगामी आर्थिक वर्षभर कर्जा दिनका लागि आवश्यक पैसा (स्रोत) उपलब्ध हुने जानकारहरू बताउँछन् । ०७९ असार १ देखि ०८० असार ३० सम्म बैंक तथा वित्तीय संस्थामा ५ खर्ब ७७ अर्ब रुपैयाँले निक्षेप बढेको छ भने १ खर्ब ३७ अर्ब रुपैयाँले मात्र कर्जा विस्तार भएको छ ।
चालु आर्थिक वर्षमा निक्षेपको वृद्धिदर ११.१८ र कर्जाको २.९१ प्रतिशत छ । आन्तरिक अर्थतन्त्र मन्दीमा रहेकाले चालु वर्षमा कर्जा । माग निकै कम रह्यो भने लगातार बढिरहेको रेमिट्यान्स र सरकारी खर्च बढेकाले बैंकहरूमा निक्षेपको वृद्धिदर राम्रो भएको हो ।