काठमाडौं । बुटवलको आधुनिक पशु वधशाला असोजभित्र सञ्चालन गर्ने गरी सम्झौता भएको छ । बुटवल उपमहानगरपालिका र मुक्तिनाथ लाइभस्टक बैंक लिमिटेडबीच यही असोज महिनाभित्रै पशु वधशाला सञ्चालन गर्ने सम्झौता भएको हो ।
आइतबार बुटवल उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत टेकराज पन्थी र मुक्तिनाथ लाइभस्टक बैंक लिमिटेडका सञ्चालक तथा कम्पनी प्रतिनिधि रामशरण तिमिल्सिनाले वधशाला सञ्चालन सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन । सम्झौता अनुसार मुक्तिनाथ लाइभस्टकले असोजभित्रमा वधशाला सञ्चालनमा ल्याउनेछ । बुटवल १० रामनगरमा दुई बिघा ३ कठ्ठा क्षेत्रफलमा बनेको वधशाला सञ्चालनका लागि यसअघि सहमति भए पनि विधि र प्रक्रिया नपुगेपछि उपमहानगरपालिकाले गत असारमा पुनः टेण्डर आह्वान गरेको थियो ।
नयाँ प्रक्रिया अनुसार मुक्तिनाथ लाइभस्टकले वार्षिक ५८ लाख ३८ हजार ७ सय १० रुपियाँ बुटवल उपमहानगरपालिकालाई बुझाउनेछ । पाँच वर्षका लागि गरिएको सम्झौता अनुसार हरेक वर्ष १० प्रतिशतका दरले रकम वृद्धि हुने बुटवल उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत टेकराज पन्थीले बताए ।
पशु वधशाला सञ्चालन गर्दा पशु वधशाला र मासु ऐन २०५५, पशु स्वास्थ्य तथा सेवा ऐन २०५५, फोहोरमैला व्यवस्थापन ऐन २०६८, वातावरण संरक्षण ऐन २०७६ र उपभोक्ता संरक्षण ऐन २०७५ को पालना गर्ने गरी सम्झौता भएको पन्थीले बताए । सम्झौता कार्यान्वयनमा आएपछि बुटवल नगरभित्र पशु वधशाला बाहेकका स्थलमा व्यावसायिक रुपमा खसी र बोकाको वध गर्न रोक लगाउने र वध गरेको पाइएमा कारबाही गर्ने सम्झौतामा उल्लेख छ । बुटवल उपमहानगरपालिकाको पशु वधशाला व्यवस्थापन र सञ्चालन ऐन २०७९ अनुसारको यो व्यवस्था कार्यान्वयनमा आएपछि बुटवलमा रहेका मासु पसलहरुले खसीबोकाको मासु बिक्री गर्दा पशु वधशालामा बध गरी प्रमाणीकरण गरेको मासु मात्रै बिक्री गर्न पाउनेछन् ।
वधशाला सञ्चालनमा आएपछि बुटवलवासीले अन्तरराष्ट्रिय मापदण्डअनुसार सञ्चालन हुने वधशालामा खसीबोकाको स्वास्थ्य परीक्षण गरी उत्पादन भएको स्वस्थकर मासु उपभोग गर्न पाउने बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेयले बताए । उनले बुटवललाई व्यवस्थित र आधुनिक सहरका रुपमा स्थापित गर्नका लागि वधशालाले थप मद्दत पु र्याउने बताउँदै वधशाला सञ्चालनपछि यस क्षेत्रका किसान र व्यवसायीलाई लाभ पुग्ने बताए ।
वधशाला सञ्चालनपछि बुटवल स्वस्थ मासु उत्पादन र बिक्री गर्ने शहरका रुपमा स्थापित हुने र यसले बुटवलबाहिरका शहरमा समेत मासु बिक्री गर्न सक्ने प्रमुख पाण्डेयले बताए । उनले अनुसार वधशाला सञ्चालनका लागि बुटवल उपमहानगरपालिकाले नगर सभाबाट पशु वधशाला सञ्चालन र व्यवस्थापन ऐन २०७९ पारित भइसकेको छ ।
वधशाला सञ्चालनपछि बुटवलको मासु स्वस्थ र स्वच्छ हुने र उपभोक्ताले निर्धक्क भएर उपभोग गर्नसक्ने उपप्रमुख सावित्रादेवी अर्यालले बताए । उनले अव्यवस्थित तरिकाले पशुवध र भण्डारण गर्ने गरेका कारण बुटवलका अधिकांश स्थानमा अस्वस्थ मासु बिक्री हुने गरेको अनुगमनका क्रममा पाइएको र वधशाला सञ्चालनपछि त्यस्तो समस्या हट्ने बताए ।
झण्डै २२ करोड लगानीमा निर्माण भएको वधशाला क्षेत्रमा खसीबोकाको चरन, होल्डिङ सेन्टर, पशु स्वास्थ्य जाँच तथा उपचार कक्ष, वधशालामा खटिनेहरूका लागि प्राथमिक उपचार कक्ष, सुरक्षा कक्ष, फोहोर प्रशोधन केन्द्र, हरियाली उद्यान र बगैँचा निर्माण भएको छ ।
यहाँबाट निस्किने फोहोर प्रशोधन गरेर बायोग्यास निकालिनेछ भने पानीलाई पुनः प्रयोग गर्न मिल्ने गरी प्रशोधन गर्ने योजना छ । वधशालामा दैनिक एक हजार खसीबोका वध गर्नसक्ने क्षमता छ। उहाँका अनुसार मुक्तिनाथ कृषि कम्पनीमा मुक्तिनाथ सिड बैंक लिमिटेड, मुक्तिनाथ फर्टिलाइजर बैंक लिमिटेड, मुक्तिनाथ नर्सरी बैंक लिमिटेड, मुक्तिनाथ लाइभस्टक बैंक लिमिटेड, मुक्तिनाथ हर्बल बैंक लिमिटेड, मुक्तिनाथ फुड बैंक लिमिटेड, मुक्तिनाथ एग्रो मेशिनरी कम्पनी लिमिटेड र मुक्तिनाथ ट्रेडिङ लिमिटेड गरी ८ वटा सहायक कम्पनी छन् ।