—निरशोभा बलामी
काठमाडौं । नेपालमा हिन्दुधर्मका विषयमा सडकदेखि सदनसम्म चर्चा हुनेगर्छ । अझ भनौं संघीय संसदमा धर्मलाई मूख्य एजेण्डा बनाई राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाले लामो समय आफ्नो प्रतिनिधित्व जमाइ रहेको छ । तरपनि संविधानले धार्मिक स्वतन्त्रता प्रदान गरेकाले सबै धर्मका मानिसहरुको साझा फूलबारीका रुपमा नेपालले छुट्टै पहिचान बनाएको छ । यसै सन्दर्भका बीच मैले कुरा गर्न लागेको विषय हो, गत साउन १ गतेबाट पशुपतिनाथ मन्दिर परिसरमा एक महिना लगाइएको कोटीहोम । साउन ३२ सम्म पशुपतिनाथ मन्दिर परिसरमा सम्पन्न कोटिहोमले निकै चर्चा पायोे । दान, दक्षिणा त कति कमायो त्यो सार्वजनिक भएन, तर महायज्ञको नाम दिइएको सो कोटिहोमले प्रसंशाभन्दा पनि आलोचना बढी कमायोे । जे होस् नेपालको ऐतिहासिक एवं पवित्र स्थल पशुपतिनाथमा एक महिना लामो महायज्ञ सम्पन्न गर्नु आफैमा पनि एउटा चुनौती थियो ।
कोटिहोमले सबैभन्दा बढी आलोचना त त्यहाँ कमायो जहाँ कथा वाचनमा आउने एक महिला वक्ताबाटै थियो । धर्मका नाममा नानाथरी प्रवचन दिनेहरुबाट वाक्क नबनाएको पनि होइन । त्यसमा पनि अधिकांश महिला कथावाचिका अनि तिनै महिलाले महिलाहरुलाई नै हेपाई शैलीमा अभिव्यक्त गरेका विषयवस्तुहरुले सामाजिक सञ्जालमा मात्रै होइन मेन स्ट्रीमका सञ्चारमाध्ययममा पनि हेडलाइन बन्न पुग्यो । कोटिहोमका मूख्य आयोजक तथा कथावाचक श्री विजय कृष्णमूर्ति महाराज उर्फ विजय भण्डारी अर्थात् मानव सेवा फाउन्डेसनका संस्थापकका विषयमा यसअघि पनि कयौँ चर्चा र आलोचना भएका थिए ।
कोटिहोममा पनि त्यस्तै सुन्न पाइयो । वर्षौ पहिले विभिन्न ठगिको आरोपमा उनले कयौं मुद्दामामिला झेल्नुपरेको थियो । जसको असर एक महिने कोटिहोम सञ्चालनमा समेत पर्नपुग्यो । त्यस अवधिभर उनले विभिन्न बाधा अड्चनहरु खेप्नुप¥यो । यसका बावजुद पनि भगवानप्रति समर्पण र आस्थाका कारण उनले एक महिना कोटिहोमलाई सुसम्पन्न गर्न सफल भए । तर, साउन ३२ गतेकोटिहोमको समापनका दिन एक्कासी शोधपुछकालागि भन्दै मध्यरातमै प्रहरी पुगेपछि कोटिहोम प्राङ्गणमा खैलाबैला मच्चियो । करिब राति एक बजेसम्म महाराज भनिने विजय भण्डारी सामाजिक सञ्जालमा तथानाम बोल्दै प्रहरी र राज्यशक्तिको आलोचना गर्न थाले । राती नै उनका समर्थकहरु भेला भएर सरकारविरुद्ध नाराबाजी गर्न थाले । उनै महाराजले नेपाललाई बंगलादेश जस्तो बनाउने भन्दै लाइभमै बोल्दै देशभरिका हिन्दुधर्म मान्नेहरुलाई काठमाडौं आउन आग्रह गरे । यसरी रातभर शुक्रबार प्रहरी र आयोजककर्ताहरुबीच झडप तथा भनाभन जारी नै रह्यो ।
शनिवार काठमाडौं प्रमुख जिल्ला अधिकारी लगायत शीर्ष सुरक्षाकर्मीको सहभागितामा सात सदस्यीय छानविन समिति बन्यो । जसले शुक्रबार राती भएको घटनाको विषयमा अध्ययन गरि प्रतिवेदन पेस गर्ने भनि सहमती पनि भयो । यि र यस्ता विषयले उनी र कोटिहोमप्रतिको आस्थामाथि आममानिसहरुमा थप शंका बढ्दै गयो । सामाजिक सञ्जालमा उनका विरुद्धमा विभिन्न स्टाटस लेखिन थाले । उनका विगतका विषयहरुलाई लिएर आमसञ्चार माध्यमले अनेक स्टोरी प्रकाशन गर्न थाले । जसले गर्दा यो सबैको चासोको विषय बन्न पुग्यो । ‘कुनै पनि मान्छे यो संसारमा जन्मंदै उ अपराधि, महान या भनौं उ दुधले धोएर आउंदैन’ । एक पटक संसारकै उत्कृष्ट तथा पवित्र मन्दिर मानिने पशुपतिनाथको प्राङ्गणमा एक महिनासम्म चलाइएको कोटिहोमलाई एक पटक भगवानका आखाँले हेरौँ, अर्थात फूलको आखाँले हेरौं ।
