काठमाडौँ । ग्यास विक्रेता महासंघ नेपालले अर्थमन्त्री विष्णुप्रसाद पौडेलसँग भेटेर ग्याससँग सम्बन्धित छुट्टै कानुन ल्याएर बजार व्यवस्थित बनाउन आग्रह गरेका छन् । अर्थमन्त्री पौडेललाई ९ बुँदे माग प्रस्तुत गर्दै महासंघका अध्यक्ष चन्द्र थापाले ग्यासको कारोबार देशका कुनाकाप्चामा पुगे पनि कानुनको अभाव भएको भन्दै बजार व्यवस्थित बनाउन छुट्टै कानुन आवश्यक रहेको बताए ।
स्थानीय तहमार्फत कार्यान्वयनमा आउने गरी ग्यास बिक्रेता तथा वितरक प्रमाणीकरणको कार्यविधि बनाएर कार्यान्वयनमा ल्याउनु पर्ने पनि ग्यास बिक्रेता व्यवसायीहरुको माग छ । महासंघले राजनीतिक स्थायीत्वसँगै स्वदेशमै रोजगारी र स्वदेशमै अध्ययनको व्यवस्था मिलाउनसमेत अर्थमन्त्री पौडेलसँग्र आग्रह गरेको छ । त्यस्तै, मौद्रिक नीति उद्योगी व्यवसायीका लागि महत्वपूर्ण रहेकाले आगामी मौद्रिक नीति साना ठूला सबै व्यवसायीले काम गर्न सक्ने गरी ल्याउनुपर्ने उनीहरुले माग गरे ।