काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट प्रतियोगिताको फाइनलमा सुदूरपश्चिम रोयल्स र जनकपुर बोल्ट्सबीच रोमान्चक भिडन्त हुने भएको छ । दोस्रो ‘क्वालिफायर’ खेलमा कर्णाली याक्सलाई दुई विकेटले हराएसँगै जनकपुर बोल्ट्सले फाइनल भिडन्त पक्का परेको हो ।
फाइनल खेल शनिबार हुने छ । आजको खेलमा कीर्तिपुरस्थित अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस हारी पहिले ब्याटिङ गर्ने निम्तो पाएको कर्णाली याक्सले निर्धारित २० ओभरमा नौ विकेट गुमाएर एक सय १८ रन बनाएको थियो ।
जवाफी ब्याटिङमा ओर्लिएको जनकपुर बोल्ट्सले १९ ओभरमा आठ विकेट गुमाएर विजयलक्ष्य पुरा गर्यो । दोस्रो क्वालिफायर खेलमा जनकपुर बोल्ट्ससँग पराजित भएसँगै कर्णाली याक्स भने उपाधि होडबाट बाहिरिएको छ । कर्णाली याक्स बुधबार खेलिएको ‘एलिमिनेटर’ खेलमा बलियो प्रतिद्वन्द्वी चितवन राइनोजलाई २१ रनले हराउँदै दोस्रो ‘क्वालिफायर’ मा प्रवेश गरेको थियो ।