हुनत यो मेरो नितान्त व्यक्तिगत भ्लग हो । यहाँ मैले कोटिहोम आयोजक कृष्णमूर्ति राम्रा या नराम्रा मान्छे हुन् भन्न खोजेको होइन । यहाँ विवादमा नआउने कोही छैनन् धर्मगुरुदेखी पाष्टरसम्म विवादमा आएका धेरै उदाहरणहरु छन् । पछिल्लो समय भुटानी शरणार्थी प्रकरणमा कतिपय नेताहरु जेलमा छन् । केही समय अगाडि अभिनेता पल शाह र क्रिकेट खेलाडिले सन्दिप लामिछानेले बलात्कार मुद्दामा सफाई पाए । पूर्व उपप्रधान तथा गृहमन्त्री, रास्वपाका सभापति रवि लामिछानेले आफूमाथि सहकारी प्रकरणमा लागेको आरोपको खण्डन गरिरहेका छन् । बहालवाला परराष्ट्रमन्त्रि आरजु राणा देउवाले भुटानी शरणार्थी प्रकरणका बारेमा मिडिया र सामाजिक सञ्जालबाट आउने प्रश्नको सामना गरिरहेकी छन् ।
अझ भनौं तत्कालीन प्रधानमन्त्री माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल सशस्त्र युद्धका क्रममा हजारौँ नागरिकको ज्यान लिएको आरोप खेपिरहेका छन् भने यहाँ कसलाई के मात्रै आरोप छैन ? स–साना कामदार, प्रशासनमा कार्यरत कर्मचारीदेखी देश नै हाँकिरहेका बुद्धिजीवि तथा नेताहरु सबै भष्टाचार र ठगि मुद्दामामिलामा मुछिएको हामीले दिनहुँ झै सुनिरहेकै कुरा हो । यि र यस्तै व्यक्तित्व र बेथितिका कारण हाम्रो देशले परिवर्तनको अनुभूति समेत गर्न पाएको छैन । पहिलाका समस्याहरु अहिले पनि ज्यूँ का त्यूँ नै छन् । देश विकास तथा परिवर्तन हुन नसक्नुको एक मुख्य कारण हो व्यवस्था ।
तर, आज २१ औं शताब्दीमा रहेका हामी जातिय विभेदको खाडलमा छौं । यस्तो चरम विभेदका बीचमा कोटीहोममा पहिलो पटक एक दलित समुदायका पण्डितले कथावाचन गरे । जुन कोटिहोमका लागि निकै चुनौतिपूर्ण थियो । कथित उपल्लो वर्ग भन्नेहरु पनि पशुपति कोटिहोम महायज्ञमा आचार्य कृष्ण दमाइबाट कथा श्रवन नगरेको होइन । यदि ‘कृष्णमूर्ति उर्फ विजय भण्डारीले पैसा कमाउने धन्दै खोलेका थिए भने, एक दलित समुदायको आचार्यलाई लिएर किन कथा वाचन गर्न लगाउथे’ ? ‘कोटिहोमलाई फूलको आखाँबाट हेर्ने यस्ता सयौं उदाहारण छन्’ । दान आफैमा एक पवित्र र पुण्य कार्य हो, इच्छाले दिने दानलाई पाप वा पुण्यसँग जोड्नु हुँदैन ।
सायद कतिपय विषयमा कृष्णमूर्ति कहिँकतै चुके होलान् । जसलाई गहिरिएर सोच्नु पर्ने होइन ? भनिन्छ, हरेक मान्छेको मनभित्र भगवानले बास गरेको हुन्छ । एक महिनासम्म हिन्दुधर्मका विषयमा भारत तथा विभिन्न देशमा भएका धार्मिक गुरुहरुलाई नेपालमा ल्याउनु, एक महिना हिन्दुधर्मको महिमा गुञ्जीनु, सडकमा अलपत्र परेका मानिसहरुको उद्धारका निमित्त सेवा भावले आश्रम तथा बासस्थानकालागि सहयोगी मनहरु जुटाउनु कुनै दलको नेताले चुनाव जित्दा प्रयोग गर्ने अस्त्रभन्दा कम भने थिएन ।
पछिल्लो समय देशमा बढीरहेको अराजकता, अधर्म कुरितीका कारण आम जनमानसले एक किसिमको थकान महसुुस गरिरहका छन् । आजका पिँढीलाई हिन्दु तथा सनातन धर्मप्रति आस्था जगाउनु कुनै सामान्य विषय थिएन । जुन कोटिहोमले गर्यो । बाढीले खोला किनारमा रहेका घरसँगै त्यहाँको फोहरपनि बगाउँछ । यसोे भन्दैमा खोलाले आफ्नो आकार बदलिँदैन । त्यसैले आनीको एउटा निकै लोकप्रिय गीत छ, ‘फूलको आखाँमा फूलै संसार, काँडाको आखाँमा काँडै संसार’ ।