काठमाडौँ । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारी र युरोपियन कमिसनका उपनिर्देशक मिरियाम फेरानबीच भेटघाट भएको छ । काठमाडौँको सोल्टी होटलमा भएको भेटमा मन्त्री भण्डारीले नेपालको आर्थिक–सामाजिक विकासका लागि युरोपियन युनियनले प्रदान गर्दै आएको निरन्तर सहयोग र सहायताको उच्च प्रशंसा गरे ।
मन्त्री भण्डारीले लोकतन्त्र, स्वतन्त्रता र बहुपक्षीयताको आवश्यकता एवं औचित्यका विषयमा नेपाल र युरोपियन युनियनको साझा धारणा रहेको बताए । उनले साझा लक्ष्यका रुपमा रहेका दिगो विकासका लक्ष्य प्राप्त गर्न र विश्वव्यापी महामारी एवं जलवायु परिवर्तन जस्ता विभिन्न सङ्कटलाई सम्बोधन गर्न बहुक्षेत्रीय सहायताको आवश्यकता रहेको उल्लेख गरे ।
नेपाल र युरोपियन युनियनले सहयोग तथा पारस्परिक सम्मानमा आधारित सम्बन्ध र सहकार्य गर्दै आएको उनको भनाइ थियो । मन्त्री भण्डारीले आगामी दिनमा नेपाल र युरोपियन युनियनबीचको सम्बन्ध अझै प्रगाढ हुँदै जाने उल्लेख गरे । उनले सहकार्यलाई अझै गहिरो बनाउँदै पारस्पारिक सम्बन्धलाई अगाडि बढाउने बताए ।
सो क्रममा उपनिर्देशक फेरानले नेपाली वस्तुको बजार विस्तारमा सघाउने प्रतिबद्धता व्यक्त गरिन । उनले उद्योगमन्त्री भण्डारीलाई नेपाली वस्तु युरोपियन मुलुकमा निर्यातको वातावरण बनाउन आग्रह गरेको मन्त्री सचिवालयले जनाएको छ ।