Friday, November 22, 2024

२०८१ मंसिर ७, शुक्रबार

विजनेस दर्शन || Online Portal

काठमाडौं ।

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । काठमाडौं ।

Call: फोन नं. 9828136583

[email protected]

नेपाल राष्ट्र बैंकद्वारा गत आवको देशको आर्थिक अवस्थाको विवरण प्रकाशित (पूर्णपाठ सहित)


नेपाल राष्ट्र बैंकद्वारा गत आवको देशको आर्थिक अवस्थाको विवरण प्रकाशित (पूर्णपाठ सहित)

काठमाडौं, भदौ १ । नेपाल राष्ट्र बैंकले गत आर्थिक वर्ष २०७९,८० को देशको वर्तमान आर्थिक अवस्थाको विवरण प्रकाशित गरेको छ । १२ महिनाको तथ्यांकका आधारमा सरकार महंगी नियन्त्रणमा असफल देखिएको छ । वैदेशिक सम्पत्ति र दायित्व घाटामा छ । गत आर्थिक वर्ष मुलुकले ८ प्रतिशत नजिकको महंगीको सामना गरेको छ । केन्द्रीय बैंकले सार्वजनिक गरेका गत आर्थिक वर्ष २०७९,८० को तथ्यांक अनुसार वार्षिक औसत उपभोक्ता मुद्रास्फीति ७.७४ प्रतिशत रहेको छ । गत आर्थिक वर्ष यस्तो मुद्रास्फीति ६.३२ प्रतिशत रहेको थियो ।

महंगी सात प्रतिशतमा सिमित राख्ने गरी बजेटले लिएको लक्ष्य असफल भएको छ । आर्थिक वर्ष २०७९,८० मा विप्रेषण आप्रवाह २१.२ प्रतिशतले बढेर १२ खर्ब २० अर्ब ५६ करोड पुगेको छ ।गत वर्ष विप्रेषण आप्रवाह ४.८ प्रतिशतले बढेको थियो । अमेरिकी डलरमा विप्रेषण आप्रवाह १२.१ प्रतिशतले बढेर ९ अर्ब ३३ करोड पुगेको छ । अघिल्लो वर्ष यस्तो आप्रवाह २.२ प्रतिशतले बढेको थियो । २०७९ असार मसान्तमा १२ खर्ब १५ अर्ब ८० करोड बराबर रहेको कुल विदेशी विनिमय सञ्चिति २६.६ प्रतिशतले बढेर २०८० असार मसान्तसम्म आइपुग्दा १५ खर्ब ३९ अर्ब ३६ करोड पुगेको छ । अमेरिकी डलरमा यस्तो सञ्चिती २३.१ प्रतिशतले वृद्धि भई ११ अर्ब ७४ करोड कायम भएको छ ।

कुल विदेशी विनिमय सञ्चितिमध्ये नेपाल राष्ट्र बैंकमा १३ खर्ब ४५ अर्ब ७८ करोड रूपैयाँ सञ्चिति छ । बैंक तथा वित्तीय संस्था (नेपाल राष्ट्र बैंकबाहेक) सँग १ खर्ब ९३ अर्ब ५९ करोड रुपैयाँ रहेको छ । आर्थिक वर्ष २०७९,८० को आयातलाई आधार मान्दा बैंकिङ्ग क्षेत्रसँग रहेको विदेशी विनिमय सञ्चिति ११.७ महिनाको वस्तु आयात र १० महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त रहने देखिन्छ । आर्थिक वर्ष २०७९,८० मा चालू खाता ७२ अर्ब १६ करोडले घाटामा रहेको छ । अघिल्लो वर्ष चालू खाता ६ खर्ब २३ अर्ब ३८ करोडले घाटामा रहेको थियो । यस्तै शोधनान्तर स्थिति २ खर्ब ९० अर्ब ५२ करोडले बचतमा रहेको छ ।

अघिल्लो वर्ष शोधनान्तर स्थिति २ खर्ब ५५ अर्ब २६ करोडले घाटामा रहेको थियो । २०८० असार मसान्तमा मुलुकको वैदेशिक सम्पत्ति १६ खर्ब ५४ अर्ब ५० करोड तथा दायित्व १७ खर्ब २९ अर्ब ३९ करोड रहेको छ । फलस्वरुप, खुद वैदेशिक सम्पत्ति र दायित्वको स्थिति ७४ अर्ब ९० करोडले घाटामा रहेको छ । २०८० असार मसान्तमा केन्द्रीय बैंकमा रहेका सरकारका विभिन्न खातामा ७१ अर्ब ९८ करोड (प्रदेश सरकार तथा स्थानीय तहको खातामा रहेको रकमसमेत) नगद मौज्दात रहेको छ ।