काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले सौर्य एयरलाइन्स दुर्घटनाबारे छानबिन गर्न बनेको समिति तटस्थ र स्वतन्त्र रहेकोमा ढुक्क हुन आग्रह गरेका छन् । उनले छानबिन समितिको तटस्थतामा सरकार विश्वस्त रहेको र समितिलाई काम गर्न कसैले पनि दबाब र प्रभावमा नराख्ने बताए ।
आइतबार प्रतिनिधिसभामा सांसदहरुले दुर्घटनाबारे उठाएका प्रश्नहरुको जवाफ दिँदै मन्त्री पाण्डेले दुर्घटनापछि सरकारले उद्धार कार्य गरेको र अहिलेसम्म मृत्यु भएका १८ मध्ये १७ जनाको शव आफन्तले बुझिसकेको बताए । मन्त्री पाण्डेले यमनी नागरिकको हकमा शव व्यवस्थापनका लागि नेपालमा यमनको दुतावास नभएकाले यमनको दुतावास रहेको नजिकको मुलुकसँग सम्पर्क र समन्वय भइरहेको बताए । शव व्यवस्थापनको खर्च समेत सौर्य एयरलाइन्सले बेहोरेको उनले भनाई छ ।