झापा । झापामा लामो खडेरीले खेतमै बाली सुक्न थालेपछि झापाका किसान चिन्तामा छन् । घोगा लाग्ने बेलामा खडेरीले मकै बालीमा क्षति पु¥याएको छ । कृषि बालीविज्ञ राजेन्द्र खरेलले धामचमरा र घोगा लाग्ने बेलामा खडेरीले मकै बालीलाई ठूलो क्षति पु¥याउने बताए । झापामा महिनौँदेखि वर्षा भएको छैन ।
झापामा सिँचाइ सुविधा भएको क्षेत्रफल यकिन छैन । सरकारी आँकडामा ६० प्रतिशतभन्दा बढी खेतीयोग्य जमिनमा सिँचाइ सुविधा रहेको बताइए पनि धेरैजसो सिँचाइ आयोजना मर्मतसम्भारको अभाव र स्रोत सुक्दै गएका कारण किसानले खेतीमा पर्याप्त पानी पठाउन सकेका छैनन् ।
मेचीनगर–१५ ज्यामिरगढीका जयप्रसाद भेटवालको खेतीमा खडेरीले मकैका बोट ठाडै सुकेका छन् । ज्यामिरगढीको अधिकांश क्षेत्र सिँचाइ सुविधाबाट वञ्चित छ । निन्दा र टिमाइ खोलामा बाँध बाँधेर नहर सञ्चालन हुँदै आए पनि खडेरीले नहरको मुहानमै पानी अभाव भएको छ ।
निन्दा नहरको मुहान कच्ची रहेको र पानीको स्रोत सुक्दै गएका कारण नहरमा कमिला कुदिरहेको स्थानीय किसान बताउँछन् । नहरमा पानी नआउने र खडेरी चर्किएपछि गाउँका अधिकांश मकैबाली सुकेर परालसरी भएको स्थानीय किसान अम्बिका शिवाकोटी बताइन । किसानका लागि मकै धानपछिको मुख्य उत्पादन बाली हो ।
तर, मकैका बोट सुकेर क्षति पुगेका किसानको अवस्था बुझ्न हालसम्म कुनै तहको पनि सरकारका प्रतिनिधि नआउँदा उदेक लागेको शिवाकोटी बताइन । झापामा नदी सिँचाइबाहेक सोलार सिँचाइका योजना पनि सञ्चालनमा छन् । विद्युतीय ऊर्जाबाट चल्ने मोटरले भूमिगत जल तानेर सिँचाइ गर्ने सुविधा थोरै खेतीमा मात्र रहेको छ । यसबाट खडेरीमा सुक्न लागेको मकैबालीलाई ठूलो राहत दिएको छ ।
मेचीनगरमा पालिया र निन्दा सिँचाइ आयोजना, वुद्धशान्तिमा हँडिया फूलवासा सिँचाइ आयोजना, बिर्तामोडमा देवनिया खोला सिँचाइ आयोजना र हल्दिवारीमा हर्चना कृषक सिँचाइ आयोजना वर्षौदेखि सञ्चालनमा छन् । कनकाई सिँचाइ आयोजना जिल्लाको सबैभन्दा ठूलो र पुरानो सिँचाइ नहर हो ।